‘मेरो कलिलो थाप्लो र काँध जहिल्यै भारीले थिचिरहेको छ’

मेरो उमेरका केटाकेटी झोला बोकेर, सफा लुगा लगाएर रमाउँदै स्कुल जान्छन् । म भने टाढैबाट त्यो सब हेरिबस्छु । म अहिले दिनको १२ घण्टा काम गर्छु । दिनभरि काम गरे एक हजार रुपैयाँ पाइन्छ । त्यसैले घरको गुजारा चलेको छ ।

चैत्र ९, २०८२

तिलक विक

”My young back and shoulders are always feeling heavy.”

What you should know

डोल्पा — बिहान चिसो सिरेटो चलेका बेला उठिसक्छु । हातमुख धोइवरी बेल्चा समाउँछु । अनि डोकोमा माटो, ढुंगा, काठ र सिमेन्टका बोरा ओसार्न सुरु गर्छु । साथीभाइ स्कुल जाने तयारी गर्छन् । म भने मजदुरीमा हिँड्छु । 

अहिले १७ वर्षको भएँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–८ मा मेरो घर छ । सानैदेखि दुःख देखेर हुर्किएँ । बाल्यकालको सुख के हो, मलाई थाहै भएन । अहिले डोल्पाको त्रिपुरासुन्दरी–१ मा विद्यालय भवन बनाउने काम गरिरहेको छु । 

मेरा लागि आराम भनेको अरूले आराम गरेको देख्नु हो । जब स्कुल जाने केटाकेटी रमाउँदै हिँड्छन्, म टाढाबाट हेर्छु । आफूले गुमाएको बाल्यकाल सम्झिन्छु । अनि एकोहोरिएर टोलाइरहन्छु ।मेरो कलिलो थाप्लो र काँध जहिल्यै भारीले थिचिरहेको छ । दिनभर काम गर्दा शरीर थाकेर लखतरान हुन्छ । तर पनि एकछिन काम रोकिन पाइँदैन । तीन वर्षअघि कामको खोजीमा डोल्पा आएको थिएँ । त्यही बेला बुवाको मृत्यु भयो । काइके गाउँपालिकाको सहरतारा गाउँमा उहाँ सुतेकै अवस्थामा सधैंका लागि अस्ताउनु भो । 

मलाई पढ्न धेरै मन थियो । कक्षा ५ सम्म पढेँ । तर घरको अवस्था कमजोर भएकाले खर्च जुटेन । स्कुल छोड्नु पर्‍यो । अहिले स्कुल छोडेको पनि पाँच वर्ष भयो । मेरो दाजु पनि हिमालय माविमा पढ्दै हुनुहुन्थ्यो, उहाँले पनि पढाइ छोड्नु पर्‍यो । हामी दुवैलाई पढ्न मन थियो, तर गरिबीले पढ्न दिएन । मैले काम गर्ने ठाउँनजिकै त्रिपुरा मावि काटियाचौर छ । त्यहाँ मेरो उमेरका केटाकेटीहरू झोला बोकेर, सफा लुगा लगाएर रमाउँदै स्कुल जान्छन् । म भने टाढैबाट त्यो सब हेरिबस्छु ।

उनीहरूलाई देख्दा मन खेल्छ । म पनि त्यस्तै भएर कक्षामा बस्न पाए हुन्थ्यो जस्तो लाग्छ । कहिलेकाहीँ काम रोकेर एकोहोरिएर हेरेर बस्छु । तर फेरि सम्झिन्छु– मेरो जीवन त फरक रहेछ । १२/१३ वर्षको उमेरदेखि नै मजदुरी गर्न हिँड्न थालेँ । भारत पनि पुगेँ, नेपालका विभिन्न ठाउँमा काम गरेँ । त्यो उमेरमा खेल्नुपर्ने, पढ्नुपर्ने थियो । तर मैले काम गर्न सिकेँ । अहिले दिनको १२ घण्टा काम गर्छु । दिनभरि काम गरे एक हजार रुपैयाँ पाइन्छ । इन्डियाभन्दा यहाँ अलि राम्रो लाग्छ । त्यहाँ झन् कम पारिश्रमिक पाइन्थ्यो ।

सानो कमाइले घरखर्च चलाउन गाह्रो छ । मेरा लागि आराम भनेको अरूले आराम गरेको देख्नु हो । जब स्कुल जाने केटाकेटी रमाउँदै हिँड्छन्, म टाढाबाट हेर्छु । आफूले गुमाएको बाल्यकाल सम्झिन्छु । अनि एकोहोरिएर टोलाइरहन्छु । काम नगरी विकल्प छैन । घर चलाउनै पर्‍यो । कहिलेकाहीँ सोच्छु– यदि बुवा हुनुहुन्थ्यो भने सायद म पनि पढिरहेको हुन्थेँ होला । 

अहिले पनि मनभित्र एउटा सानो चाहना बाँकी छ । यदि कहिल्यै मौका मिल्यो भने फेरि कापी–किताब समाएर कक्षामा बस्न मन छ । तर अहिलेका लागि मेरो जीवन यही हो । बिहानदेखि बेलुकीसम्म बेल्चा, डोको र भारी । मेरो काँधमा घर छ । सपना पनि छ । तर सपनाभन्दा भारी जिम्मेवारी छ ।

प्रस्तुति : रामचन्द्र न्यौपाने

तिलक

Link copied successfully