‘राजीनामा पत्र खल्तीमा बोकेको गिरिजाप्रसादको त्यो धम्की’

असार ९, २०८२

कान्तिपुर संवाददाता

”That threat of Girija Prasad carrying the resignation letter in his pocket”

काठमाडौँ — ‘मविरुद्ध मतदान गरेको भए राजीनामा दिन सजिलो हुन्थ्यो । राजालाई बुझाउने राजीनामा खल्तीमा बोकेको थिएँ । तपाईंहरूले विश्वासको मत दिनुभयो । त्यसलै अब दबाबमा त राजीनामा दिन्नँ,’ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५० फागुन २८ गते आफ्नै पार्टीबाट निर्वाचित असन्तुष्ट सांसदहरूलाई सम्बोधन गर्दै भनेका थिए, ‘तपाईंहरूले अविश्वासको विपक्षमा मत दिनुभयो । म जोगिएँ ।’

२०५० माघ २५ मा भएको काठमाडौं क्षेत्र नम्बर १ को उपनिर्वाचनमा कोइरालाले पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई हराउन भूमिका निर्वाह गरेको आरोप लगाउँदै कांग्रेसका ४७ सांसदले उनको राजीनामा माग गरेका थिए । कोइरालालाई अन्तर्घातीको आरोप लगाउने दुवै सदनका  ती सांसदले कोइरालालाई राजीनामा दिन दबाब दिने उद्देश्यले उक्त भेला आयोजना गरेका थिए ।

एमालेले प्रतिनिधिसभामा राखेको अविश्वास प्रस्तावविरुद्ध मतदान गरेका कांग्रेसका ३६ जना र राष्ट्रियसभाका ११ जना सांसदसँगको संयुक्त छलफलका क्रममा कोइरालाले धम्कीपूर्ण तर घुमाउरो तरिकाले एमालेले राखेको अविश्वास प्रस्तावको पक्षमा मत दिएर आफूलाई प्रधानमन्त्रीबाट किन नहटाएको भन्दै उल्टै प्रतिप्रश्न पनि तेर्स्याएका थिए ।

राष्ट्रिसभाको लवीमा एक घण्टा १० मिनेट भएको छलफलमा कांग्रेसका असन्तुष्ट सांसदहरू र कोइरालाबीच निकै चर्काचर्की भएको थियो । सांसदहरूले कोइरालाले बोलेका शब्द अप्रजातान्त्रिक भएको बताएका थिए ।

सांसदहरूले कांग्रेसको सरकारले निरन्तरता पाउनुपर्ने तर कोइरालाको विकल्प खोज्नुपर्ने धारणा अघि सारेका थिए । सांसदहरूले कोइरालाको नेतृत्व हरेक हिसाबले असफल भएको बताएका थिए । उनीहरूले मन्त्रिमण्डलको पुनर्गठन र भागबण्डाले पनि समस्या समाधान नहुने बताएका थिए । सांसदहरूले भट्टराई हराउन बालुवाटारमा बसेर गरेको अन्तर्घातको तथ्य आफूहरूसँग रहेको दाबी गरेका थिए । भट्टराई एमालेकी विद्या भण्डारीसँग पराजित भएका थिए ।

सांसदहरूले प्रधानमन्त्री कोइराला बिरामी परेकाले पनि राजीनामा उचित हुने सुझाएका थिए । उनीहरूले कोइराला बिरामी परेकाले अनाधिकार रुपमा नाता, कुटुम्ब, नजिकका व्यक्तिहरूको हस्तक्षेप बढ्ने तर्क अघि सारेका थिए । तर कोइरालाको जवाफ थियो, ‘तपाईंहरूले विपक्षीले राखेको अविश्वास प्रस्तावमा मतदान गर्नुहुन्छ भनेर मैले श्री ५ समक्ष दिन राजीनामा पत्र खल्तीमा हालेर आएको थिएँ ।’ 

कोइरालालाई विपक्षीले राखेको अविश्वास प्रस्तावको पक्षमा आफ्नै सांसदले मत खसाल्छन् भन्ने विश्वास थिएन । एमालेले कोइरालाविरुद्ध राखेको अविश्वास प्रस्तावको विषयमा छिनोफानो गर्न फागुन २३ मा प्रतिनिधिसभामा मत विभाजन गरिएको थियो । कोइरालाविरुद्धको अविश्वास प्रस्ताव ३२ मतले पराजित भएको थियो । 

विपक्षमा मतदान गरेमा सांसदलाई लाग्ने संसदीय दलको ह्वीप पनि उल्लंघन हुने भएकाले कोइरालाले त्यही बहानामा सांसदहरूलाई नै उल्टै कारबाही गर्ने सम्भावना पनि रहन्थ्यो । त्यसैले जानकारहरूले कोइरालाले जानीबुझीकनै सांसदहरूलाई धम्क्याएको तर्क गरेका थिए । त्यसमा पनि सभापति भट्टराईले केन्द्रीय समितिको बैठकमा एमालेले राखेको अविश्वास प्रस्तावको विपक्षमा मत खसाल्न निर्देशन नै दिएका थिए । उनले पार्टीमा जस्तोसुकै दरार आए पनि संसदीय मूल्य मान्यता विपरीत जान नसक्ने प्रस्ट गरेका थिए ।

सांसदहरूले त कोइरालाविरुद्ध मत खसाल्ने अधिकार दिनसमेत माग गरेका थिए । कांग्रेसकै सांसदहरूले संसद् बैठकमा कोइरालाको राजीनामा माग पनि गरेका थिए । तर कोइराला आफ्नै नेतृत्वको सरकार ढल्दैन भन्नेमा ढुक्क थिए ।

विशेषतः संसदीय व्यवस्थामा सांसदहरूले सामान्यतया संसदीय दलको ह्वीप उल्लंघन गर्दैनन् भन्नेमा कोइराला प्रस्ट थिए । कोइरालाविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत भएपछि सांसदहरूले राजीनामाको प्रसंग फेरि उठाएका हुन् । तर कोइरालाले अस्विकार गरिरहेका थिए । 

भेलाबाट कोइराला बाहिरिएपछि सांसदहरूले पुनः छलफललाई निरन्तरता दिएका थिए । बैकठपछि ५ बुँदे टिपोट सञ्चारकर्मीलाई उपलब्ध गराएका थिए । सांसद चिरञ्जीवी वाग्लेले कोइरालासँग गम्भीर मतभेद उत्पन्न भएको बताएका थिए । कांग्रेसभित्रको यही द्वन्द्व र कोइरालाको राजीनामाको सन्दर्भ जोडेर पत्रकार चन्द्रशेखर कार्की र विकास रौनियारले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५० फागुन २९ मा ‘प्रम कोइरालाद्वारा राजीनामा दिन अस्वीकार’ शीर्षकमा प्रकाशित गरेको थियो ।  

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर अर्काइभ

कान्तिपुर

Link copied successfully