[अर्काइभ] चिनी आयात अनुमतिमा सीपीले माधवको नाम जोडेपछि...

लेखा उपसमितिले चिनी आयातका क्रममा भएका निर्णयका बारेमा बयानका लागि उप्रधानमन्त्री, विभागीय मन्त्री तथा सरकारी अधिकारीलाई पालैपालो बोलाएको थियो । उपसमितिले २०५२ वैशाख २० मा आपूर्ति मन्त्री सीपी मैनालीसँग बयान लिएको थियो ।

मंसिर १६, २०८२

कान्तिपुर संवाददाता

[Archive] After CP adds Madhav's name to sugar import permit...

What you should know

काठमाडौँ — भारतले मूल्य छुट (लेवी) दिएर नेपालमा बर्सेनि चिनी आयात हुने गरेको थियो । भारतले लेवीमा दिएकाले चिनी सस्तो हुने गरेको सरकारी दाबी थियो । यस्तो चिनी २०४८/४९ देखि नै आयात हुने गर्थ्यो । तर चिनी आयात गर्दा बिनाप्रतिस्पर्धा निश्चित कम्पनीलाई अनुमति दिने तर बजारमा भने महंगोमा बिक्री हुने गरेको थियो ।

भारतले मूल्य छुट दिएको चिनीमा अनियमितता गरेको शंकामा हृदयेश त्रिपाठी सभापति रहेको संसदको सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको थियो । आपूर्ति मन्त्री सीपी मैनालीले शंकर केडियाको पर्ल ट्रेडिङ नामको कम्पनीलाई चिनी आयातको अनुमति दिएकामा लेखाले छानबिन सुरु गरेको थियो । 

लेखाले कांग्रेस सांसद दीपकुमार उपाध्यायको संयोजकत्वमा छानबिन उपसमिति बनाएर सम्बन्धित व्यक्ति वा निर्णयकर्ताको बयान लिएको थियो । प्रतिकेजी ४ रुपियाँ ७५ पैसा नाफा हुने गरी निजी कम्पनीलाई इजाजत दिएपछि निर्णय शंकाको घेरामा परेको थियो ।

सरकारले २०५१ फागुन ३० मा केडियालाई लेवीको चिनी आयातको अनुमति दिन भारतीय दूतावासलाई पत्राचार गरेको थियो । लेखा उपसमितिले चिनी आयातका क्रममा भएका निर्णयका बारेमा बयानका लागि उप्रधानमन्त्री, विभागीय मन्त्री तथा सरकारी अधिकारीहरूलाई पालैपालो बोलाएको थियो । उपसमितिले २०५२ वैशाख २० मा आपूर्ति मन्त्री सीपी मैनालीसँग बयान लिएको थियो ।

मैनालीले बयानका क्रममा तत्कालीन कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधानमन्त्री माधवकुमार नेपालसँग छलफल भएर तय भएअनुसार चिनी आपूर्तिका लागि केडियालाई अनुमति दिन भारतीय दूतावासमा पत्र लेखेको बताएका थिए । मैनालीको बयानका आधारमा वैशाख २९ गते उपप्रधानमन्त्री नेपाललाई पनि उपसमितिले बयानका लागि बोलाएको थियो । [Archive] After CP adds Madhav's name to sugar import permit...

उपसमितिले चिनी आयातमा आपूर्ति मन्त्री मैनालीले नेपालको नाम जोडेको विषयमा प्रश्न गरेका थिए । आफ्नो नाम अनावश्यक रूपमा मुछेको भन्दै नेपालले भनेका थिए, ‘उहाँ(सीपी) ले तरिका नजान्नु भएको हो ।’ अनावश्यक रूपमा तपाईंको नाम मुछ्ने मैनालीलाई कारबाही हुनुपर्छ त भन्ने प्रश्न उपसमितिले गरेको थियो । जवाफमा नेपालले (हाँस्दै) भनेका थिए, ‘सीपी बिस्तारै काम सिक्दै हुनुहुन्छ ।’

नेपालले प्रधानमन्त्री देशभित्र नभएका बेला सस्तोमा चिनी पाइन्छ भनेपछि आफूसँग सल्लाह गरेको भने स्विकारेका थिए । तर कसलाई इजाजत दिने त्यो आफ्नो विषय नभएको नेपालको भनाइ थियो । नेपालकै घरमा बैठक बसेर केडियालाई चिनी आपूर्ति गर्ने अनुमति दिने सल्लाह गरेको आरोप लागेको थियो । नेपालले भने चिनी आयातको विषय आपूर्ति मन्त्रालयको भएको र आफ्नो घरमा बैठक नबसेको जिकिर गरेका थिए ।

लेवीको चिनी आयातमा निश्चित व्यापारिक फर्मलाई आयातको अनुमति दिनु, अनुमति दिने क्रममा आपूर्ति मन्त्री मैनालीले उप्रधानमन्त्री नेपालसँग सल्लाह भएको बयान दिनु, चिनीको बजार मूल्य तोक्नु र बजारमा महंगोमा चिनी बिक्री हुनु जस्ता विषयमा केन्द्रित रहेर लेखा समितिले गरेको छानबिनको विषयलाई कान्तिपुर दैनिकले २०५२ वैशाख ३० मा ‘सीपी जीले जान्नु भएनः माधव नेपाल’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully