[अर्काइभ] बर्सेनि २५ लाख वर्गमिटर नेपाली गलैंचा जर्मनी पुग्थ्यो

चैत्र २४, २०८१

कान्तिपुर संवाददाता

[Archive] Every year, 2.5 million square meters of Nepali carpets reached Germany

काठमाडौँ — २०४६ को राजनीतिक परिवर्तनपछि मुलुकले लिएको आर्थिक उदारीकरणको प्रभावले निकासी व्यापारमा सकारात्मक प्रभाव देखिएको थियो । त्यतिबेला नेपालबाट बर्सेनि १३ अर्ब ९८ करोडको निकासी भएकामा गलैंचाको हिस्सा ठूलो रहेको थियो ।

जर्मनीमा भएको निकासी व्यापार निकै उत्साहजन थियो । मुलुकको कुल निकासीको ४२.२ प्रतिशत जर्मनीमा हुन्थ्यो । जर्मनीमा ५ अर्ब ५८ करोडको नेपाली बस्तु जर्मनी निकासी भएकामा गलैंचाको योगदान धेरै थियो । नेपाली गलैंचाको ठूलो मार्केट जर्मनीलाई लिइन्थ्यो । जर्मनीमा निकासी हुने बस्तुमध्ये गलैंचाले ८० प्रतिशत ओगटेको थियो । 

यसबाट उद्योगीहरू गलैंचा उत्पादनमा लगानी बढाउन चाहन्थे । १९८७/०८८ मा नेपालबाट ६२ करोडको गलैंचा जर्मनी पठाइएकामा १९९०/०९२ मा करिव ६ अर्बको निकासी भएको थियो । पाँच वर्षमा भएको यो वृद्धिले नेपालमा विदेशी मुद्रा आयातमा ठूलो योगदान पुगेको थियो भने रोजगारीको अवसर पनि बढेको थियो । बर्सेनि २५ लाख वर्गमिटर गलैंचा जर्मनीमा निकासी हुने गरेको थियो ।

नेपाली हातले बुनेका गलैंचाको बजार बढ्दै गएको थियो । खासगरी निम्न आय भएका विकट बस्तीहरूका किशोरहरूको रोजगारीको थलो गलैंचा कारखाना हुने गरेको थियो । काठमाडौं उपत्यकामा मात्र हजारौं गलैंचा मजदुरले काम गर्थे । 

[Archive] Every year, 2.5 million square meters of Nepali carpets reached Germany

नेपालबाट जर्मनीमा चिया, धातु, कपडा, काठ, बाँसबाट बनेका हस्तकलाका सामान, तयारी कपडा, चाँदीका गरगहनालगायतका बस्तु मुख्य रूपमा निकासी हुने गर्थेर् । नेपालबाट हिमालयन भोड्का र जडीबुटीबाट बनेको तेलको माग पनि जर्मनीमा बढ्दै गएको थियो । जर्मनमा हुने निकासी व्यापारमा ९६ प्रतिशत गलैंचाको योगदान रहेको थियो । ९० को दशकपछि सुती र उनीका स्वेटरहरू पनि उल्लेख्य रूपमा निकासी हुन थालेका थिए । तर जर्मनमा हुने निकासी व्यापारको ९६ प्रतिशत हिस्सा गलैंचाले ओगटेको थियो । 

जर्मनीबाट नेपालमा विकास निर्माणका सामान तथा औद्योगिक कच्चा पदार्थ पैठारी हुने गरेको थियो । जर्मनी मार्कको सटही दरमा वृद्धि भएकाले पैठारी व्यापारमा यसको प्रभाव नकारात्मक थियो । युरोपमा हुने गरेको व्यापारिक आर्थिक कारोबारमा जर्मनीमा वृद्धि हुँदै गएको थियो । जर्मनीमा हुने व्यापार मेलामा नेपाली व्यवसायीको निरन्तर सहभागिता र दुई देशबीचको सिधा हवाई सम्पर्कका कारण व्यापारमा सहज भएको धारणा व्यवसायीहरूको रहेको थियो । 

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जर्मनीलगायतका मुलुकको भ्रमणका क्रममा नेपालमा लगानीको वातावरण रहेकाले संयुक्त लगानी गर्न अनुरोध गरेका थिए । २०४९ मंसिरमा काठमाडौंमा भएको लगानी बैठकमा नेपाली र जर्मन लगानीकर्ताहरूले २१ वटा औद्योगिक तथा आर्थिक परियोजनामा संयुक्त लगानी, प्रविधि हस्तान्तरण गर्ने विषयमा हस्ताक्षर भएको थियो । 

५० को दशकमा नेपाल र जर्मनीबीच फोटो कलर ल्याबोरेटोरी, कोल्डस्टोरेज र पर्यटन उद्योगमा करिब ६ करोडको संयुक्त लगानी भएको थियो । सरकारको खुला अर्थनीति र गलैंचा उत्पादनले निकासी व्यापारमा पुर्‍याएको योगदान र जर्मनीमा हुने गरेको गलैंचा व्यापारका विषय समेटेर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५० जेठ ३१ मा प्रकाशन गरेको थियो । 

 प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर संवाददाता

Link copied successfully