काठमाडौँ — बिग्रेभत्केका सडक वर्षौंसम्म नबन्ने अनि सडक स्तरोन्नतिको काम सुरु भएपछि कहिल्यै भनेको समयमा नसकिने विषय अचेल पनि दैनिन्दिनका समाचार भइरहेका छन् । तर यस्तै उस्तै अवस्था २०४९ सालतिर पनि थियो ।
२०४९ फागुन १६ मा कान्तिपुरमा ‘मोटरबाटोले पिरोलिएको अनामनगर’ शीर्षकमा समाचार नै छापिएको थियो । त्यतिबेला सिंहदरबारवरिपरि मोटरबाटो निर्माण गर्ने खबर डडेलोसरी फैलिएको थियो ।
अनामनगरको हनुमानस्थानबाट सिंहदरबारको पूर्वी गेट हुँदै न्यु प्लाजा निस्कने सडकको शिलान्यास २०४६ को आन्दोलनपछि गठित अन्तिरिम सरकारका यातायात मन्त्री मार्सल जुलुम शाक्यले गरेका थिए ।
शिलान्यास गर्ने तर भनेको समयमा काम नहुने रोगको सुरुवात त्यतिबेलै पनि विकराल रहेछ । शिलान्यास गरेको तीन वर्षसम्म सडक कालोपत्र भएन । हिउँदमा धूलो र वर्षातमा हिलोले स्थानीय दिक्क भए ।
मुलुकमा राजनीतिक परिवर्तन भएसँगै अनामनगरको धूलो पनि बन्द हुने अपेक्षा धेरैले राखेको देखिए पनि जनचाहनाले मूर्त रुप पाएन । त्यतिबेला काठमाडौंको एउटा मुख्य केन्द्रको अवस्था कस्तो थियो भनेर बुझ्न यो समाचारमा उल्लेखित तथ्यहरुले बुझाउँछन् । समाचारमा लेखिएको छ, ‘न्यु प्लाजाको क्षेत्रमा त बटुवाले दिसापिसाब गर्ने, रात्रिबसहरु त्यहीँ पार्किङ गर्ने र स्थानीयले फोहोर फ्याँक्ने थलो बन्यो ।’
धूलोले गर्दा सडकसँगै जोडिएका घरमालिक, स्थानीय व्यवसायी र कोठा भाडामा बसेकाहरू वर्षौंवर्षदेखि फोहोरको गन्ध र छारोधूलोको समस्या भोग्न बाध्य भए । परिस्थिति यतिसम्म बिग्रियो कि हिलो र धूलोका कारण स्वास्थ्य बिग्रने खतराले अभिभावकले छोराछोरीको स्कुलसमेत परिवर्तन गरेर अनामनगर छाड्न थाले ।
अन्तरिमकालमा शिलान्यास भएको यो सडक २०४८ को निर्वाचनपछि पनि जस्ताको तस्तै भएपछि जनस्तरबाट आलोचना सुरु भएको हो । कतिपयले विकास पञ्चायतमा जस्तो होइन, छिटो हुन्छ भनेको त होइन रहेछ भन्नेसम्मको आलोचना गर्न थाले । सडक सञ्चालनमा ल्याएको भन्दै अन्तरिम सरकारलाई धन्यवाद दिएका स्थानीयहरू यसरी छिट्टै दिक्क भए ।
सिंहदरबारवरिपरिको अवस्था झल्काउने यो समाचारले २०४९ सालमा राजधानीको केन्द्रको अवस्था कस्तो थियो भन्ने पनि बुझाउँछ । समाचारमा सिंहदरबारको गेटमै थुप्रिएको फोहोर र छारो हिलोको प्रसंग पनि उल्लेख गरिएको छ । अहिले भने हामीलाई ३२ वर्षअघिको अनामनगरको कथा पढ्दा अपत्यारिलो जस्ताे लाग्न सक्छ ।
प्रस्तुति : ऋषिराम पौड्याल
