संसद‍्मै प्रधानमन्त्रीलाई ‘राष्ट्रघाती’ भनेपछि सुरु भएको त्यो विवाद

मन्त्री र सत्तापक्षकै सांसदहरूद्वारा नियमापत्ति

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

The controversy started when the Prime Minister was called a 'nationalist' in the Parliament

काठमाडौँ — संसद‍्मा सांसदहरूले प्रयोग गर्ने भाषा र शब्द चयनको विषयमा अहिले पनि बेलाबखत बहस भइरहन्छ । यस्तै बहस २०४६ सालपछि बनेको पहिलो संसद‍्मा जाेडदार ढंगले उठेको थियो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद‍्को रोस्ट्रममा उभिएर सांसदहरूले भुटानी शरणार्थी र राष्ट्रिय योजना आयोगसम्बन्धी सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रतिपक्षका सांसदहरूले ‘राष्ट्रघात’ र ‘नैतिकहीन’ भन्ने शब्द प्रयोग गरेपछि यो विवादको विषय बनेको थियो । 

त्यतिबेला प्रमुख प्रतिपक्षी एमालेसहितका वामपन्थी दलहरू भारतप्रति निकै आक्रामक देखिन्थे । भारतीय ‘विस्तारवाद’को नारा सडकमा सधैंजस्तो लाग्ने गरेको थियो । भारतसँग जोडिएको विषय भएका कारण पनि वामपन्थीहरू कोइरालाप्रति बढी आक्रामक देखिन्थे ।

प्रधानमन्त्री कोइरालालाई प्रश्न सोध्ने क्रममा एमाले सांसदहरू लालबाबु पण्डित र गंगालाल तुलाधरले उक्त शब्द प्रयोग गरेपछि सत्तापक्षका सांसद र मन्त्रीहरूले आपत्ति मात्रै जनाएनन्, अमर्यादित भाषा प्रयोग गर्न दिएको भन्दै सभामुख दमननाथ ढुंगानाप्रति नै आक्रोशित भएका थिए । सत्तापक्षका प्रमुख सचेतक तारणीदत्त चटौतले गैरसंसदीय भाषा भन्दै नियमापत्ति नै गरे ।

एमाले सांसदहरूले उक्त भाषा प्रयोग गर्न नछाड्ने र सत्तापक्षले आपत्ति जनाउन नछोड्ने भएपछि अवस्था यस्तो बन्यो कि प्रश्नहरूको जवाफ दिन रोस्ट्रममा उभिएका प्रधानमन्त्री स्वयं बोल्न सक्ने अवस्था बनेन । सत्तापक्षका सांसदले नै होहल्ला मच्याएको भन्दै सभामुख ढुंगानाले संसदीय मर्यादा थाहा नभएको र प्रधानमन्त्रीलाई बोल्न नदिएको दोष सत्तापक्षका सांसदहरूलाई नै लगाए ।

The controversy started when the Prime Minister was called a 'nationalist' in the Parliament

सभामुख ढुंगानाको भनाइप्रति सत्तापक्षका अर्थ राज्यमन्त्री महेश आचार्य, स्वास्थ्य राज्यमन्त्री रामवरण यादव, आपूर्ति सहायकमन्त्री सुरेन्द्र चौधरी, सांसदहरू शैलजा आचार्य, लीला कोइरराला, गोपालजीजंग शाह, मैयादेवी श्रेष्ठ, चीनकाजी श्रेष्ठलगायतले विरोध जनाए । त्यतिबेला संसद‍्मा मन्त्रीहरूले नै नियमापत्ति गर्नुलाई नौलो मानिएको थियो । 

सत्तापक्षका सांसदहरूले एमाले सांसदहरूले प्रयोग गरेको शब्द फिर्ता लिन लगाउन सभामुख ढुंगानालाई आग्रह गरिरहे । त्यसको जवाफमा ढुंगानाले आक्रोशित हुँदै भने, ‘प्रतिपक्षका तर्फबाट मैले माफी माग्ने हो ?’ उनले यस्तो किन भनेका थिए भने सभामुख ढुंगाना संसद् भनेको प्रतिपक्षको हो भन्ने मान्यतामा बढी विश्वास राख्थे । त्यसैले उनीमाथि सत्ता पक्षका सांसदहरू खुसी थिएनन् । 

सभामुखको व्यवहार चित्त नबुझेर सत्तापक्षका सांसद प्रकाश कोइरालाले भनेका थिए, ‘महान् निर्णयका निम्ति सभामुखलाई बधाई दिन्छु ।’ खासमा एमाले सांसद पण्डित र तुलाधरलाई प्रधानमन्त्रीप्रति लक्षित गरेर ‘राष्ट्रघाती’ शब्द प्रयोग गर्न दिएकोप्रति सभामुखलाई बधाई दिइएको थियो । संयुक्त जनमोर्चाका लीलामणि पोखरेल र नेपाल मजदुर किसान पार्टीका नारायणमान बिजुक्छेले भने संसद् बैठक नै बहिष्कार गरेका थिए । चार वामपन्थी दलहरूले प्रधानमन्त्री अतिथि हुने र बोल्ने कार्यक्रममा सहभागी नहुने निर्णय गरेकाले उनीहरूले संसद् बहिष्कार गरेका थिए । 

त्यतिबेला टनकपुर सम्झौताका विषयमा प्रतिपक्षी सांसदहरू सरकारप्रति बढी आक्रामक थिए । त्यस दिन एमाले सांसद चन्द्रप्रसाद मैनाली (सीपी) ले दिल्लीमा भारतीय नेताहरूसँग टनकपुरका बारेमा भएको छलफलको विषय प्रतिनिधिसभालाई जानकारी गराएका थिए । उक्त विषय प्रतिपक्षी दलका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको बैठकमा पनि जानकारी गराएका थिए ।

टनकपुरको विषयमा जानकारी लिन एमाले नेताहरू ६ दिने भारत भ्रमण गरेर दुई दिनअघि १६ फागुनमा मात्रै फर्केका थिए । सोही विषयलाई सदनमा जानकारी गराएका हुन् ।

प्रतिनिधिसभा बैठकमा सत्तापक्षका सांसद मात्र होइन, मन्त्रीले समेत बैठक चल्दाचल्दै र प्रधानमन्त्री रोस्ट्रममा उभिएका बेला नियमापत्ति गरेको पहिलो पटक थियो । उक्त विषयलाई लिएर कान्तिपुरले १८ फागुन २०४९ मा ‘सत्तापक्षका सांसदद्वारा सभामुखलाई दबाब’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

कान्तिपुर

Link copied successfully