नसोचेका नेताहरूले पनि उम्मेदवारी घोषणा गरी प्रचार सुरु गर्नुभएको छ : सुब्बा

काठमाडौँ — नकेपा (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचनको तयारी भइरहेको छ । शुक्रबार उद्घाटन भएको महाधिवेशनमा शनिबार बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रबाट नयाँ नेतृत्व चयनको तयारी भइरहेको छ । 

नसोचेका नेताहरूले पनि उम्मेदवारी घोषणा गरी प्रचार सुरु गर्नुभएको छ : सुब्बा

सौराहामा शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकले एमालेको विधान महाधिवेशनबाट तयार पारिएको विधानलाई संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्ने एवं पोलिटब्युरोको व्यवस्था थप गरेको छ ।

यसरी विधान संशोधनको प्रस्ताव आएपछि नेतृत्व चयनका लागि हुने निर्वाचन पनि प्रभावित भएको छ । यसबैबारे एमालेको निर्वाचन आयोगका प्रमुख विजय सुब्बासँग कान्तिपुरका लागि मणि दाहालले गरेको कुराकानीः

निर्वाचन हुन्छ कि सहमति हुन्छ जस्तो लाग्छ ?

पदाधिकारीमा सहमति र केन्द्रीय सदस्यहरुमा निर्वाचन हुन्छ जस्तो लाग्छ । नेताहरूले प्रचार प्रसार सुरु गरिसक्नु भएको छ । तर यस्तो होला भनेर भन्न सकिँदैन किनभने भीम रावलले उम्मेदवारी घोषणा गर्नुभएको छ । केन्द्रीय सदस्यको चुनाव हुनुसक्छ ।

केन्द्रीय सदस्यमा कति जना उम्मेदवार होलान् भन्ने अनुमान गर्नु भएको छ ?

हामीले कम्तीमा दोब्बर उम्मेदवार हुन्छ भनेर आवश्यक तयारी गरेका छौं । कतिपय नसोचेका साथीहरूले पनि केन्द्रीय सदस्य उठ्छु भनेर प्रचार गर्न सुरु गर्नुभएको छ । अहिले सन्देश आउने क्रम जारी रहेको छ । म्यासेन्जर, फेसबुक र ट्विटरसहित सबै प्रकारको माध्यमको प्रयोग गरिरहनु भएको छ ।

निर्वाचन कार्यक्रम सञ्चालनक लागि सबैभन्दा ठूलो चुनौति के हो ?

हामीले सबै पदका लागि चुनावको व्यवस्था गरेका छौं । इलेक्ट्रोनिक भोटिङ मेसिन सबै पदका लागि तयार पारेका छौं । यसको सबैभन्दा ठूलो चुनौती भनेको समयको हो । हामीले निर्वाचनको लागि विभिन्न तालिका तयार पारिसकेका छौं । त्यसलाई मूल व्यवस्थापन समितिसँग मिलाएर फाइनल गर्नेछौं । उम्मेदवारको अन्तिम नामावली आइसकेपछि सबैभन्दा बढी समय भोटिङ मेसिनमा सेट गर्नका लागि लाग्छ ।

हामीले ९२ वटा भोटिङ मेसिन प्रयोग गर्छौं । समयमा केही ब्याकअप र केही बाहिर डेमोस्ट्रेसनका लागि त्यसैले सबै मेसिनमा उम्मेदवारको सूची राख्नुपर्छ । एक ठाउँमा तयार पारे पनि सबै मेसिनमा सेट गर्नुपर्छ । सबैभन्दा बढी समय त्यसमा लाग्छ । त्यसका लागि प्राविधिक टिमले २५ - ३० घण्टाको समयमा माग गरेको थियो । त्यसलाई रातभर गरेर तयार पार्ने र तयार पारेको २ घण्टाभित्र मतदान सुरु गर्ने योजना छ । प्राविधिक टिमले कति समयमा सक्छ त्यसमा धेरै कुरा निर्धारण हुन्छ ।

एक जना मतदाताले उम्मेदवारलाई मतदान गर्नका लागि औषतमा कति समय लाग्छ ?

अहिले २३ सयभन्दा बढी प्रतिनिधिहरू हुनुहुन्छ । ९२ वटा भोटिङ मेसिन हुँदा एउटामा २३ - २४ जना प्रतिनिधिहरू पर्न आउन सक्छन । हामीले एक जनालाई मतदान गर्नका लागि अधिकतम समय आधा घण्टा लाग्छ भन्ने छ । त्यसैले सबै मतदाताले बढीमा १२ घण्टामा मतदान सकिसक्नु हुन्छ । त्यसपछि मतदान सकिएको मुचुल्का र गणनाको मुचुल्कासहित कानुनी प्रक्रिया मिलाउनु पर्ने हुन्छ । गणनाका लागि धेरै समय लाग्दैन । परिणाम दिनका लागि ४ घण्टा जति लाग्छ कि भन्ने अनुमान छ ।

मतदानका लागि ५० वटा पेज हुन्छ । अध्यक्ष एक पेज, वरिष्ठ उपाध्यक्ष एक पेज, महासचिव, उप महासचिव हुँदैन जान्छ । अध्यक्षमा एक मत दिने बित्तिकै पेज आफैं वरिष्ठ उपाध्यक्षमा सर्छ । मत नदिइ पनि आफैंले पनि सार्नु सकिन्छ । धेरै पद भएको पदमा सबैलाई मत नदिइ पनि सार्न सकिन्छ तर बढी मत भने दिन पाइँदैन ।

चुनाव गराउनका लागि कति जनशक्ति परिचालन गर्दै हुनुहुन्छ ?

हाम्रो माग प्रत्येक भोटिङ मेसिनमा एक जना राख्नुपर्छ भन्ने थियो । कुनै पनि विषयमा मतदातालाई चाँडो रेस्पोन्स दिन सकियोस् र काम गराइमा पनि छरितोपन आओस भनेर । व्यवस्थापनको अन्य कारणले हामीले मागेको जति जनशक्ति पाएनौं । आयोगमा मसहित १५ जना र यसको अतिरिक्त अर्को १५ जना हामीलाई छुट्टाइएको छ । त्यसका लागि अन्य थप मानिस चाहिन्छ तर राति यहाँ नबस्ने गरी स्थानीय कानुन व्यवसायीहरूलाई हामीले मागेका छौं । त्यो व्यवस्थापन हुन्छ ।

प्रकाशित : मंसिर ११, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?