कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘सतर्क नभए दसैंमा झन् जोखिम’

'चाडबाडका बेला बाहिर रहेका परिवारका सदस्य र आफन्त पनि घरमा पुग्छन् । यसले संक्रमण बढाउन सक्छ । त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने हाम्रो सचेतनामा भर पर्छ ।'
जनकराज सापकोटा

काठमाडौँ — कोरोना संक्रमण नियन्त्रणका लागि रक्षामन्त्रीको संयोजकत्वमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) छ ।

‘सतर्क नभए दसैंमा झन् जोखिम’

यसका सचिवालय संयोजक महेन्द्रप्रसाद गुरागाईंसँग संक्रमणको आसन्न प्रवृत्ति र जोखिमहरुमा केन्द्रित रहेर जनकराज सापकोटाले गरेको कुराकानीका सम्पादित अंश :

सरकारले सार्वजनिक यातायात र व्यापार व्यवसायमा लगाएको अधिकांश प्रतिबन्ध फुकुवा गर्‍यो । सीसीएमसीमा बसेर हेर्दा कोरोना संक्रमण नियन्त्रणमा आजसम्म हासिल गरिएका मुख्य उपलब्धि के हुन् ?

संक्रमणको संख्या पहिलाभन्दा बढेको छ । संक्रमण नियन्त्रण गर्न बीचमा केही समय लकडाउन र निषेधाज्ञा जारी भयो । पहिलेदेखि नै खुला राखिराखेको भए योभन्दा बढी मृत्यु हुन सक्थ्यो भन्ने हाम्रो अनुमान हो । देशभरि स्वाब संकलन केन्द्रको विस्तार यही बीचमा भयो । उपचारका निम्ति सामान बीचमा केही समय अभाव भए पनि अहिले त्यस्तो अवस्था छैन ।

धेरैजसो आदेश फुकुवा भएसँगै संक्रमण नियन्त्रणमा सीसीएमसीका प्राथमिकता पनि अब बदलिन्छन् ?

अबका दिनमा संक्रमण कसरी देखिन्छ भन्नेबारे अध्ययन त हामीले गरिराख्छौं । थप जटिलतातर्फ गयो भने फेरि ब्रेक लगाउनुपर्ने हुन सक्छ । स्वास्थ्य मन्त्रालयले विज्ञसँग बसेर तथ्यांक विश्लेषण गरेपछि केही निर्णय लेला । भोलि अरू जिल्ला खुल्ने तर काठमाडौं नखुल्ने पनि हुन सक्छ । लामो दूरीका यातायातलाई हाईवेमा गुड्न दिने तर बीचमा कतै रोक्न नदिने व्यवस्था हुन सक्छ अथवा निषेध गरिएका जिल्लामा यात्रु लैजान नपाइने खालको नियम पनि बन्न सक्छ । स्थिति विश्लेषण गर्दै अगाडि बढ्नुपर्ने अवस्था आउन सक्छ ।

हामीले के–केमा सतर्कता अपनाउँदै अगाडि बढ्नुपर्छ ?

स्वास्थ्य मन्त्रालयले भनेकै कुरा हुन् । एसएमएस अर्थात् सेनिटाइजर प्रयोग गर्ने वा हात धुने, मास्क लगाउने र सामाजिक द्रूी कायम गर्ने व्यवहार अपनाउनुपर्‍यो । अर्को भनेको तीनवटा ‘भ’ अर्थात् भीडभाडमा नजाने, भेन्टिलेसन नभएको कोठामा धेरैबेर नबस्ने र भौतिक दूरी कायम गर्ने भनिएको छ ।

सीसीएमसीले देखेका आसन्न जोखिम के–के हुन् ?

जोखिमहरू स्थान विशेषमा फरक हुने देखिन्छ । भारतमा संक्रमणको दर धेरै बढेको हुनाले उताबाट आउने मानिसलाई नियन्त्रण गर्ने भन्ने छ । बोर्डर क्षेत्रमा होल्ड गराएर, उनीहरूको पीसीआर परीक्षणपछि मात्रै गन्तव्यमा जान दिने भन्ने कुरा छ । त्यसलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्नुपर्ने देखिन्छ । खुला नाका भएकाले मानिस छिरिरहेका छन् भनिन्छ । त्यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले मात्रै सकेन भने नाकामा गाउँपालिकाहरूले पनि समन्वयको भूमिका गर्नुपर्ने हुन्छ ।

भारतबाट आउनेहरू जोखिमको मुख्य स्रोत हुन सक्छन् । दसैंमा बूढापाकासँग टीका थाप्ने चलन छ । टीका लगाउने अभ्यासले पनि जोखिम बढाउने देखिन्छ । चाडबाडका बेला बाहिर रहेका परिवारका सदस्य र आफन्त पनि घरमा पुग्छन् । यसले संक्रमण बढाउन सक्छ । त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने हाम्रो सचेतनामा भर पर्छ ।

पछिल्ला दिन राजधानीमा संक्रमण व्यापक भएको देखिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?

उपत्यकाको हकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कन्ट्याक्ट ट्रेसिङ गर्ने भनिरहेको छ । स्वास्थ्य मन्त्रालयले थोरै मोडालिटी चेन्ज गरेको हुनाले यसबारे मन्त्रालयमा नै सोध्नुपर्ला । लक्षण भयो भने मात्रै परीक्षण गर्ने र निजी खर्चमा पीसीआर गर्नेजस्ता प्रोटोकलका विषय स्वास्थ्य मन्त्रालयले बनाएको छ । त्यो कुन योजनाअनुसार कसरी भनिएको हो, जानकारी भएन ।

अहिले सीसीएमसीले के काम गरिरहेको छ त ?

सीसीएमसीले सबै काम गर्दैन तर सबै कुरा हेर्छ र संयोजनको काम गर्छ । सबै मन्त्री सम्मिलित निर्देशक समितिको बैठकमा तथ्यांक विश्लेषण गरेर देखिएका कुरा बताउँछौं । त्यसैका आधारमा केही गर्नुपर्ने भए मन्त्रिपरिषद्बाट निर्णय गर्ने अहिलेको अभ्यास हो । सीसीएमसी सोझै अपरेसनमा गएको छ । हामीले ठ्याक्कै यही गर्ने भन्नेमा छैनौं । अहिले कहाँ–कहाँ बिरामीको स्थिति कस्तो छ, संक्रमणको संख्या कति पुग्यो, कतिको स्वाब संकलन भयो भन्नेजस्ता तथ्यांक जिल्लाबाट सोझै आउने व्यवस्था मिलाएका छौं ।

भेन्टिलेटर, आईसीयू र अक्सिजनको पर्याप्तताबारे पनि प्रश्न उठ्ने गरेको छ नि ?

म त स्वास्थ्यको मान्छे परिनँ । भेन्टिलेटरभन्दा पनि आईसीयू र अक्सिजनमा बढी प्राथमिकता दिनुपर्ने रहेछ यो रोगमा । अक्सिजनको पर्याप्तताका लागि स्वास्थ्य मन्त्रालयले सबै प्रदेशमा प्लान्ट राख्ने योजना बनाइरहेको छ । भेन्टिलेटर भनेको त अन्तिम अवस्थामा मात्रै प्रयोग गर्ने हो । भेन्टिलेटरमा चढाइसकेपछि निको हुने साह्रै कम हुँदा रहेछन् । तर अहिले जति छन्, त्यति भेन्टिलेटर पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

सीसीएमसीले गरेको एउटा अध्ययनले भारतबाट फर्किएका नेपाली जुन–जुन गन्तव्यमा पुगेका छन्, तिनै ठाउँमा संक्रमणको दर उच्च भएको देखाएको रहेछ । यसबारे केही बताइदिनुहुन्छ कि ?

त्यो स्वाभाविक पनि हो । भारतका विभिन्न स्थानबाट आएकाहरूबाटै यता संक्रमण सर्ने जोखिम रहन्छ । सुरुमा संक्रमण उच्च देखिएका पर्सा, बाँके, महोत्तरीजस्ता जिल्लामा संक्रमण घटेको छ । अहिले संक्रमण काठमाडौंमा बढिरहेको छ । तराईका जिल्लामा संक्रमण बढेका बेला त्यहाँबाट मानिस काठमाडौं आए अनि यहाँ पनि संक्रमण बढ्यो । निषेधाज्ञा भएर पसल बन्द गरे पनि वल्लो घर पल्लो घरको मान्छे जम्मा हुने क्रम रोकिएन । मास्क लगाएको छ तर त्यो घाँटीमा झुन्डिएको छ । बन्द गरे पनि मानिसहरू समूहमा बस्ने काम भइराख्यो ।

तपाईंहरूले उपत्यकामा सर्वसाधारणले मास्क प्रयोग गर्ने, दूरी कायम गर्नेजस्ता गतिविधि कत्तिको गरेको देख्नुहुन्छ ?

हामी त त्यसरी बाहिर हिँड्दैनौं । अफिस–घर आउजाउ मात्रै हुन्छ । गाडीमा हिँड्दा बाहिर त्यति भीडभाड देखिँदैन । मिलेकै जस्तो देखिन्छ ।

तपाईंहरूलाई विभिन्न निकायबाट यसबारे रिपोर्टिङ हुन्छ होला नि त ?

गल्ली सडकहरूको गतिविधिको डिटेल रिपोर्ट छैन । गल्ली सडक त काठमाडौंमा कति छन् कति नि ! भित्री सडकमा न हामी पुगेका छौं, न त्यहाँको रिपोर्ट ल्याउने मेकानिज्म हुन्छ । कहीं जोखिम देखियो भने स्वास्थ्य विभागअन्तर्गतको ईडीसीडीले कन्ट्याक्ट ट्रेसिङ गरिहाल्छ ।

कतिपयले आशंका व्यक्त गरेजस्तो कोरोना नियन्त्रण सरकारको बुताभन्दा बाहिर गएको हो ?

त्यस्तो त होइन । काठमाडौंमा औसतमा दैनिक ६ सयजति संक्रमित पुष्टि हुनु भनेको संक्रमणको फैलावटका हिसाबले धेरै भए पनि कुल जनसंख्याका हिसाबले धेरै होइन । यो कन्ट्रोलबाहिरको कुरा होइन ।

प्रकाशित : आश्विन २, २०७७ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?