काठमाडौँ — नेपाललाई विश्वमा चिनाउने महत्त्वपूर्ण विदेशी नागरिक टोनी हागनले विदेशी सहायता भित्र्याएर विकास प्रयासमा निकै ठूलो सहयोग गर्दै आएका थिए । नेपालमा स्विस सहायता भित्र्याउन ठूलो योगदान गरेका हागन विकासविद्का रूपमा परिचित थिए । उनी नेपालका साबिक ७५ मध्ये ७१ जिल्ला घुमेका थिए ।
२०५० कात्तिकमा कान्तिपुर दैनिकका नारायण वाग्लेले लिएको अन्तर्वार्तामा भूगर्भविद् हागनले नेपालको योजना आयोगको औचित्य नभएको पनि बताएका थिए । झण्डै ७० वर्षअघि नेपालका धेरै विकट स्थानमा पुगेर तस्बिर खिचेका उनी गरिब मुलुकले विदेशी सहायता लिन धेरै ख्याल गर्नुपर्ने बताउने गर्थे ।
यसै पृष्ठभूमिमा हागनले विश्व बैंकको मुख्य ऋण सहयोगमा बन्न लागेको अरुण तेस्रो जलविद्युत् आयोजनाको खुलेर विरोध गरेका थिए । २०४६ को राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालको नेतृत्वमा बनेको सरकारले खुला अर्थतन्त्रको नीति लिएका कारण स्वदेशी र विदेशी लगानी भित्रिने क्रम बढेका बेला नेपालको विकास कार्यक्रमको ज्ञाताका रूपमा परिचित हागनले अरुण आयोजनालाई भने ‘यो त विकासको नाटक’ भएको उल्लेख गरेका थिए । सरकारले प्राथमिकतामा राखेको विद्युत् आयोजनाको नाममा दातृराष्ट्र तथा ऋण उपलब्ध गराउने संस्थाले ‘ब्ल्याकमेलिङ’ गरिरहेको पनि उनको धारणा थियो ।
२०५० चैत ३ मा काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले भनेका थिए, ‘दातृ तथा ऋण दिने संस्थाले अरुण तेस्रोको नाममा जति अनुदान दिन्छन्, त्यसको ७० प्रतिशत भाग अन्ततः उनीहरूतिरै फर्कन्छ ।’ नेपालले विश्व बैंक, एसियाली विकास बैंकजस्ता संस्था र जापान, जर्मनीजस्ता दातृराष्ट्रको सहयोगमा निर्माण गर्ने भनिएको नेपालको सबैभन्दा ठूलो विकास आयोजना थियो । तर हागनले भनेका थिए, ‘एउटै आयोजनामा यति धेरै पैसा खर्च गर्नु हुँदैन ।’ अरुण आयोजना पहिलो चरणमा २ सय १ मेगावाट विद्युत् उत्पादन हुने गरी करिब ३८ अर्ब रुपैयाँको लगानीमा निर्माण गर्ने तयारी भइरहेका बेला हागनले भने आफ्नो कडा प्रतिक्रिया जनाएका थिए ।
उनले जर्मनीको वोनमा एउटा छलफल कार्यक्रममा भाग लिएको समयमा जर्मन अधिरकारीहरूले अरुणको सम्बन्धमा ‘कि यो लिनुपर्यो कि छोड्नुपर्यो’ भनेर दबाब दिएको खुलासा पनि गरेका थिए । नेपालको पहिलो वैज्ञानिक सर्वेक्षण पूरा गर्ने भूगर्भशास्त्री हागनले वोनको कार्यक्रममा सहभागी दुई नेपाली इन्जिनियरलाई धम्की दिएको दाबी गरे । नेपाललाई अरुणका नाममा प्राप्त हुने ऋण धेरै महँगो हुने भन्दै उनले विश्व बैंकको ऋण तिर्न विश्वका धेरै मुलुकले शिक्षा र स्वास्थ्यको बजेट कटौती गर्नुपरेको पनि बताए ।
नेपालले भने विश्व बैंकबाट २० अर्ब रुपैयाँ अनुदान स्वरूप प्राप्त हुने भएकाले ऋणको धेरै भार बोक्न नपर्ने तर्क अघि सारेको थियो । हागनले युवा इन्जिनियरले अरुणमा काम नपाउने प्रसंग जोड्दै भनेका थिए, ‘नेपाली युवा इन्जिनियरहरूको क्षमता वृद्धि गर्नुपर्छ ।’ उनले बाँध नै नबनाई कर्णाली विद्युत् आयोजनाको सम्भावना रहेको बताए । ‘तर उक्त आयोजना बनाउन कुनै पनि सरकार तयार भएको छैन,’ उनले भने । उनले संयुक्त राष्ट्रसंघका लागि तयार गरेको दुई भौगोलिक प्रतिवेदनमा कर्णालीलाई समावेश गरेका थिए ।
सन् १९५० देखि १९९२ सम्म नेपाका विभिन्न भूभाग घुमेर तस्बिरसहित तयार गरेको ‘बिल्डिङ ब्रिजेज टू द थर्ड वर्ल्ड’ नाम पुस्तक प्रकाशित भएका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरेका थिए । २०५० चैत ३ मा गरिएको पत्रकार सम्मेलनमा आफ्नो पुस्तक ‘धेरै पिरो’ भएको उनले बताएका थिए ।
मुलुक धेरै घुमेर अनुभव बटुलेपछि उनलाई तत्कालीन शाही नेपाली सेनाका जर्नेलहरूले भनेका थिए, ‘तिमीले सुन धेरै भेट्यौ होला होइन ? त्यो सुन आधीआधी हो ।’ जस्ता विषय पनि उनको पुस्तकमा उल्लेख गरिएको थियो । हागनले उक्त पुस्तकको मूल्य २४ सय राखेका थिए ।
नेपालको विकास प्रयासमा विदेशी सहयोग, हागनको भनाइ र अरुण तेस्रो जलविद्युत् आयोजनाको सन्दर्भ समेटेर तयार गरेको समाचार ‘अरुण तेस्रो जलविद्युत् आयोजना विकासको नाटक’ शीर्षकमा २०५० चैत ४ मा कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो । अरुणको विषयमा हागन मात्र होइन, एमालेसहितका नेपालका वामपन्थी घटकको पनि विरोध थियो । अरुण ल्याउनै नहुने अभियान पनि चलिरहेको थियो । प्रभावित बासिन्दाका नाममा विभिन्न सामाजिक संघसंस्थाले अरुण बन्न नदिने अभियान नै चलाइरहेका थिए ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Tony Hagan's reaction to the Arun project being a 'development drama'...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/5-2662025123853-1000x0.jpg&w=1001&h=0)