बेसीको खेतमा तरकारी लगाउने गर्छु । आज पनि बेसीमा फलाएको लसुनको मुठा बोकेर बजार डुलिरहेको छु । अहिले मेरो प्रमुख व्यापार यही हो । यसबाट ६० हजारजति कमाउने योजना छ ।
What you should know
पाल्पा — घरदेखि आधा घन्टा हिँडेर कसेनीको सराई झर्छु । कहिलेकाहीँ मात्र ठूला साधन भेटिन्छन् । अधिकांश समय अटो चढेर बाँसटारीसम्म आउँछु । त्यसपछि बस चढेर तानसेन पुग्छु । यसरी हरेक दिन बिहान ७ देखि १० बजेसम्म आफैंले उत्पादन गरेका तरकारी बिक्री गर्छु । अहिले ५२ वर्षको भएँ । माथागढी–३, कसेनीको सिलङ्गी गाउँमा मेरो घर छ ।
सबैका घरको भान्सा महँगो भएको छ, त्यसैले अब बन्ने सरकारले यस विषयलाई ध्यान दिनुपर्छ ।एक छोरा र एक छोरी छन् । छोरीको बिहे भएर तराईतिर बस्छिन् । छोरा–बुहारी, श्रीमतीले मलाई सघाउँछन् । गाउँमा पानीको अभाव छ । तरकारी खेती गर्नका लागि पानी पुग्दैन । केही किलोमिटर तल (एक घन्टा पैदल) भैसीकट्टा, दमारमा बेँसीको बसाइ पनि छ । बेसीको खेतमा तरकारी लगाउने गर्छु । आज पनि बेसीमा फलाएको लसुनको मुठा बोकेर बजार डुलिरहेको छु । अहिले मेरो प्रमुख व्यापार यही हो । यसबाट ६० हजारजति कमाउने योजना छ । सिजन अनुसारको तरकारी लगाउने गर्छु । आम्दानी राम्रै छ ।
तानसेनका सबै टोल मलाई कण्ठ भएको छ । बारुदखानबाट हिँड्न सुरु गर्छु । गाडीबाट झरेपछि बोरा एक ठाउँ राख्छु अनि सानो झोलामा सामान राख्छु र हातमा देखाउँदै जे सामान ल्याएको हुन्छु, त्यही देखाउँदै बेच्ने गरेको छु । ‘लौ आयो हजुर हरियो लसुन, ५० मा तीन मुठा,’ यसरी चिच्चाएपछि लिन आइहाल्छन् । पानी पर्दा भने अलि समस्या हुन्छ । होइन भने तानसेनमा गाउँको अर्गानिक भन्दै बिक्री गर्न सहज पनि छ ।
वर्षामा २ लाख ५० हजार जतिको हरियो तरकारी बिक्री गर्छु । तर पनि घरखर्च निकै महँगो भएको छ । पहिले पहिले सवारी साधनको भाडा नै कम थियो । अहिले घरदेखि आउन जान नै ५ सय बढी खर्च हुन्छ । ५ रुपैयाँमा बिक्री गर्ने लसुन, धनियाँका मुठा अहिले १५ रुपैयाँमा बिक्री नगरी हुँदैन ।
सरकारी सुविधा लिन चाकडी गर्न आउँदैन । सरकारी अफिसमा जान फुर्सद पनि हुन्न । टाठाबाठा जान्छन् होला, म त जाँदिनँ । तरकारी लगाउने, त्यसको हेरचाह गर्ने र बिक्री गर्न फुर्सद नहुने भएर पनि सरकारी अफिसमा धाउन सकेको छैन । हामीले उत्पादन गरे पनि उपभोक्ता जहिले मारमा छन् । उपभोक्तालाई सस्तोमा दिन सकिँदैन । किन महँगो भयो भनेर हामीलाई भन्छन् । तर हामीले के जवाफ दिने हो र ?
सरकारले महँगी रोक्न सकेको छैन । हामीले किन्ने सबै सामान महँगो भयो । बीउबिजनदेखि मलखाद सबै महँगो भएको छ । कसरी हामीले सस्तोमा बिक्री गर्न सकिन्छ र ? सबैका घरको भान्सा महँगो भएको छ, त्यसैले अब बन्ने सरकारले यस विषयलाई ध्यान दिनुपर्छ । गाउँघरका जग्गा बाँझो राख्न दिन हुन्न । आवश्यक सुविधा सरकारले दिनुपर्छ । त्यसपछि यहीँ रोजगार, स्वरोजगार पाइन्छ ।
प्रस्तुति : माधव अर्याल
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
