१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

‘जो जहाँ फिट हुन्छ त्यहीं बस्ने सबैको समझदारी छ’

काठमाडौँ — एमाले, माओवादी र रास्वपा एक वर्षपछि एक ठाउँमा भएका छन् भने कांग्रेस सरकारबाट बाहिरिएको छ । अघिल्लो वर्ष १० पुसमा बनेको गठबन्धन भत्किएपछि २५ फागुनको राष्ट्रपति निर्वाचनसँगै कांग्रेस र माओवादीबीच नयाँ गठबन्धन बनेको थियो । 

‘जो जहाँ फिट हुन्छ त्यहीं बस्ने सबैको समझदारी छ’

एमाले–माओवादीका दोस्रो तहका नेताहरूका अनुसार प्रधानमन्त्रीमा आलोपालो गर्ने र ०८४ को चुनावमा चुनावी गठबन्धन वा पार्टी एकतासम्म गर्ने विषयमा समझदारी भएपछि नयाँ राजनीतिक ‘कोर्स’ सुरु भएको हो । यही सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना सबै मन्त्रीलाई बिदा गरेर सोमबार एमाले, माओवादी र रास्वपाका एक/एक जना मन्त्री नियुक्त गरेका छन् । एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले बिनाविभागीय मन्त्रीको हैसियतमा शपथ लिएका छन् ।

केन्द्र र प्रदेशका नेतृत्वसहित सबै विषय टुंगो लगाएपछि एमाले, रास्वपा र जसपाका वरिष्ठ नेताहरूलाई उपप्रधानमन्त्रीसहित मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारी छ । जसपा अध्यक्ष उपेन्द्र यादव आफैं सरकारमा सहभागी हुन खोजेकाले पहिलो चरणमा कसैलाई पनि उनले मन्त्री तोकेका छैनन् । उनले उपप्रधानसहित परराष्ट्रमन्त्री लिने समझदारी भएको छ । बदलिएको राजनीतिक परिवेश र सत्ता समीकरणबारे माओवादीका उपमहासचिव वर्षमान पुनसँग गरिएको कुराकानी :

तपाईंकै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्थ्यो । अर्को व्यक्ति प्रधानमन्त्रीका लागि आउने परिस्थिति पनि थिएन । यस्तो बेला एकाएक पुरानो तोडेर नयाँ गठबन्धन गर्नुपर्ने रहर हो वा बाध्यता ?

हामीसँग गठबन्धन गरिरहेको दल कांग्रेससँग कोशीको मुख्यमन्त्री छनोट प्रक्रियामा देखिएको राजनीतिक उतारचढावदेखि नै यो आधार बनाएको थियो । राष्ट्रिय सभाको निर्वाचनको मतपरिणामले त्यसलाई झन् चर्कायो । निर्णायक काम चाहिँ कांग्रेसको महासमिति बैठकमा देखिएको गतिविधिले हो । कांग्रेसको महासमिति बैठकमा उठेका मुद्दाले हाम्रो पार्टीमा हलचल नै ल्यायो ।

संविधान रक्षा र कार्यान्वयनको विषयमा पनि जटिलता देखिन थाल्यो । कांग्रेस पछि हट्न थाल्यो । शान्ति प्रक्रियाको सहयात्री, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न हिँडेकै थियौं । एकपछि अर्को चिसो थपिँदै गएपछि कांग्रेससँग गठबन्धन नगर्ने भन्ने दबाब बढ्यो । माओवादी स्थायी समितिको बैठकमा अब कांग्रेससँग अगाडि बढ्न सकिँदैन भनेर सबैजसोको एकमत रह्यो । यो सबै परिवेशमा प्रधानमन्त्री गर्छु, गर्छु भन्ने तर तीन महिनादेखि सरकारका मन्त्रीहरू पनि फेर्न नसक्ने पृष्ठभूमिमा नयाँ गठबन्धनको वातावरण बनेको हो ।

नयाँ गठबन्धन गर्ने विषयमा खासगरी प्रधानमन्त्रीकै जोडबल हो कि पार्टी स्थायी समितिको ?

अब कांग्रेससँग गठबन्धन नगरौं भनेर हाम्रो स्थायी समिति एकमत भएको हो । सामान्य घटनाक्रमहरू त बढ्दै आएका थिए, तर अलि बढी दबाब स्थायी समितिको बैठक पछि भएको हो । त्यसपछि घटनाक्रमहरू तीव्र गतिले बढेका हुन् ।

सोमबार ४ दलबीच ८ बुँदे सम्झौता भएको छ । जसमा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षबाहेकको पद बाँडफाँटको विषय समावेश छैन । तपाईं सहमति गर्ने–गराउने कार्यदलको सदस्य भएको हिसाबले पनि अब पद बाँडफाँटको विषय कसरी अघि बढ्छ ?

पद बाँडफाँटको विषयमा सामान्य छलफल भएको छ । मंगलबार (आज) मन्त्रालयको बाँडफाँट टुंग्याउँछौं । प्रधानमन्त्रीले सबै दलहरूसँग कुराकानी गरेपछि टुंगिन्छ । मंगलबारसम्म कुन कुन दल सहभागी हुन्छन् भन्ने निश्चित हुन्छ । त्यसपछि मन्त्रिपरिषद विस्तार हुन्छ र हामी काममा जान्छौं । हामीलाई ढिलो गर्नु छैन, काम गर्नु छ । कामका लागि यो गठबन्धन बनाएको हो । सेवा प्रवाह गर्ने, विकास गर्ने, समृद्धिका एजेन्डामा काम गर्ने गरी यो गठबन्धन बनेको हो । प्रधानमन्त्रीले काम गर्न पाइनँ, काम गर्ने टिम भएन भनेपछि यो गठबन्धन बनेको हो ।

यो गठबन्धन बनेसँगै माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आलोपालो नेतृत्वको समझदारी बनेको जस्तो देखिन्छ । तर कहिले र कति कति समय नेतृत्व गर्ने भन्ने विषय सार्वजनिक भएको छैन । उहाँहरूले कति कति समय नेतृत्व गर्ने गरी सहमति अघि बढेको हो ?

उहाँहरूको तहमा मात्रै थाहा छ । हामीलाई थाहा छैन । तर मुख्य गरी राजनीतिक स्थायित्व दिने, सेवा प्रवाह गर्ने, काम गर्ने, विकास गर्ने भन्ने मूल उद्देश्य हो ।

तपाईं यो समीकरणका लागि नजिकबाट भूमिका खेल्नुभएको व्यक्ति हो । त्यसकारण केही अनुमान त हुन सक्छ नि ?

आलोपालो नेतृत्व गर्ने भन्ने सामान्य कुरा हो । तर यसमा मौखिक सहमतिबाहेक ठोस सहमति बनिसकेको छैन । ठ्याक्कै यति समय, यसले काम गर्ने भन्ने भएको छैन । उहाँहरूबीचको विश्वासको तहमा मात्रै राखिएको छ ।

गृह मन्त्रालयको विषयमा के समझदारी भएको छ ? यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको दाबी देखिन्छ । खासमा कसले नेतृत्व गर्छ गृह ?

मैले अघि पनि भने, मन्त्रालयको बाँडफाँटको विषयमा प्रवेश नै भएको छैन । मन्त्रालयको बाँडफाँटको विषय प्रवेश नगरेकैले तीन जना मन्त्रीहरूलाई बिनाविभागीयका रूपमा शपथ गराएको हो । भोलि (मंगलबार) मात्रै मन्त्रालय बाँडफाँटको विषय टुंगोमा पुगिन्छ ।

पुरानो गठबन्धन भत्काउन र नयाँ बनाउन तीन महिनादेखि तपाईंले नै मुख्य गृहकार्य गर्नुभएको भन्ने छ । सहमति गर्ने/गराउने कार्यदलमा पनि तपाईं नै हुनुहुन्छ । छलफलमा पनि तपाईं नै हुनुहुन्छ । तर कुनै पनि विषय थाहा छैन, कुनै सहमति भएको छैन भन्नुहुन्छ । थाहा नभएकै हो र ?

सामान्य सहमति भएको छ । तर अर्को पक्षले कुनै अडान र आफ्नो दाबी प्रस्तुत नगरिसकेको हुनाले यस्तो होला, उस्तो होला भनेर अनुमान मात्रै गर्न भएन । अहिले हामीले नीतिगत विषयमा मात्रै काम गरेका हौं । प्राविधिक मुद्दा आपसी समझदारीमा टुंगिन्छ । काम गर्ने खालको टिम बनाउने भन्ने सबै दल र साथीहरूबीचको साझेदारी बनिसकेको हुनाले प्राविधिक विषय टुंगोमा पुग्न बाँकी नै छ ।

काम गर्ने भन्ने विषय उठाउनुभयो । यसभन्दा अघि पनि तपाईंहरूकै मन्त्री थिए । प्रधानमन्त्री र तपाईंहरूले कांग्रेसबाट अर्थमन्त्री भएका प्रकाशशरण महतलाई बढी दोष देखाउनुभएको छ । उहाँकै कारण काम गर्न नसकेको हो र ?

गइसकेको गठबन्धन र गइसकेका मन्त्रीहरूका बारेमा अहिले के कुरा गर्नु ? टिप्पणी नगरौं जस्तो लाग्छ । कसले के के काम गर्‍यो वा गरेन भन्ने विषय सबैलाई थाहै छ नि ।

अबको अर्थमन्त्री चाहिँ तपाईं भन्ने अनुमानहरू आइरहेका छन् । खास के हो ?

मन्त्रालय र मन्त्रीहरूको विषयमा अहिलेसम्म केही पनि थाहा छैन । मेरो व्यक्तिगत रूपमा केही पनि कुरा भएको छैन । अहिले गठबन्धनको मुख्य काम सेवा प्रवाह हो । जनतालाई आशा जगाउने भन्ने हो । जनतामा आशा जगाउन सकिएन भने व्यवस्थाप्रति नै प्रश्न उठ्छ भन्ने हो ।

परिवर्तनको मुख्य वाहकमध्येको पार्टी माओवादी हो, नेतृत्व पनि माओवादीकै रहेकाले हाम्रो बढी चिन्ता कसरी आशा जगाउने भन्ने हो । देशभित्रै कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने हो । साँच्चिकै काम गरेर परिवर्तन गरेर आशा जगाउने भन्ने हो । जो जहाँ फिट हुन्छ त्यहीं बस्ने भन्ने समझदारी हो ।

प्रकाशित : फाल्गुन २२, २०८० १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?