'के कुरा भुल्न हुँदैन भने पार्टीको संगठित भोटभन्दा बाहिर पनि ठूलो पंक्ति छ । उहाँहरूलाई आर्कषित गर्ने भनेको एजेन्डाले हो र त्यसलाई कार्यान्वयन गर्न सक्ने उम्मेदवारले हो । त्यस हिसाबले त झन् हामी निकै अगाडि छौं । गठबन्धनका तीनै जना उमेदवार (दुई प्रदेशसहित) युवा र आर्कषक उम्मेदवार छौं ।'
काठमाडौँ — आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि देशभर अधिकांश पुरानै नेताहरूलाई उम्मेदवार बनाएको सत्ता गठबन्धनले काठमाडौं क्षेत्र नं ७ मा भने पूर्वविद्यार्थी नेता ३६ वर्षीया मानुषी यमि भट्टराईलाई उम्मेदवार बनाएको छ । माओवादी छाडेपछि नयाँ शक्ति, जनता समाजवादी पार्टी हुँदै नेपाल समाजवादी पार्टीमा संगठित रहेकी मानुषी यसपटकको निर्वाचनमा भने माओवादी केन्द्रको तर्फबाट गठबन्धनको साझा उम्मेदवार बनेकी छन् ।
बाबुराम भट्टराई र हिसिला यमिकी छोरीसमेत रहेकी मानुषीको यो पहिलो संसदीय निर्वाचन पनि हो । मानुषीको चुनावी अभियानसँग जोडेर भावी योजना र अपेक्षालगायत विषयमाथि गरिएको संक्षिप्त कुराकानी :
मतदातासँग भेटघाटमा हुनुहुन्छ उनीहरूको कस्तो अपेक्षा पाउनु भयो ?
विकास निर्माण, भौतिक पूर्वाधार, सडक, खानेपानी, शिक्षा स्वास्थ्य सुशासन, रोजगारी नै मतदाताको मुख्य चासोका विषय छन् । अव्यवस्थित सहर, सहरभित्र हुनुपर्ने सामान्य सुविधाहरू पनि नभएको, खुला स्थान सबैको पहुँचमा नभएको गुनासो छ । धेरै युवाहरूको चासो चाहिँ देशमै रहने वातावरण बन्छ कि बन्दैन ? बन्छ भने कहिलेबाट बन्छ भन्ने रहेको छ । हामीले चुनावमा मत माग्दै हिँड्दा हाम्रो राजनीतिक प्रणालीबारे बुझाउने काम पनि गरेका छौं ।
मतदाताले राखेका अपेक्षामध्ये कतिपय स्थानीय तहबाटै समाधान हुने खालका पनि छन् । कतिपय प्रादेशिक र कति संघीय तहबाट मात्रै सम्भव हुन्छ । हाम्रो मतदाता भेटघाट र घरदैलो मतदाता शिक्षा जस्तो पनि भइरहेको छ । तीन वटै तहका सरकारको समन्वय र नेतृत्व गर्न हामी सक्छौं भन्ने विश्वास दिलाएका छौं । निवार्चित भएर गएपछि स्थानीय तह र प्रदेश तहको कामलाई पनि टेवा दिने र संसद्बाट गर्नुपर्ने योजनाहरू पनि अघि बढाउने प्रतिबद्धता जनाएका छौं । युवाहरूका लागि उद्यमशिलता विकास गर्ने वातारण बनाउने योजना अघि सारिएको छ । सुशासन कायम गर्न कागजरहित सेवाप्रवाह चुस्त तुरुस्त बनाउने बाचा गरेका छौं । मतदाताले राखेका गुनासो टिपोट गर्दै राखेका छौं । त्यसलाई क्रमशः समाधान गर्नेछौं ।
एमालेले पटक–पटक निर्वाचन जितेको क्षेत्रमा उमेदवार हुनुहुन्छ ? कति चुनौती छन् ?
एमाले उम्मेदवार पनि यही क्षेत्रको हुनुहुन्छ । म पनि यही क्षेत्रको हुँ । म क्षेत्र नम्बर ७ को एउटा कुनामा उहाँ अर्को कुनामा जन्मनु भएको हो । म जन्मेहुर्केको ठाउँको जनताले मलाई पनि माया गरिराख्नु भएको पाएको छु । जहाँसम्म संगठित मतको कुरा गर्नु भएको छ । त्यो आ-आफ्नो पार्टीमा स्वभाविक रुपमा सबैको छ । त्योभन्दा पनि महत्त्वपूर्ण कुरा गठबन्धनको मत सबैभन्दा बलियो छ । अर्कोतर्फ मेरो प्रतिस्पर्धी मत विभाजित हुने दृश्य पनि देखिएको छ ।
बागी उम्मेदवार (रामबीर मानन्धर) हुनुहुन्छ । यसकारणले प्रतिकूलताभन्दा अनुकुलता बढी छ । गठबन्धन सँगसँगै हामीलाई बाहिरको मत पनि प्राप्त हुँदैछ । के कुरा भुल्न हुँदैन भने पार्टीको संगठित भोटभन्दा बाहिर पनि ठूलो पंक्ति छ । उहाँहरूलाई आर्कषित गर्ने भनेको एजेन्डाले हो र त्यसलाई कार्यान्वयन गर्न सक्ने उमेदवारले हो । त्यस हिसाबले त झन् हामी निकै अगाडि छौं । गठबन्धनका तीनै जना उमेदवार (दुई प्रदेश सहित) युवा र आर्कषक उम्मेदवार छौं ।
गठबन्धनको साथ र सहयोग चाहिँ कस्तो पाउनु भएको छ नि ?
राम्रो सहयोग पाएको छु । कांग्रेसको नेतृत्वदेखि तल कार्यकर्ता तहसम्मको साथ पाएको छु । गठबन्धनभित्र पनि सम्बन्ध सुमधुर बनाउने काम पनि भइरहेको छ । एकै पटक माथिबाट थुपारेर ग्रहण गर्ने भन्ने खालको हुँदैन । विश्वासको वातावरण बनाउने, गठबन्धन केका लागि भनेर बुझाउने काम गरेका छौं ।
पात्रहरू उमेदवार कसरी बने भन्ने त चान्सको कुरा पनि हो । धेरैले भोलिका दिनमा पक्षपात, भेदभाव हुन्छ कि भन्ने आशंका पनि गर्नु भएको छ । मंसिर ४ पछि के होला ? प्रश्नहरू पनि छन् । मैले गठबन्धन दल कांग्रेस, माओवादी, एकीकृत समाजवादीका मतदातालाई ढुक्क र विश्वस्त पार्ने काम पनि गरिराखेको छु । हाम्रो उद्देश्य मंसिर ४ सम्मको लागि मात्रै होइन । विकास, सुशासन र स्थिरताको निम्ति यो गठबन्धन जारी नै रहन्छ । मिलेर काम गर्नुपर्छ भनेर प्रतिबद्ध छु । त्यसका लागि सक्दो प्रयास र मिहिनेत पनि गर्छु ।
यो क्षेत्रमा दलका भन्दा स्वतन्त्र उमेदवारहरू धेरै हुनुहुन्छ । तपाईंले पाउने मत बाँडिदैन ?
लोकतन्त्रमा धेरैभन्दा धेरै प्रतिस्पर्धी हुनु सुन्दर पक्ष हो । कुन उद्देश्य र लक्ष्यका साथ आएका हुन् भन्ने चाहिँ प्रमुख हुन्छ । एउटै मिसन बनाउन सक्ने अवस्था रहँदा रहँदै विभाजित हुँदा राम्रो संकेत र सन्देश दिन्छ जस्तो लाग्दैन । त्यसले जनतालाई आर्कषित गर्छ जस्तो मलाई लाग्दैन । जनताको आँखाबाट हेर्दा आर्कषण र सार्न्दभिक पनि देखिन्नु पर्यो नि ! त्यसैले पनि स्वयं हामी विकल्प भएर आएका छौं । गठबन्धन भित्रैबाट सहीलाई सही र गलतलाई गलत भन्न सक्ने पुस्ता आए पनि विकल्पमा हामी नै भएका छौं ।
स्वतन्त्रका साथीहरूका लागि यो नेतृत्व विकास गर्ने अवसर पनि हो । एजेन्डा हेरेर मतदान गर्न म मतदाताहरूलाई आग्रह गर्छु । मेरो एजेन्डा पूरा गर्न म सक्षम र योग्य पनि छु । प्रतिबद्धता पत्र त धेरैले लिएर आउँछन् । कागजमा राम्रा-राम्रा कुरा हुन्छन् । परिणाममा उतार्न सक्ने गठबन्धनका उमेदवार मात्रै छन् । हाम्रो टिमले त्यो सामर्थ्य राख्छ ।
तपाईंका एजेन्डा के–के छन् त ?
हामीले १२ वटा साझा संकल्प सार्वजनिक गरेका छौं । शिक्षा, स्वास्थ्य, सुशासन, भौतिक पूर्वाधार, सम्पादाको संरक्षण र प्रवर्द्धन, युवा, खेलकुद तथा रोजगार, आत्मनिर्भर अर्थतन्त्र, कृषि तथा पशुपालन, सामाजिक न्याय तथा सुरक्षा र विपद् व्यवस्थापनसम्म हाम्रा एजेन्डा केन्द्रित छन्।
प्राविधिक र व्यवाहारिक सीपयुक्त शिक्षा सरकारी स्कुलमै प्रदान गर्ने संकल्प गरेका छौं । लगानीमैत्री वातारण बनाउँदै आत्मनिर्भर अर्थतन्त्र बनाउने उद्देश्य छ । जनतालाई सस्तो, भरपर्दो, गुणस्तरीय स्वास्थ्य सेवा दिने योजना बनाएका छौं । कृषि र पशुपालनमा प्रोत्साहन कार्यक्रम संचालन गर्ने, पारदर्शी, विभेदरहित र भ्रष्ट्राचारमुक्त सेवा सञ्चालन गर्ने एजेन्डा उठाएका छौं ।
सामाजिक न्याय र महिला सुरक्षाका सवाल, व्यवस्थित भौतिक पूर्वाधार, विपद् व्यवस्थापनका लागि चुस्त संयन्त्र निर्माण गर्ने योजना अघि सारेका छौं । मौलिक सम्पदाहरूको जगेर्ना, सुन्दर सहर बनाउने, रोजगार, उद्यामशीलता विकास गर्ने र विज्ञहरूको मार्गनिर्देशनमा नीति निर्माण गर्ने संकल्प गरेका छौं ।
