काठमाडौँ — २०४६ को राजनीतिक परिवर्तनपछि मुलुकले लिएको आर्थिक उदारीकरणको प्रभावले निकासी व्यापारमा सकारात्मक प्रभाव देखिएको थियो । त्यतिबेला नेपालबाट बर्सेनि १३ अर्ब ९८ करोडको निकासी भएकामा गलैंचाको हिस्सा ठूलो रहेको थियो ।
जर्मनीमा भएको निकासी व्यापार निकै उत्साहजन थियो । मुलुकको कुल निकासीको ४२.२ प्रतिशत जर्मनीमा हुन्थ्यो । जर्मनीमा ५ अर्ब ५८ करोडको नेपाली बस्तु जर्मनी निकासी भएकामा गलैंचाको योगदान धेरै थियो । नेपाली गलैंचाको ठूलो मार्केट जर्मनीलाई लिइन्थ्यो । जर्मनीमा निकासी हुने बस्तुमध्ये गलैंचाले ८० प्रतिशत ओगटेको थियो ।
यसबाट उद्योगीहरू गलैंचा उत्पादनमा लगानी बढाउन चाहन्थे । १९८७/०८८ मा नेपालबाट ६२ करोडको गलैंचा जर्मनी पठाइएकामा १९९०/०९२ मा करिव ६ अर्बको निकासी भएको थियो । पाँच वर्षमा भएको यो वृद्धिले नेपालमा विदेशी मुद्रा आयातमा ठूलो योगदान पुगेको थियो भने रोजगारीको अवसर पनि बढेको थियो । बर्सेनि २५ लाख वर्गमिटर गलैंचा जर्मनीमा निकासी हुने गरेको थियो ।
नेपाली हातले बुनेका गलैंचाको बजार बढ्दै गएको थियो । खासगरी निम्न आय भएका विकट बस्तीहरूका किशोरहरूको रोजगारीको थलो गलैंचा कारखाना हुने गरेको थियो । काठमाडौं उपत्यकामा मात्र हजारौं गलैंचा मजदुरले काम गर्थे ।
नेपालबाट जर्मनीमा चिया, धातु, कपडा, काठ, बाँसबाट बनेका हस्तकलाका सामान, तयारी कपडा, चाँदीका गरगहनालगायतका बस्तु मुख्य रूपमा निकासी हुने गर्थेर् । नेपालबाट हिमालयन भोड्का र जडीबुटीबाट बनेको तेलको माग पनि जर्मनीमा बढ्दै गएको थियो । जर्मनमा हुने निकासी व्यापारमा ९६ प्रतिशत गलैंचाको योगदान रहेको थियो । ९० को दशकपछि सुती र उनीका स्वेटरहरू पनि उल्लेख्य रूपमा निकासी हुन थालेका थिए । तर जर्मनमा हुने निकासी व्यापारको ९६ प्रतिशत हिस्सा गलैंचाले ओगटेको थियो ।
जर्मनीबाट नेपालमा विकास निर्माणका सामान तथा औद्योगिक कच्चा पदार्थ पैठारी हुने गरेको थियो । जर्मनी मार्कको सटही दरमा वृद्धि भएकाले पैठारी व्यापारमा यसको प्रभाव नकारात्मक थियो । युरोपमा हुने गरेको व्यापारिक आर्थिक कारोबारमा जर्मनीमा वृद्धि हुँदै गएको थियो । जर्मनीमा हुने व्यापार मेलामा नेपाली व्यवसायीको निरन्तर सहभागिता र दुई देशबीचको सिधा हवाई सम्पर्कका कारण व्यापारमा सहज भएको धारणा व्यवसायीहरूको रहेको थियो ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जर्मनीलगायतका मुलुकको भ्रमणका क्रममा नेपालमा लगानीको वातावरण रहेकाले संयुक्त लगानी गर्न अनुरोध गरेका थिए । २०४९ मंसिरमा काठमाडौंमा भएको लगानी बैठकमा नेपाली र जर्मन लगानीकर्ताहरूले २१ वटा औद्योगिक तथा आर्थिक परियोजनामा संयुक्त लगानी, प्रविधि हस्तान्तरण गर्ने विषयमा हस्ताक्षर भएको थियो ।
५० को दशकमा नेपाल र जर्मनीबीच फोटो कलर ल्याबोरेटोरी, कोल्डस्टोरेज र पर्यटन उद्योगमा करिब ६ करोडको संयुक्त लगानी भएको थियो । सरकारको खुला अर्थनीति र गलैंचा उत्पादनले निकासी व्यापारमा पुर्याएको योगदान र जर्मनीमा हुने गरेको गलैंचा व्यापारका विषय समेटेर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५० जेठ ३१ मा प्रकाशन गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Every year, 2.5 million square meters of Nepali carpets reached Germany](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/5-pm-0642025125214-1000x0.jpg&w=1001&h=0)