‘दुई ठूला दल राज्य स्रोत दोहन गर्न मिलेजस्तो देखियो’

दलहरूले बहुमत नपाएको गुनासो गर्छन्, तर दुई दल मिल्दा झन्डै दुई तिहाइ बहुमत थियो, तैपनि सुशासन दिन सकेनन् 

असार २९, २०८२

कुलचन्द्र न्यौपाने

”It seems that two big parties have come together to exploit state resources”

१७ असार २०८१ मा कांग्रेस र एमालेबीच भएको ७ बुादे सहमतिको जगमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ । सहमतिमा आलोपालो सरकारको नेतृत्व (पहिलो दुई वर्ष ओली र त्यसपछि मंसिर २०८४ सम्म शेरबहादुर देउवा), संविधान संशोधन, सुशासन, आर्थिक पुनरुत्थान र राजनीतिक स्थिरता सुनिश्चित गर्ने उल्लेख थियो ।

सरकार गठनको एक वर्षमा निर्यात वृद्धि, आयातमा कमी, मुद्रा सञ्चिति वृद्धि र मुद्रास्फीति नियन्त्रणले आर्थिक सूचकहरू केही सकारात्मक बने पनि सुशासन र भ्रष्टाचार नियन्त्रणमा अपेक्षित प्रगति हुन सकेको छैन । जनताले सुशासनमा फरक अनुभूति पाउन सकेका छैनन् र नेतृत्वको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ । दुई तिहाइ समर्थन प्राप्त बलियो सरकारले किन जनअपेक्षाअनुरूप काम गर्न सकेन र सरकार कहाँ–कहाँ चुक्यो भन्ने सन्दर्भमा विश्लेषक हरि शर्मासँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेको कुराकानी : 

केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारको एक वर्ष पूरा भएको छ । सरकारले अपेक्षित काम गरेको जस्तो लाग्छ ?

एउटा दृष्टिकोणबाट हेर्दा सरकारले ठीकै काम गरेको जस्तो लाग्छ तर खासै केही गरेन भन्ने पनि छ । लोकतन्त्र भनेको जनताको अपेक्षा र आकांक्षा हो । जनताको आकांक्षाअनुसार यो सरकारले काम गरेको छ कि छैन भन्ने प्रश्न हो । नेपालमा बलियो सरकार चाहिन्छ भन्ने कुरा धेरै सुनिन्थ्यो । यो सरकार दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको छ, जसले संख्याको हिसाबले बलियो देखिन्छ । त्यसैले यसले केही गर्छ र कुनै समस्या आउँदैन भन्ने अपेक्षा थियो ।

केपी शर्मा ओली अनुभवी र आफ्नो पार्टीमा बलियो नेता हुनुहुन्छ । कांग्रेस पनि ऐतिहासिक रूपमा बलियो दल हो । यी दुई मिलेपछि साधन स्रोतको सीमितता भए पनि जनताको अपेक्षा पूरा गर्न सकिन्छ भन्ने लागेको थियो । तर, यो सरकारले अपेक्षित काम गर्न सकेन । एउटा उदाहरण दिन्छु—वर्षायाममा बाढी र पहिरोले राष्ट्रिय राजमार्गहरू बिग्रिए । गत वर्षको अवस्था अहिले पनि उस्तै छ । ठूला नीतिगत कुराहरूमा समस्या त छँदै छ, तर सामान्य मान्छेलाई चाहिने बाटोघाटो, आवतजावतको सुविधा पनि सुधार भएको छैन ।

बलियो सरकार छ, साधन स्रोत पनि छ, राष्ट्रिय प्राथमिकता पनि हो । तर, राजमार्गहरूको हालत हेर्दा प्रगति भएको देखिँदैन । बाटो बनाउने कुरामा त विचारविमर्शको खासै आवश्यकता पर्दैन । पूर्वतिर जाने बाटो खोलाको किनारमा बनेको छ, टेक्निकल समस्या होलान्, तर त्यहाँ सधैं भत्किरहन्छ । पृथ्वी राजमार्ग बन्दै छ, तर सुस्त गतिमा । राष्ट्रिय राजमार्गहरू, जसले राजधानीलाई जोड्छन्, तिनको अवस्था सुध्रिएको छैन । बरु गाउँघरमा स्थानीय सरकारले बनाएका बाटाहरू त राम्रा देखिन्छन्, तर राष्ट्रियस्तरमा यस्तो प्रगति देखिँदैन ।  

सरकारले अपेक्षाअनुसार काम गरेन कि केही पनि गर्न सकेन ?

सरकारसँग अपेक्षा धेरै थियो, तर काम भएको छैन । सरकारले व्यापार, लगानी, कर वा शिक्षामा के गर्ला भन्ने कुरा आफ्नै ठाउँमा छ । तर, सामान्य मान्छेलाई बजार भाउ, आधारभूत सुविधा महत्त्वपूर्ण हुन्छ । हाम्रो देश धेरै कुरामा आयातमा निर्भर छ, तर गर्न सकिने कामहरूमा पनि जनतालाई सुविधा दिन नसकेको अनुभव हुन्छ । बलियो सरकारले साधन स्रोत छुट्याउन र प्राथमिकता तोक्न सक्थ्यो । तर खासै प्रगति भएको छैन । यो देख्दा दुःख लाग्छ । 

दुई ठूला दल मिलेर बनेको सरकारको मुख्य प्राथमिकता स्थिरता, संविधान संशोधन, सुशासन र आर्थिक सुधारका मुद्दा थिए । तर सरकारको प्राथमिकता केमा देखियो ? 

लोकतन्त्रमा सार्वजनिक सेवा र सुविधा नीति कार्यक्रममार्फत दिनुपर्छ । सरकारले पहिला नीति बनाउँछ, अनि लागू गर्छ । दुई ठूला दल मिल्दा यस्तो ‘डेलिभरी’ हुन्छ भन्ने अपेक्षा थियो, तर त्यो भएन । किन भएन ? संसद्मा दुई ठूला दलहरू व्यवहारमा उस्तै–उस्तै देखिन्छन् । उनीहरूको सिद्धान्तले खासै फरक पार्दैन जस्तो लाग्छ । 

संसद्मा दुई बलिया दलले एकअर्कालाई सन्तुलनमा राख्नुपर्छ, स्वेच्छाचारी हुनबाट रोक्नुपर्छ । तर, दुवै दल मिलेपछि नागरिकका अधिकारहरू कुण्ठित हुने स्थिति हुन्छ । यो गर्नु हुँदैन भन्ने मेरो सैद्धान्तिक मान्यता थियो । सुशासन, सार्वजनिक सेवा र विकास निर्माणमा साधन स्रोत परिचालन गर्न सजिलो होला, दुई दल मिलेर काम गर्लान् भन्ने लागेको थियो । तर, कहिलेकाहीँ अधिकारहरू कुण्ठित गरेर केही पाइन्छ कि भन्ने हुन सक्छ । तर, अधिकारलाई प्राथमिकता दिनुपर्छ ।

दुई दल मिल्नु सैद्धान्तिक रूपमा राम्रो थिएन । यो गठबन्धन ‘काले–काले मिलेर खाऊँ भाले’ जस्तो भयो । सत्तामा बसेर साधन स्रोत र बजेटको बाँडफाँटमा ध्यान गएको देखिन्छ । पदहरूको भागबन्डाले संस्थाहरू कमजोर भएका छन् । दुई दल मिल्दा विकासमा प्रगति हुन्छ, साधन स्रोत बाँड्न सजिलो हुन्छ, समाजमा द्वन्द्व कम हुन्छ भन्ने थियो । तर, दुई दल राज्यको स्रोत दोहन गर्न मिले जस्तो देखियो । 

सरकार आफैंले निर्धारण गरेको प्राथमिकताभन्दा बाहिर गयो भन्ने हो ? 

भ्रष्टाचार, सामाजिक सञ्जालको नियन्त्रण, शिक्षकहरूको सडक आन्दोलनजस्ता कुरामा नीतिगत स्पष्टता देखिएन । शिक्षामा विवाद के हो, कसैलाई थाहा छैन । नीति निर्माणमा दुवै दल मिलेर निजामती सेवामा काम गर्छन्, तर एकले अर्कालाई छल्ने, कर्मचारीतन्त्र हाबी हुने, जवाफदेहिता कम हुने देखियो । विकास निर्माण पनि अपेक्षित रूपमा भएन । दलहरूले बहुमत नपाएको गुनासो गर्छन्, तर दुई दल मिल्दा झन्डै दुई तिहाइ बहुमत थियो । तैपनि सुशासन दिन सकेनन् ।

निर्वाचन प्रणाली वा संविधानमाथि छेडखानी गर्नुको सट्टा, बाटो बनाउन, ढल सफा गर्न नसक्ने क्षमता देखिन्छ । हामी भत्काउनमा बलिया छौं, बनाउनमा कमजोर देखियौं । आठ वर्ष लगाएर संविधान बन्यो, तर यसलाई काम गर्न दिइएको छैन । दलहरूको ध्यान साधन स्रोत र पद बाँडफाँटमा गएको छ । राजकीय संस्थाहरू कमजोर भएका छन् । संवैधानिक आयोगहरूले काम गर्न सकेका छैनन् । ‘तेरो मान्छे, मेरो मान्छे’ को खेलले सैद्धान्तिक मर्ममाथि प्रहार भएको छ । 

संवैधानिक आयोगहरू, न्यायालयको स्वतन्त्रता र निष्पक्षतामाथि समेत पछिल्लो समय प्रश्न उठ्ने गरेको छ । यसलाई कसरी हेर्नुभएको छ ?

संवैधानिक परिषद्मा विपक्षी नेता, न्यायालय, प्रतिनिधिसभा र राष्ट्रिय सभाको प्रतिनिधित्व हुन्छ । परिषद् सन्तुलित र स्वतन्त्र संस्था बनोस् भनेरै यस्तो संरचना बनाइएको हो । तर, अध्यादेशमार्फत यो प्रक्रियालाई खण्डित गरियो । राजकीय संस्थाहरूलाई कब्जा गर्ने मनसायले समस्या सुरु भयो । अदालतले चार वर्षपछि फैसला सुनायो, तर प्रक्रियामा छलफल र सहमति ‘म्यानेज’ गर्नुपर्थ्यो । संवैधानिक प्रावधानमाथि नै आक्रमण भयो । निर्वाचन आयोग, अख्तियारमा आफ्ना मान्छे राखेर प्रतिपक्षलाई दण्डित गर्ने मनस्थितिको बीजारोपण गरियो ।

निर्वाचन आयोग, अख्तियारलगायतमा मैले भनेजस्तो मान्छे लगियो भने प्रतिद्वन्द्वीहरू र प्रतिपक्षलाई दण्डित गर्न सक्छु भन्ने किसिमको मनस्थिति बन्यो । लोकतन्त्रमा पारदर्शिता चाहिन्छ, छलफल गर्न पाउनुपर्छ । संविधान संशोधन गरेर नागरिकको चयनको अधिकार संकुचित गर्नु हुँदैन । संविधान रक्षा गर्न आएकाहरूले नै अनधिकृत शासन गर्न खोज्छन् । राजनीतिक दलहरूले, संसद्ले जे काम गर्‍या छन्, त्यो पारदर्शी हुनुपर्‍यो । त्यसपछि हामीले टीकाटिप्पणी, छलफल गर्न पाउनुपर्‍यो । यदि त्यो होइन भने, अँध्यारोबाटै शासन गर्ने हो भने, लोकतन्त्र सुरक्षित हुँदैन ।

सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न भनेर प्रधानमन्त्रीले आफ्नै अध्यक्षतामा आयोग गठन गर्नुलाई कसरी हेर्नुहुन्छ ?

सुशासनका लागि प्रशासन सुधार आयोगहरू पहिला पनि बन्थे । यो संसद्ले गर्नुपर्ने थियो । संसद््मा हरेक राजकीय संस्थाहरूका प्रतिवेदनहरू आएका हुन्छन् । काम गर्न सक्यो कि सकेन भनेर हेर्न सक्छ । सरकारमाथि जनताको प्रश्नलाई तेर्स्याउने काम संसद्को हो । संसदीय समितिहरू बनाएर, आर्थिक सुधार, प्रशासनिक सुधार वा राजनीतिक सुधारहरू, त्यसको स्थिति के छ भनेर संसद्मा छलफल हुन सक्थ्यो । सुधारका प्रक्रियाहरू अघि बढ्न सक्थे । सरकारको जवाफदेहिता जनतामा छ भने पनि संसद्मार्फत हुने हो । त्यसैले सरकार आफैंले बनाउने प्रतिवेदनमा जवाफदेहिता हुँदैन । सरकारले केही मान्छे राखेर बनाएको आयोगमा पनि हुँदैन ।  

एकातिर प्रधानमन्त्रीको आफ्नै अध्यक्षतामा आयोग गठन हुन्छ, अर्कोतर्फ मन्त्रीहरूको सम्पत्ति विवरण एक वर्षसम्म पनि सार्वजनिक भएको छैन यसलाई कसरी हेर्नुभएको छ ? 

सरकारले आफ्ना संयन्त्रहरू मार्फत सुशासनको काम गर्ने हो । अख्तियार स्वायत्त संस्था हो । त्यहाँ साधन स्रोत छ कि छैन, कस्ता मान्छे छन् हेर्ने हो । अख्तियारको जवाफदेहिता संसद्को सुनुवाइबाट आउँछ तर जवाफदेहिता सरकारमा बस्ने मान्छेसँग भएको छ । किनभने सरकारमा बस्ने मान्छेले उसलाई नियुक्ति गरेको छ । 

परिषद्को सिफारिस र संसदीय सुनुवाइको ‘सिक्वेन्स’ नै भत्काइसकिएको छ । निर्वाचन आयोगमा कसरी नियुक्ति भएको छ ? निर्णय सरकारले गर्छ तर संसद्प्रति जवाफदेही हुनुपर्छ भनेर संविधानमा संसदीय सुनुवाइको व्यवस्था गरेका छौं । संवैधानिक परिषद् सरकारको अंग होइन, राज्यको अंग हो । तीनवटा शक्तिहरू—न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका—को सन्तुलनको कुरा हो ।

यहाँ हामीले एकअर्कामाथि ‘बाउन्ड्रिज’ हरू यता र उता पारिसकेका छौं । सर्वोच्चमा नियुक्ति हुन्छ भन्ने हो भने अमूक पार्टीमा लाइन लाग्न मान्छेहरू पुग्दछन् । न्यायाधीश कानुन र संविधानको पक्षपाती हुनुपर्‍यो । तर, यहाँ दल र व्यक्तिपक्षीय छ भनेर हेरिन्छ । मेरो मान्छे भए मात्रै शासन गर्न सकिन्छ, संस्थाको कब्जा मैले गरें भने मात्रै सुशासन हुन्छ भन्ने ‘डिस्कोर्स’ तिर मुलुक गयो । प्रधानमन्त्रीले आयोग बनाएर हुँदैन । 

दुई दल मिलेर सरकार बन्नुमा संविधान संशोधनको मूल आधार थियो, तर त्यसमा अहिलेसम्म प्रवेश नै भएको छैन नि ?

संविधान संशोधनको कुरा सुगमता वा सजिलोका लागि ल्याइन्छ । ‘संविधानले हामीलाई काम गर्न दिएन, सुशासन गर्न अप्ठ्यारो बनायो’ भन्ने कुरा क्षणिक विश्लेषणमा आधारित छ । संविधानले सघन र समावेशी राज्यको परिकल्पना गरेको छ । आफू नाच्न नजान्ने अनि आँगन टेढो भनेजस्तो, संविधानलाई दोष दिएर सुशासन गर्न केले रोक्यो ? आपसमा छलफल गरेर विरोधाभास र मतभेद कम गर्न, समाजको ध्रुवीकरण घटाउन संविधानले कहाँ रोक्यो ? १० वर्ष भइसक्यो । राजकीय संस्थाहरू प्रयोग गर्दा के–कस्ता समस्या आए, त्यसमा दलहरू सचेत हुनुपर्थ्यो ।

महालेखा परीक्षकले संसद् र सरकारलाई बुझाउने प्रतिवेदनमा बेरुजु र खर्च कटौतीका सुझाव कार्यान्वयन गर्न ठोस कदमहरू के भए ? सर्वोच्च अदालतले न्याय समितिमा वा सरकारलाई बुझाउने प्रतिवेदनमा न्यायिक सुधारबारे संसद्मा बहस भएको छ ? निर्वाचन आयोगले स्वतन्त्र संस्थाका रूपमा सरकारलाई बुझाउने प्रतिवेदनमा के छ ? यी संस्थाहरूले सरकारलाई गतिशील बनाउने, नीतिहरू ल्याउने र संविधानले परिकल्पना गरेको समाजतिर डोर्‍याउने हो । १० वर्ष भइसक्यो, तर जनतालाई यी संस्थाहरूले कसरी काम गर्न सकेनन् भन्ने थाहा छैन । ‘आफ्ना मान्छे’ भर्ने प्रवृत्तिले यी संस्थाहरू कमजोर भए । 

भूराजनीतिक सन्तुलन, विशेषगरी भारत र चीनसँगको सम्बन्धलाई लिएर सरकारको स्थायित्वको प्रश्न जोड्ने गरिएको छ । तपाईंले यसलाई कसरी हेर्नुभएको छ ? 

सबभन्दा ठूलो कुरा, हामी कस्तो छिमेकमा छौं ? छिमेकभन्दा पर क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा हाम्रो नीति कसरी बनाउँछौं ? हाम्रो विचार, दिशा के हो ? भन्ने कुरा हाम्रो परिवेशले निर्धारण गर्छ । तर, लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको हामी आन्तरिक रूपमा कति बलियो छौं ? हामीले जुन प्रणाली र व्यवस्था अंगीकार गरेका छौं, त्यसप्रति हाम्रो प्रतिबद्धता कति छ ? त्यसले धेरै कुरा निर्धारण गर्छ । हामी विदेशी शक्तिहरूलाई देखाएर शासन सत्तामा आउने गर्छौं । राजनीति प्रायः धारणाका आधारमा चल्छ । जस्तो, ‘भारत मेरो पक्षमा छ, तर चीन मेरो पक्षमा छैन’ भन्ने किसिमको धारणाका आधारमा हामी लड्छौं । तर, यसले जनताका भावना, शासन र सुशासनका कुरालाई बेवास्ता गर्छ ।

मुलुकभित्रको राजनीतिक एकता भनेको हामीले बनाएको प्रतिबद्धता हो । हाम्रा राजनीतिक संस्थाहरूप्रति हाम्रो दृष्टिकोण, सार्वजनिक नीति बनाउने तरिका, संविधानप्रति, मुलुकप्रति र जनताप्रति हाम्रो समर्पण कमजोर भयो भने हामी कमजोर हुन्छौं । अनि हामी भन्छौं, बाहिरकाले हामीलाई कमजोर बनायो । यो त हुनै हुँदैन । हामीमा आन्तरिक रूपमा मतभेद भए पनि केही आधारभूत कुरामा राष्ट्रिय सहमति हुनुपर्छ ।

त्यो हो—संविधान र लोकतन्त्र । लोकतन्त्रले सुनिश्चित गरेका, संविधानले दिएका अधिकारहरू हुन् । त्यसलाई हामीले हेरफेर गर्‍यौं भने भित्रैबाट कमजोर हुन्छौं । भित्र कमजोर भएपछि हामी बाह्य राजनीतिलाई आन्तरिक स्वार्थका लागि प्रयोग गर्छौं । यदि बाह्य मुद्दाहरूलाई आन्तरिक राजनीतिको विषय बनायौं भने मुलुक कमजोर हुन्छ । छिमेकीलाई लिएर हामी आन्तरिक रूपमा बाँडियौं भने छिमेकीले कुनै न कुनै रूपमा त्यसबाट फाइदा लिन्छ । भारत कांग्रेस, कम्युनिस्ट पार्टी दुवैको छिमेक हो । यदि भारतलाई हेर्ने दृष्टिकोणमा हामी मुलुकभित्र बाँडियौं भने कमजोर हुन्छौं । सामान्य मतभेद हुन सक्छ, तर छिमेकीलाई आन्तरिक राजनीतिक स्वार्थका लागि प्रयोग गर्‍यौं भने हामी झन् कमजोर हुन्छौं । यसले हाम्रो अन्तर्राष्ट्रिय प्रतिष्ठा र नाम बदनाम गर्छ ।  

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully