[अर्काइभ] २०५० चैत ५ को त्यो शून्य समय...

संसद‍्भित्र हाँसो–ठट्टा र सभामुखद्वारा बेलाबेला रुलिङ

असार १३, २०८२

कान्तिपुर संवाददाता

[Archive] That Zero Time of 2050 Chait 5...

काठमाडौँ — सत्तापक्ष नेपाली कांग्रेसका सांसदहरू व्यङ्ग्यात्मक शैलीमा सरकारको विरोध गरिरहेका थिए । उनीहरूको व्यङ्ग्यलाई समर्थन गर्दै प्रतिपक्षी सांसदहरू टेबुल ढ्याढ्याप पारेर रमाइलो मानिरहेका थिए । संसद‍्मा कहिले हाँसो चल्थ्यो, कहिले ठट्टा ।

‘सांसदले संसद‍्को बैठकमा बोल्दा प्रयोग गर्ने भाषा कस्तो हुनुपर्छ ? तपाईंले बोल्नुभएको शब्द संसदीय हो कि होइन ?’ सभामुखले यस्ता प्रश्न गरेपछि सत्तापक्षका सांसद भन्ने गर्थे, ‘संसदीय होइन भने फिर्ता लिन्छु ।’ प्रतिपक्ष सांसद भने सत्तापक्षले बोलेका भाषाको अर्थ खुलाउँदै सरकारमाथि प्रहार गर्ने मौकाको रूपमा लिएका देखिन्थे । 

यो सिंहदरवारस्थित प्रतिनिधिसभा बैठकमा ३२ वर्षअघि देखिएको दृश्य र सुनिएको प्रसंग हो । २०४६ को परिवर्तनपछि २०४८ को निर्वाचनबाट स्थापित प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षको भूमिका कहिलेकाहीँ उस्तैउस्तै देखिने गरेको थियो । सांसदहरू सत्ता र प्रतिपक्ष बेन्चमा बस्ने गरे पनि भूमिका एउटै देखिनुको मुख्य कारण थियो, ‘सत्ताको नेतृत्व गरिरहेको कांग्रेसको आन्तरिक कलह ।’ 

२०५० माघ २५ मा काठमाडौं–१ को उपनिर्वाचनमा कांग्रेस सभापति कृष्णप्रसाद भट्टराई पराजित भएपछि सतहमा आएको सत्तापक्षभित्रको कलहको झल्को संसद् बैठकमा देखिने गरेको थियो । त्यसले कहिलेकाहीँ सभामुख दमननाथ ढुंगानालाई बैठक सञ्चालन गर्नसमेत अप्ठेरो हुने गरेको थियो ।

कांग्रेस सांसदहरू एकाथरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पक्षमा थिए भने अर्काथरी सत्ताको विरोधी अर्थात् कृष्णप्रसादको पक्षमा । त्यसैले २०५० चैत ५ को प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कोइरालाविरोधी सत्तापक्षका सांसद रमेश रिजालले भनेका थिए, ‘मन्त्रिपरिषद्मा रहेको नन्दीभृंगीको जमातले प्रधानमन्त्रीको छवि बिगारेको छ । यस्तो जमातले प्रशासनमा अनुशासनहीनता र भ्रष्टाचार समाप्त गर्न सकेको छैन ।’ उनको भाषा सुनेर सभामुख ढुंगानाले रुलिङ गरेर सोधेका थिए, ‘माननीय सदस्य त्यस्तो शब्द संसदीय मर्यादाभित्र पर्छ कि पर्दैन ?’ जवाफमा रिजालले भनेका थिए, ‘त्यो शब्द असंसदीय हो भने फिर्ता लिन्छु तर यो जमात सरकारलाई घेरेर बसिरहेको साँचो छ ।’

संसदमा हाँसो फैलियो । प्रतिपक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद प्रकाशचन्द लोहनीले मौका छोप्दै रिजालले प्रयोग गरेको भाषाको अर्थ लगाउँदै भनेका थिए, ‘नन्दी भृंगीको अर्थ गाँजा, भाँङ, धतुरो खाएर लट्ठ पर्ने व्यक्ति भन्ने बुझिन्छ । अहिलेको मन्त्रिमण्डलमा त्यस्ता व्यक्ति छन् भने तिनको नाम भनिदिनुभए सबैलाई जानकारी हुन्थ्यो ।’ त्यसमै प्रतिपक्षी एमाले सांसद सिद्धिलाल सिंहले नन्दीभृंगीको प्रसंगलाई जोडेर भष्मेश्वर महादेवको कुरा झिकेका थिए ।

‘यो सरकार भष्मेश्वर महादेवसँग तुलना गर्न योग्य छ,’ उनले भनेका थिए, ‘भष्मेश्वरले जे छोयो त्यो भष्म हुन्छ ।’ उनले जनमानसमा प्रचलित साढे सातको दशाको प्रसंग पनि कोट्याए । उनले भनेका थिए, ‘गिरिजाप्रसाद सरकारलाई साढे सातको दशाले छोएको छ । यस्तो बेला जे काम गरे पनि बिग्रन्छ ।’ 

गत साल खडेरी परेकाले मोहीले कुत नतिरेको समस्याका बारेमा संसदमा प्रश्न सोध्ने कार्यक्रम थियो । त्यसको विषयमा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री सिद्धराज ओझाको ध्यानाकर्षण गराउन सभामुखसँग समय मागेका एक जना सांसद बैठकमा उपस्थित भएनन् ।

सभामुखले संयुक्त जनमोर्चा नेपालका विष्णुबहादुर तामाङको नाम बोलाए तर उनी बैठकमा थिएनन् । उनको अनुपस्थितिप्रति इंगित गर्दै संसदका एक दर्शकले भनेका थिए, ‘संसदमा सांसदकै खडेरी परेपछि खेतमा किसानको समस्याको के कुरा ।’ शून्य समयमा हुने व्यङ्ग्य र घोचपेचको आकर्षण बढेकाले अरु समयमा सांसदहरू नै न्युन संख्यामा उपस्थित हुने गरेका थिए ।

बैठकमा सत्तापक्षका सांसदहरू दुई भागमा विभाजित थिए । बस्ने एउटै साइटमा भए पनि कांग्रेसका (विपक्षी) ३६ जना र कांग्रेस सत्तापक्षका बाँकी सबै । त्यतिबेला कांग्रेसका सांसद प्रतिनिधिसभामा १ सय १३ जना थिए ।

संसद‍्मा मिथक मात्र होइन विशेषणयुक्त शब्दहरू पनि प्रयोग भएका थिए । प्रतिपक्षका राप्रपा सांसद पशुपतिशमशेर राणाले अघिल्लो दिन नवलपरासीमा आफ्नो पार्टीको जुलुसमा प्रहरी हस्तक्षेप भएको प्रसंगमा भनेका थिए, ‘वास्तवमा हाम्रो पार्टी एकदमै भलादमी छ ।’

राणाले राप्रपालाई भलादमी भनेकामा बैठकमा हाँसोको फोहरा छुटेको थियो । राप्रपालाई भलादमी भनेकामा कांग्रेसका आनन्द ढुंगालाई चित्त बुझेको थिएन । उनले नियमापत्ति गर्न केही बोल्न खोजका थिए । तर सभामुख ढुंगानाले बीचैमा कुरा काट्दै भनेका थिए, ‘आफूलाई भलादमी भन्न पनि नपाउने त ?’ 

 बैठककै क्रममा कांग्रेस सांसद हरिप्रसाद नेपालले बेलायतको संसदको सन्दर्भमा कुरा गर्दै बेलायत र नेपालमा राजतन्त्र भएको प्रसंग जोडेर सैद्धान्तिक बहस गरिरहेका थिए । एक मिनेटको समय सकिएको लामो समयसम्म पनि उनी बोली नै रहेका थिए । उनले भनेका थिए, ‘बेलायतमा संसदले पार्टी जन्मायो, नेपालमा पार्टीले संसद जन्माए ।’

नेपालले बोल्न नछाड्ने अनुमान गरेपछि सभामुख ढुंगानाले रुलिङ गर्दै भनेका थिए, ‘आज कन्जरभेटिभ पार्टीको कुरा सकियो । लेबर पार्टीको भोलि गर्नुहोला ।’ ढुंगानाको उक्त व्यङ्ग्य सुनेर सांसदहरूको हाँसो छुट्यो । सांसद नेपालले भने, ‘आजलाई यति त सभामुखज्यू ।’ उनी एकछिन अलमलमा परेका थिए । 

संसदमा सत्ता र प्रतिपक्षको भूमिका, सांसदहरूले प्रयोग गर्ने भाषा तथा उनीहरूको आचरणका विषयमा बेलाबेलामा बहस हुने गरेको छ । आचरणका कतिपय विषय संसद‍् सञ्चालन नियमावलीले निर्देशित गरेको हुन्छ । तर केही मूल्य र मान्यता भने संसदीय परम्परामा पनि आधारित भएको पाइन्छ । त्यसमा पनि कांग्रेसको आन्तरिक कलहको छाया संसद‍्मा कसरी देखिएको थियो ? 

संसद‍्मा बोल्ने क्रममा सांसदहरूले प्रयोग गर्ने भाषा कस्तो हुनुपर्ला ? अहिले बेलाबेलामा सभामुखको भूमिकाका विषयमा उठ्ने गरेको विवादलाई विगतका संसद् बैठक सञ्चालनसँग कसरी दाँज्न सकिएला ? यिनै सन्दर्भमा रहेर विशेषतः संसद् बैठकमा देखिएको दृश्य र सुनिएका विचारलाई समेटेर कान्तिपुर दैनिकले तयार गरेको समाचार २०५० चैत ६ मा ‘शून्य समयभित्र, भष्मेश्वर, नन्दीभृंगी र भलादमी’ शीर्षकमा प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully