काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको टनकपुर परियोजनासम्बन्धी सम्झौता असमान रहेको भन्दै २०४९ सालमा महिनौंसम्म सडकदेखि सदनसम्म विरोध जनायो । त्यतिबेला वामपन्थीसहितका प्रतिपक्षी दलहरूको एकै स्वर थियो– ‘प्रधानमन्त्रीले भनेजस्तो यो सम्झौता होइन, सन्धि नै हो ।’
जब सर्वोच्च अदालतले पनि सम्झौतालाई सन्धि नै भनेर व्याख्या गरिदियो, त्यसपछि प्रधानमन्त्री कोइरालाका निम्ति परिस्थिति थप असहज बन्यो । त्यसमाथि विपक्षीहरूले भारतको समेत चर्को विरोध गर्न थालेपछि यो कूटनीतिक विषय पनि बन्न पुगेको थियो ।
विपक्षीहरूले यो मुद्दामा भारत चिढिएको महसुस गरेपछि उनीहरूले आफूले उठाइरहेको मुद्दाबारे भारतलाई बुझाउने भन्दै भारत भ्रमणको तयारी थाले । ११ फागुन २०४९ मा एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल भारत पुग्यो । यो टोली १६ फागुनमा नेपाल फर्कियो ।
भारतको तत्कालीन सत्तारुढ दल कांग्रेस (आई) र विपक्षीहरूसँग छलफल गर्न भन्दै गएको एमाले प्रतिनिधिमण्डलका सदस्य स्वदेश फर्केपछि ‘नेपाल–भारत सम्बन्धलाई राम्रो बनाउने पक्षमा आफूहरू दृढ रहेको कुरा भारतीय नेताहरूलाई ‘कन्भिन्स’ गर्न सफल भएको’ प्रतिक्रिया दिए । उनीहरूले आफ्नो अडानप्रति भारतीय सत्तारुढ दलका नेताहरूको मनसाय सकारात्मक पाएको पनि बताए ।
एमाले नेता नेपालले भारतले टनकपुरका बारेमा वार्ता गर्न सकिने आश्वासन दिएको जानकारी नेपाली सञ्चारमाध्यमलाई दिएका थिए । भ्रमण टोलीका सदस्य सीपी मैनालीले एमालेले भारतसँग सुदृढ सम्बन्ध बनाउन गरेको पहल सफल भएको प्रतिक्रिया दिए ।
प्रतिनिधि मण्डलले भारतका पूर्वप्रधानमन्त्री विश्वनाथप्रताप सिंह, कांग्रेस (आई) का प्रवक्ता भीएन गाडगिल, प्रधानमन्त्री पीवी नरसिंह रावका राजनीतिक सल्लाहकार जितेन्द्रप्रसाद, पूर्वपरराष्ट्रमन्त्री आइके गुजराल, पूर्वपरराष्ट्र सचिव मुचकुन्द दुवे, मार्क्सवादी कम्युनिस्ट पार्टीका महासचिव हरिकिसन सुरजित, भारतीय कम्युनिस्ट पार्टी (माले) का महासचिव विनोद मिश्र, इण्डियन पिपुल्स फ्रन्टका नेता राजाराम र भारतीय कम्युनिस्ट पार्टीका महासचिव इन्द्रजित गुप्तासँग छलफल गरेको थियो । प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाका सदस्य प्रेमसिंह धामी पनि सहभागी थिए ।
त्यतिबेला टनकपुरको विषय उठाएर एमालेले सरकारविरुद्ध सडक आन्दोलनलाई निरन्तरता दिइरहेको थियो । आन्दोलनमा भौतिक मात्र होइन, मानवीय क्षतिसमेत भएको थियो ।
प्रधानमन्त्री कोइराला र एमालेबीच टनकपुरको विषय ‘प्रेस्टिज इस्यु’जस्तै बन्दै गएको थियो । एमालेसहित वाम पार्टीहरू कोइराला सहभागी औपचारिक कार्यक्रम बहिष्कारसम्मको विरोधमा उत्रिएका थिए । कान्तिपुर दैनिकले यो समाचारलाई ‘एमाले नेताहरूको दिल्ली भ्रमण : भारतले वार्ताको ढोका खोलेको छ’ शीर्षकमा १७ फागुन २०४९ मा प्रथम पृष्ठमा प्रकाशित गरेको थियो ।
प्रस्तुति : ऋषिराम पौड्याल
![[Archive] UML team to India to discuss Tanakpur Pact](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/main-2522025115336-1000x0.jpg&w=1001&h=0)