काठमाडौँ — जुवा खेलेरै खेतबारी जोडेको घटना सुन्दा अचम्म लाग्न सक्छ । तर नेपाली समाजमा चलनचल्तीमा रहेको पर्व र मेलाहरूमा जुवा नै खेलेर खेतबारी जोडेका तीन दशकअघिका घटना वास्तविक हुन् । यसको उदाहरण हो, उदयपुरको त्रिवेणी मेलामा लाग्ने जुवाका खाल ।
उदयपुरको साबिक त्रिवेणी गाविस–७ मा पर्ने कमला छेउको यो मेला वैजनाथ, तावाखोला र कमलामाईको संगममा लाग्ने गरेको छ । ५० को दशकसम्म यो मेलाको महत्त्व भने फरक र अनौठौ प्रकृतिको थियो । मेलाको सबैभन्दा आकर्षक हो– जताततै जुवाका खाल । मेलामा जुवाका खालहरू ६०–७० स्थानमा हुन्थे र सामान्यतयाः हरेक वर्षको माघ १ देखि १५ गतेसम्म चल्ने गरेका थिए ।
जुवामा स्वदेशी मात्र होइन, विदेशीहरू पनि लाखौं रुपैयाँ लिएर जुवा खेल्न आउने गर्थे । बालुवामाथि लाग्ने यो मेलामा कहिले त एक महिनासम्म जुवा खेल्ने र खेलाउने गरिन्थ्यो । मेलामा बृहत् रूपमा कौडा र तास खेलिने गरिन्थ्यो । तीन दशकअघि मेला अवधिभर ८–१० करोडको खेल हुने गरेको थियो । मेलामा जुवा खेलाउने चलन कहिलेबाट सुरु भयो भन्नेबारे स्थानीय अनभिज्ञ छन् । उनीहरूलाई यति थाहा छ कि बाबुबाजेकै पालादेखि यो चलन थियो ।
यहाँ जुवा खेल्न भारतका प्रख्यात धनाढ्यहरू आउने गरेका थिए । पटना, छपरा, दिल्ली, पश्चिम बंगाल, सिक्किमलगायतका क्षेत्रबाट जुवाडे सुटकेशमा पैसा बोकेर आउने गरेको स्थानीय बताउने गर्थे । भारतीयहरू जुवामा आफूले एक–दुई लाख हारे पनि सामान्य मान्थे । लाखौं हार्ने एकाध नेपाली पनि हुन्थे । तर, जित्नेमा प्रायः नेपाली नै देखिन्थे । जुवामा जित्ने नेपालीले त्यो पैसा प्रायः जग्गाजमिन जोड्नमै खर्च गर्ने गरेको स्थानीयको भनाइ थियो ।
त्रिवेणीका शिक्षक मेलाको जुवा खेल सम्झँदै भन्थे, ‘नेपाली २–४ सय लिएर खेल्न बस्छन् । हारे थोरै रकम, जितेमा लाखौं लाख । कतिपयले त मेलामा खेलेको जुवाबाट गरेको आम्दानीले जग्गा नै खरिद गरेका थिए ।’ तर २०४६ को परिवर्तनपछि जुवा खेलमा नियन्त्रण गर्न खोजिएको थियो । त्यसैले ५० को दशकसम्म पुग्दा मेलामा जुवा खेल्ने चलन निकै कम भएको थियो ।
२०५० को भेलामा जुवाको खाल १०–१२ स्थानमा थियो । मेलामा खेल कम भएपछि जुवाडेहरू कमलापारि सिन्धुलीको सिमानामा जाने गरेका थिए । त्यहाँ भने राम्रै खेल भएको स्थानीय बताउने गर्थे । जुवा नियन्त्रण गर्दा मेलाबाट ठेकेदारमार्फत आउने रकम पनि घटेको थियो । अघिल्ला वर्षमा ठेकेदारले दुइ लाखसम्म बुझाउने गरेकामा २०५०/०५१ मा आइपुग्दा ७९ हजारमा ठेक्का लागेको थियो ।
विशेषतः ठेकेदार र जुवा खेल्न आउनेहरू स्थानीय गुण्डागर्दीबाट असुरक्षित महसुस गरेका थिए । त्यतिबेला कटारी गाविसका युवाहरूले मेलामा आएर विभिन्न क्लबका नाममा रकम असुल्ने गर्थे । त्यसैले भारतीयहरू मेला आसपासमा बस्न कम गर्दै थिए । स्थानीय जनप्रतिनिधि भने जुवा खेल घट्दै जाँदा र भारतीयहरूको आउजाउ कम हुँदा स्थानीय व्यापारमा ठूलो घाटा लागेको बताउने गर्थे ।
एकातिर बाढीले मेलास्थललाई क्षति गर्दै लगेको थियो भने पम्परागत मेलाको महत्त्वलाई मानवीय गतिविधिबाट ह्रास ल्याइएको छ । यिनै सन्दर्भलाई जोडेर कान्तिपुर दैनिकले जनकपुर डेटलाइनमा लेखिएको समाचार ‘जहाँ जुवा खेल्न भारतका धनाढ्यहरू आउँछन्’ शीर्षकमा २०५० चैत २ मा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That time of gambling](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/5-2562025010126-1000x0.jpg&w=1001&h=0)