कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘काठमाडौंवासीले हेलचेक्‍य्राइँ गरिरहेका छन्’

'संक्रमण समुदायमै गएर अलि बूढापाका, दीर्घरोगी, प्रतिरोधक क्षमता कम भएकालाई भेट्यो भने त मृत्युदर बढ्न सक्छ । हाल काठमाडौंवासीलाई ‘फल्स एस्योरेन्स’ भएको हुन सक्छ । काठमाडौंवासी कोरोना संक्रमणको प्रभावबारे हेलुसिनेसन (भ्रम) मा छन् ।'
अतुल मिश्र

काठमाडौँ — मुलुकमा कोभिड–१९ संक्रमण तीव्र गतिले फैलिरहेको छ । तर राजधानीमा संक्रमित थपिइरहँदा पनि घर बाहिर निस्कनेहरूले स्वास्थ्य सुरक्षामा बेवास्ता गरेको देखिन्छ ।

‘काठमाडौंवासीले हेलचेक्‍य्राइँ गरिरहेका छन्’

यसै सन्दर्भमा संक्रमणको अवस्था, जोखिम र स्वास्थ्य सतर्कतालगायत विषयमा स्वास्थ्य मन्त्रालयका इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेसँग कान्तिपुरका अतुल मिश्रले गरेको कुराकानी :

काठमाडौंमा कोरोना संक्रमणको स्थिति कस्तो छ ?

संक्रमण बढ्ने क्रममै छ । काठमाडौंमा लकडाउनपछि आज मंगलबारसम्म १ सय १७ जना संक्रमित भइसकेका छन् । मंगलबार पनि १६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा संक्रमण देखिएका मध्ये बढी होल्डिङ सेन्टरमा बस्नेहरू हुन् । मुलुक बाहिरबाट उडेर वा गुडेर राजधानी आउनेहरूमा संक्रमण बढी देखिएको हो ।

मुलुक बाहिरबाट राजधानी आउनेमा बढी संक्रमण देखिनुको कारण के हो ?

हाम्रो मुख्य समस्या होल्डिङ सेन्टर र क्वारेन्टाइनमा छ । विदेशबाट आउने पनि छन्, भारतबाट आउनेहरू पनि छन् । ठूलो संख्यामा विदेशबाट हवाईजहाजबाट आउनेहरू छन् । कुवेतबाट आउने १४–१५ जना जतिलाई मैले देखें । दक्षिण भारतबाट आउनेहरू पनि छन् । गोरखपुर, भारत गएर एउटै गाडीमा आउने प्रहरी, सेना संक्रमित भए । अस्पतालमा अप्रेसन गर्न गएका बेला पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो । संक्रमित भएकाहरू काठमाडौं बसेका तर घर स्थायी ठेगाना बाहिर छ तर काठमाडौं भन्ने गरिएको छ किनभने संक्रमणको पहिचान यहाँ जाँचेर भएको हो ।

होल्डिङ सेन्टरमा कस्तो समस्या छ ?

होल्डिङ सेन्टरमा सबैलाई सँगै राखिन्छ । यसो गर्नु हुँदैन । कसैलाई लक्षण देखियो भने तुरुन्त आइसोलेसनमा राखेर उपचार सुरु गर्नुपर्‍यो र अर्को समूहमा आउने व्यक्तिको परीक्षण प्रक्रिया थाल्नुपर्‍यो । होल्डिङ सेन्टर र क्वारेन्टाइनमा निगरानी केन्द्रित हुनुपर्‍यो ।

विदेशबाट आउन त पीसीआर परीक्षण गरेर कोरोनामुक्त भएको हुनुपर्छ नि, होइन ?

विदेशबाट कोही आरडीटी परीक्षणमात्र गरेर, कोही पीसीआर परीक्षण गराएर आउने गरेका छन् । कोही सर्टिफिकेटमात्र लिएर आउँछन् ।

लक्षण नभएका संक्रमितले पनि समस्या भएको हो ?

अर्को मुख्य समस्या भनेको एसिम्प्टोम्याटिक (लक्षण नदेखिने संक्रमित) को ठूलो समूह देखियो । राजधानीमात्र नभई देशभरमा लक्षण नदेखिने संक्रमित ठूलै समस्या हो । लक्षण नभएका व्यक्तिले रोग सार्दियो भने अरूलाई थाहा हुने कुरै भएन । यो कुरा ख्याल गर्नुपर्छ ।

समुदायमा संक्रमण फैलिएको छ कि छैन ?

स्थानीय संक्रमण भनेको बाहिरबाट आएर अरूलाई सार्नु हो । समुदायका केही व्यक्तिमा संक्रमण देखिएको छ । यस्तो छिटपुट केसलाई समुदायको संक्रमण भन्न सकिँदैन । विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार यस्ता एक/दुईवटा फाट्टफुट्ट देखिएका केसलाई संक्रमण समुदायमा गएको भन्न मिल्दैन । अहिले समुदायमा संक्रमण गएको छैन तर लोकल ट्रान्समिसन (स्थानीय संक्रमण) छिटपुट रूपमा भइरहेको छ । यसको जरो क्वारेन्टाइन वा होल्डिङ सेन्टर हुन सक्छ । यसको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ ।

राजधानीमा भ्रमण इतिहास नभएका एक बच्चामा संंक्रमण देखियो नि ?

भैंसेपाटीका ती २ वर्षे बच्चाका बुबा कुरियरमा काम गर्नु हुँदोरहेछ । उहाँ कुरियरका लागि बाइकमा एयरपोर्ट जाने–आउने गरिरहनुभएको छ । उहाँ कामको सिलसिलामा आफू एकदम सतर्क रहेको भन्नुहुन्छ । तर उहाँको कसै न कसैसँग सम्पर्क भएको होला । नत्र बच्चामा संक्रमण आउने कुरै भएन । उहाँको रिपोर्ट आएको छैन । लक्षण पनि छैन । बुबाबाट छोरामा संक्रमण भएको हो कि भनेर जान्न परीक्षण गरिरहेका छौं । हामी यो प्रकरणको गहिराइमा जाने प्रयास गर्दै छौं ।

राजधानीमा आउजाउबाट संक्रमणको जोखिम छ कि छैन ?

आन्तरिक ओहोरदोहोरले काठमाडौंमा संक्रमण बढ्ने देखिएको छैन । एक–दुई जना छिटपुट देखिनु बेग्लै कुरा । भारतबाट आउने, केही दिन तराईमा बस्ने र त्यसपछि काठमाडौं आउने गर्नाले मात्र समस्या देखिएको हो । मुलुकभित्रै ओहोरदोहोर गर्नेहरूका कारण संक्रमण विस्तारमा असर पारेको छैन ।

काठमाडौंवासी बेपरवाह देखिन्छन्, किन होला ?

उहाँहरूलाई लागेको हुन सक्छ, १३ हजारभन्दा बढी संक्रमित देखिए तर मान्छेको मृत्यु खासै भएको छैन । काठमाडौंवासीले इटालीमा मृतकहरूको चाङ लागेको सुनेका, पढेका थिए । यहाँ त हामी बलियै छौं कि क्या हो, हाम्रो इम्युनिटी (प्रतिरोधक क्षमता) दह्रो नै हो कि भन्ने लागेको हुन सक्छ । काठमाडौंमा कसैलाई केही भएको छैन भन्ने लागेको होला । हामी भनिरहेका छौं, १ प्रतिशत संक्रमितलाई मात्र समस्या छ । वास्तवमा काठमाडौंवासीले एकदमै ठूलो हेलचक्य्राइँ गरिरहेका छन् । संक्रमण समुदायमै गएर अलि बूढापाका, दीर्घरोगी, प्रतिरोधक क्षमता कम भएकालाई भेट्यो भने त मृत्युदर बढ्न सक्छ । हाल काठमाडौंवासीलाई ‘फल्स एस्योरेन्स’ भएको हुन सक्छ । काठमाडौंवासी कोरोना संक्रमणको प्रभावबारे हेलुसिनेसन (भ्रम) मा छन् ।

राजधानीमा पीसीआर परीक्षण थोरै हुनुको कारण के हो ?

काठमाडौंमा बाहिर जस्तो क्वारेन्टाइन धेरै छैन । हाल क्वारेन्टाइनबाटै संकलन गरिएको नमुना परीक्षणमा पोजिटिभ देखिने गरेको हो । हामीले जेनरल पपुलेसनबाट नमुना लिएका छैनौं । त्यही भएर परीक्षण कम भएको होला ।

काठमाडौंवासी कसरी सतर्क हुने ?

काठमाडौंवासी अलि जिम्मेवार हुनुपर्छ । कोरोना आज नआउला, भोलि नआउला तर विस्तार हुन्छ नै । यसबाट बच्न सतर्कता अपनाउनुपर्‍यो । बिनाकारण भीडभाड गर्नु भएन । अत्यावश्यक काम भएमात्र घरबाहिर मास्क लगाएर निस्कनुपर्‍यो । दुई मिटरको व्यक्तिगत दूरी कायम राख्नुपर्‍यो । नियमित रूपमा साबुनपानीले हात धुँदै गर्नुपर्‍यो ।

रेस्टुरेन्ट खोले पनि संक्रमण नफैलिने हिसाबले सञ्चालन गर्नुपर्‍यो । अस्ट्रेलियामा सतर्कता अपनाएर खोलेका छन् । न्युजिल्यान्डलगायत देशमा पनि सुरक्षा उपायसहित व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् । हामीले पनि त्यस्तै गर्नुपर्‍यो । म हाम्रो अफिसमा कति भन्छु । भन्दाभन्दै पनि मान्छे समूहमा बस्छन् । कसैलाई संक्रमण छैन भनेर कसरी थाहा पाउने ? लक्षण नदेखिएका संक्रमित समाजमा हिँडिरहेका होलान् ।

संक्रमण रोक्न अब सरकारलाई के गर्नुपर्छ ?

बाहिरबाट आउनेलाई होल्डिङ सेन्टर लगेर फरक–फरक समूहमा राख्नुपर्‍यो । पीसीआर टेस्ट अझ बढाउनुपर्‍यो । आन्तरिक आवतजावत सुरक्षित उपायले गर्नुपर्‍यो । स्थान विशेषमा देखिएको केसअनुसार सरकारले त्यहाँका बासिन्दालाई स्वास्थ्य सतर्कता अपनाउन प्रेरित गर्नुपर्‍यो । नेपाल र भारतको सीमालाई व्यवस्थित गर्नुपर्‍यो ।

प्रकाशित : असार १७, २०७७ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?