अरुण तेस्रो बनाउन जुटेको त्यो विदेशी सहायता

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

That foreign aid that Arun is trying to make third

काठमाडौँ — २०४८ को संसदीय निर्वाचनपछि नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार बन्यो । यही सरकारले संखुवासभामा ४ सय २ मेगावाटको अरुण तेस्रो आयोजना अघि बढाउने निर्णय गर्‍यो । यो परियोजना अघि बढाउन जापानी सहयोग नियोगले प्रारम्भिक अध्ययन गरेको थियो ।

त्यतिबेला आयोजनाको कुल लागत १ अर्ब ८ करोड अमेरिकी डलर अनुमान गरिएको थियो । प्रधानमन्त्री कोइराला मुलुकको आर्थिक विकासका लागि विद्युतीकरण गर्नुपर्ने र निजी क्षेत्रबाट पनि विद्युत् आयोजना निर्माणका लागि लगानी ल्याउने रणनीतिमा देखिन्थे । निजी क्षेत्रबाट कुनै पनि विद्युत् आयोजना नबनेको पृष्ठभूमिमा विद्युतीकरणका लागि नयाँ र ठूला आयोजना जरुरी नै थियो ।  

यो आयोजनामा दातृ निकायको सहयोग लिने कि नलिने भन्ने विषयमा भने दलहरू विभाजित देखिए । एमालेसहित संसदमा प्रतिनिधित्व गरेका वामपन्थी दलहरू अरुण आयोजना मुलुकको हितमा नभएको तर्क अघि सारिरहेका थिए । केही अभियानकर्ताले वातावरण र स्थानीयको अधिकारको विषय उठाएर आयोजना रद्द गराउने अभियान चलाइरहेका थिए ।

यस परिस्थितिमा अरुण तेस्रो निर्माण गर्न विश्व बैंक, एसियाली विकास बैंक र स्वीडिस सरकारले करिब १७ अर्ब ७० करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । त्यस्तै जर्मन, जापान र फिनल्याण्ड सरकारले पनि सहयोगको प्रतिबद्धता जनाएका थिए । विश्व बैंक र एसियाली विकास बैंकले मात्र ३० देखि ४० वर्षका लागि १ प्रतिशत व्याजमा ‘सफ्ट लोन’ दिने सहमति गरेका थिए । 

That foreign aid that Arun is trying to make third

एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले २०५१ कात्तिकमा विश्व बैंकलाई पत्र लेखेर आयोजनाको विषयमा प्रश्न उठाएका थिए । त्यसैलाई आधार बनाएर विश्व बैंकले २०५२ सालमा उक्त आयोजनामा लगानी नगर्ने निर्णय गरेको थियो ।  

त्यतिबेला निकै चर्चा भएको र महत्त्वाकांक्षी मानिएको अरुण आयोजना निर्माणका लागि लगानी जुट्दै गरेको प्रसंग जोडेर राष्ट्रिय समाचार समितिले तयार गरेको ‘अरुण तेस्रो योजनाका लागि करिब १८ अर्ब सहयोग प्राप्त’ भन्ने शीर्षक समाचार कान्तिपुरले १० फागुन २०४८ मा पहिलो पृष्ठमा प्रकाशन गरेको थियो ।

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully