कुरा र मान्छे लुकाउने कार्यले चुनौती थपिदियो : डा. वासुदेव पाण्डे [अन्तर्वार्ता]

'नागरिकहरुले आफ्नो जिम्मेवारी पनि वहन गरिदिनुपर्‍यो। उहाँहरु एक जनाको लापरबाहीले देशलाई नै खतरा हुन सक्ने सम्भावना छ।'

वैशाख १६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कुनै पनि महामारी फैलिएको खण्डमा त्यसको नियन्त्रण तथा रोकथामका लागि प्रमुख जिम्मेवार निकाय हो- इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा (ईडीसीडी)। अहिले कोरोनाको महामारीका बेला पनि यसको काम निकै महत्वपूर्ण छ।

तर, कोरोना कहरको व्यापकतालाई हेरेर केन्द्रीय सरकारको उपप्रधान तथा रक्षामन्त्रीकै नेतृत्वमा उच्चस्तरीय समिति बनाएको छ । संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्ने जिम्मा ईडीसीडीले पाएको छ। महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेसँग कान्तिपुरका स्वरुप आचार्यले गरेको कुराकानी :

अहिले कोरोना महामारीमा ईडीसीडीको काम के हो?

ईडीसीडी अमेरिकाको सीडीसी भनेजस्तै हो। कुनै रोगको प्रकोप भयो भने त्यसको सम्पूर्ण जिम्मा हाम्रो हुन्छ। अब अहिले त ईडीसीडीमात्रै नभएर सम्पूर्ण देश नै यसमा लागेको छ। यसमा धेरै शाखा छन्। जसमध्ये इपिडिमियोलोजी शाखाले कुनै पनि संक्रमितको इपिडिमियोलोजिकल लिंक के हो भनेर हेर्छ। अर्को सर्भेलेन्स शाखा छ। त्यसले कहाँ के भइरहेको छ भनेर हेर्छ। दैनिक र साप्ताहिक रिपोर्टहरु बनाइरहेको हुन्छ। त्यसको आधारमा रोगको प्रकृतिबारे विश्लेषण गरिन्छ। 

अहिलेको मुख्य काम त सर्भेलेन्स नै हो। कुनै संक्रमित फेला पर्‍यो भने, त्यो व्यक्ति कहाँबाट आयो, कहाँकहाँ गयो, कोकोसँग भेट्यो, समुदायबाट उसलाई सरेको हो कि, बाहिरबाट लिएर आएको हो कि, यसको लिंकेज के हो? हामी सबै हेर्छौं। त्यसपछि केस इन्भेस्टिगेसन गर्छौं। 

कन्ट्याक ट्रेसिङ कसरी गरिन्छ त?

कन्ट्याक ट्रेसिङ गर्नका लागि हामीले १५–२० वटा टोली बनाएर राखेका छौं। त्यसमा एक जना इपिडिमियोलोजिस्ट, एक जना फिजिसियन, एक जना ल्याब टेक्निसियन वा पब्लिक हेल्थको गरेर पाँच जनाजतिको एउटा टोली हुन्छ। संक्रमित फेला परेपछि उक्त टोली त्यहाँ जान्छ र बिरामीसँग सोधपुछ गर्छ। यो रोग लागेको अवस्थामा बिरामीलाई सिधै गएर सोध्न मिलेन। त्यसैले बिरामीसँग फोनमा कुरा गर्छ। उपचारमा संलग्न डाक्टर र परिवारका सदस्यसँग कुरा गरेर विवरण जम्मा गरेर फारामहरु भर्छौं। केस इन्भेस्टिगेसनपछि मात्रै हामी कन्ट्याक ट्रेसिङमा जान्छौं। त्यसपछि त्यो व्यक्ति कहाँबाट आयो कहाँ गयो, कोसँग भेट्यो, कुन गाडी चढ्यो, कुन प्लेन चढ्यो, त्यो व्यक्तिको वरपर को बसेको थियो। सबैलाई खोज्छौं र उनीहरुको पनि विवरण संकलन गर्छौं।

हामीले यसका लागि केही एप्लिकेसन पनि प्रयोग गर्छौं। ईडीसीडीको आफ्नै एप्लिकेसन त छँदै छ। अहिले ‘गो डाटा’भन्ने सफ्टवेयर पनि प्रयोगमा ल्याएका छौं। त्यसमा हामीले जम्मा पारेर ल्याएको विवरण भरेपछि त्यहाँबाट सम्बन्धित व्यक्तिलाई आफैं एसएमएस जान्छ। त्यो व्यक्तिले एसएमएसको रिप्लाई गरेन भने हामी कल सेन्टरबाट फोन नै गरेर विवरण माग गर्छौं। 

हाम्रो जस्तो देशमा कन्ट्याक ट्रेसिङको मुख्य चुनौती के हो?

तस्बिरहरु : प्रकाशचन्द्र तिमिल्सेना

पहिलो चुनौती त यहाँ तीन तहको सरकार छ। हामी संघअन्तर्गत भयौं। प्रदेशको मन्त्रालयअन्तर्गत अर्को निर्देशनालय छ। अनि स्थानीय सरकार पनि छ। ती सबैसँग समन्वय गरेर काम गर्न अहिलेको परिस्थितिमा निकै गाह्रो भइरहेको छ। स्वास्थ्य मन्त्रालयमा आईसीएस (इन्सिडेन्ट कमान्ड सिस्टम) भन्ने छ। हामीलाई कस्तो टिम चाहिन्छ त्यो विवरणको आधारमा तल्लो तहसम्म टिम बनाउन लगाइन्छ।

अहिले स्थानीय स्तरमा तीन जनाको टिम बनाएर काम गर्ने भनेर निर्णय भएर काम पनि अगाडि बढेको छ। हाम्रो जस्तो देशमा कन्ट्याक ट्रेसिङ भनेको धेरै गाह्रो कार्य रहेछ। किनभने यहाँ मानिसहरुले कुनै पनि कुरालाई त्यति गम्भीरतापूर्वक लिएको देखिएन। हामी म्यासेज पठाउँछौं, उहाँहरुले रिप्लाई गरिदिए पुग्छ। तर गर्नुहुन्न। अनि फोन उठाइदिनुहुन्न। हामीले कसलाई गएर के भन्ने? अहिले त प्रहरी पनि यसमा सामेल भएकोले केही सहज भएको छ। तर, नागरिकहरुले आफ्नो जिम्मेवारी पनि वहन गरिदिनुपर्‍यो। उहाँहरु एक जनाको लापरबाहीले देशलाई नै खतरा हुन सक्ने सम्भावना छ।

संक्रमितहरुले साँचो बोलिदिनुपर्छ र शंका लागेको भए अगाडि पनि आइदिनुपर्छ। कुरा लुकाउने र मान्छे लुकाउने कार्यले पनि हाम्रो काममा चुनौती थपिदिएको छ। काम भयो भने सबैले आफूले गरेको भन्छन्। काम भएन भने ईडीसीडीले गर्न सकेन भन्छन्। 

उदयपुर र वीरगन्जको केसमा कन्ट्याक ट्रेसिङको अवस्था के छ?

त्यो दुई स्थानमा अलिक समस्या रहेको देखिन्छ। जो व्यक्तिहरुलाई सुरुमा संक्रमण देखियो, उहाँहरु भारतीयहरु हो। उहाँहरु मंसिरको अन्तिम र पुसको पहिलो साताबीच नेपाल आएको दाबी गर्नुहुन्छ। र, विभिन्न स्थान हुँदै अहिले बसेको स्थानमा पुगेको देखिन्छ। दुवै स्थानमा भेटिएका संक्रमितको अवस्था त्यस्तै छ। उहाँहरुले भनेको कुरालाई प्रमाणित गर्ने स्पष्ट आधार छैनन्। त्यसैले नै हामीलाई गाह्रो भइरहेको छ। कि त 'लाइ डिटेक्टर'कै प्रयोग गर्नुपर्‍यो। त्यो पनि गर्न भएन। अप्ठेरो छ।

उहाँहरु सबैको बोली एउटै छ। तर, पुष्टि हुने आधार छैन। अनि हामीले कसरी मान्ने? उहाँहरु मध्ये केही दिल्लीको निजामुद्दिन पनि पुग्नुभएको थियो कि भन्ने आशंका पनि छ। नभए त्यहाँबाट आएका मानिसहरुसँग उहाँहरुको सम्पर्क भएको हुनुपर्छ। हामी खोज्दै छौं। छिट्टै थाहा लाग्छ।

त्यसो भए नेपालमा संक्रमण तेस्रो चरणमा प्रवेश गरेको छैन?

छैन। संक्रमण कहाँबाट भयो भनेर थाहै नभए पो तेस्रो चरण सुरु हुन्छ त। अहिले फेला परेका सबै संक्रमितहरुको संक्रमणको स्रोत भेटिएको छ। स्रोत पत्ता लाग्न बाँकी रहेकाहरुको पनि स्रोत पहिचान हुन्छ। 

तपाईंको बुझाइमा नेपालमा यति थोरै बिरामी देखिनुको कारण के हो?

खासमा भन्ने हो भने कसैलाई संक्रमण भयो भने दुईदेखि पाँच दिनभित्र त्यो व्यक्तिमा संक्रमणको लक्षण सामान्यतया देखिन थाल्छ भन्ने अनुमान गरिएको थियो। नेपालमा भने ४१ औं दिनमा पनि संक्रमण भएको बिरामी फेला परेको छ। यस्तोमा हामीले चिनियाँ विज्ञहरुसँगको छलफलमा यो कुरा राख्दा उनीहरुले पनि ५० दिनसम्म पनि संक्रमण देखिएका बिरामी फेला परेको बताएका थिए।

नेपालमा त धेरै बिरामीलाई लक्षण नै देखिएको छैन र देखिएकालाई पनि सामान्य लक्षण मात्रै देखिएको थियो। त्यसैले हामी कहाँ परीक्षण पुगेन जस्तो लाग्छ। परीक्षण धेरै गर्न सकेको भए धेरै बिरामी पत्ता लाग्थे होलान्। त्यसपछि हामीले विदेशबाट आएका बिरामीहरुको सम्पूर्ण रुपमा ट्रेसिङ पनि गर्न सकेनौं। त्यो निकै गाह्रो कुरा रहेछ। हामी कहाँ त्यो हिसाबको संयन्त्र र पूर्वाधार छैन। जे छ त्यसबाट सकेको गरेको छौं। त्यसैले हाम्रो आग्रह पनि के हो भने, विदेशबाट आए मानिसहरुले आएर परीक्षण गराइदिनुपर्‍यो। त्यो उहाँहरुको यो देश र जनताप्रतिको कर्तव्य पनि हो जस्तो लाग्छ। लुकेर र लुकाएर बस्नुभएन।

हाम्रोमा धेरै दिनसम्म पनि पीसीआर पोजिटिभ आएका केसहरु देखिए। तर उनीहरुमा समस्या भने देखिएन। यस्तो किन?

हामीकहाँ अहिलेसम्म सामान्य खालको संक्रमणमात्रै देखिएको छ। त्योमध्ये अधिकांशमा लक्षण नै देखिएको छैन। पीसीआरमा पोजिटिभ देखिनुको अर्थ सधैं भाइरस जीवित नै छ भन्ने पनि हुँदैन। तर, त्यो कसैले पुष्टि गर्न सकेको पनि छैन। पीसीआरले भाइरस जीवित छ कि मृत पत्ता लाग्दैन। कि त फोक्सोबाट कोषको नमुना नै लिएर परीक्षण गर्नुपर्छ। 

अहिले आरडीटी पोजिटिभ र पीसीआर नेगेटिभ देखिएका केही व्यक्ति पनि छन्। आरडीटी पोजिटिभ हुनु भनेको उहाँहरुमा कोरोनाको संक्रमण कुनै बेला थियो भन्ने हो। यस्तोमा आरडीटी पोजिटिभ भएकाहरुको पनि पनि कन्ट्याक ट्रेसिङ हुनुपर्ने हो नि। उनीहरुको कन्ट्याक ट्रेसिङ गर्नुभएको छ ?

हामी अहिले एक्टिभ केसको कन्ट्याक ट्रेसिङमा धेरै व्यस्त छौं र त्यसलाई प्राथमिकता दिएका छौं। आराडीटी पोजिटिभ भएकाहरुको हकमा पनि पनि उनीहरुको व्यक्तिगत विवरणका आधारमा संक्रमण भएको हुन सक्ने सम्भावना देखिएको छ भने त्यस्तो को गर्ने नीति बनाएका छौं।

आरडीटी परीक्षणको पनि आफ्नै सीमितता छ। त्यसको रिपोर्टलाई शतप्रतिशत ठिक छ भन्ने अवस्था पनि छैन किनभने विश्व स्वास्थ्य संगठनले पीसीआरलाई गोल्ड स्ट्यान्डर्ड भनेको छ। त्यसलाई नै बढी प्राथमिकता दिनुपर्छ। आरडीटीले आईजीएम र आईजीजी छुट्याउने भएको भए अझ सहज हुन्थ्यो। त्यस्तो छैन। त्यसैले केही द्विविधा देखिएको हो।

विश्वभरमा नै आरडीटी किटको प्रयोगमा प्रश्न उठिरहेको छ। यस्तोमा नेपालमा प्रयोग गरिएको किटको बारेमा तपाईंको धारणा के छ?

हामीकहाँ कुनै पनि टेस्ट किटको प्रयोग गर्दा किटको स्पेसिफिटी र सेन्सिटिभी राम्रो छ कि छैन भनेर हेरेर किन्ने हो। ती टेस्ट किट बनाउने कम्पनीले गरेको दाबीलाई नै मान्नुपर्ने हाम्रो बाध्यता छ। त्यो कम्पनीले दाबी गरेअनुरुपकै छ कि छैन भनेर जाँच्ने क्षमता हाम्रो प्रयोगशालामा छैन। त्यसैले कम्पनीको दाबीलाई नै मान्नुपर्ने अवस्था छ। 

यो आरडीटी किटको हकमा पनि अवस्था त्यही हो। यसको भ्यालिडेसन प्रयोगशालाले गरेको हो। त्यसैले अझ बढी डिटेल उहाँहरुलाई नै थाहा होला। मैले थाहा पाएअनुसार अब पुनः टेस्ट किट किन्नका लागि विभिन्न १० कम्पनीको किट ठिक हुन्छ भनेर सूची तयार पारिएको छ। ती किटहरु योभन्दा गतिलो होलान् भन्ने लाग्छ।

लकडाउनकोरोना भाइरस

कान्तिपुर

Link copied successfully