महँगीको मार छ । यस्तो अवस्थामा घरखर्च पुर्याउनै गाह्रो हुन्छ । झन् आँखा नदेख्नेका लागि घरखर्च चलाउनु हत्ते नै हुँदो रहेछ । आयस्रोत छैन । काम गर्न सक्दिनँ । अनि अभाव कसरी टार्नू !
What you should know
रौतहट — देख्न छाडेको पनि १५ वर्षभन्दा बढी भयो । आँखाले देखुन्जेल घरमा सबै ठिकठाक थियो । दशा लागेर त होला आँखामा फुलो परेको केही समयमै फिटिक्क देख्न छाडे । घरको मूली मान्छेकै संसार अन्धकार भएपछि अरूको के हालत भयो होला !
आफैं बेसाहाराजस्तै भएपछि समस्याका चाङ लागे । छोरालाई पढाएर उच्च शिक्षा हासिल गराउने धोको थियो । सके ईन्जिनियर, नसके शिक्षक बनाउने सपना चकनाचुर भयो । अहिले त छाक टार्न पनि दिनहुँ माग्दै हिँड्नु परेको छ । ठूलो मान्छे बनाउने सपना देखेको छोराले डोर्याएर डुलाउँछ । समस्या मेरो आँखामा भए पनि बाबु–छोरा नै माग्ने भएका छौं ।
कति ‘दृष्टिविहीन’ साथीहरू सडकमा गीत गाएर वा सानातिना खुद्रा सामग्री बेचेर गुजारा गरिरहेका छन् । मेरो त त्यस्तो अवस्था पनि रहेन । आफूसित धन नभएपछि केही काम गर्ने आँट पनि नहुँदो रहेछ ।बृन्दावन–६ चमनपुरमा सानो झुपडी छ । अहिले म ६५ वर्षको भएँ । घरमा श्रीमती हकिजन खातुन, १३ वर्षकी सावजना र ११ वर्षीया नाबजा गरेर दुई छोरी छन् । जेठी छोरी राबजाको २०८० फागुनमा विवाह भयसक्यो । म भने १० वर्षको छोरा साजिद अहम्मदलाई साथै लिएर चन्द्रनिगाहपुर चोकतिर माग्दै हिँड्छु । छोरीहरू गाउँकै मदरसामा पढ्छन् । छोरा पनि मदरसामै पढेथ्यो, तर आय आर्जनको कुनै विकल्प नभएपछि साथै लिएर हिँड्ने गरेको छु ।
मेरो दुःख देखेर श्रीमती पनि पिर मान्छिन् । आँखाको ज्योति गुम्नुअघि गाउँमै ज्यालादारी गरेर जीविका चलाउँथेँ । देख्न छाडेपछि सबै विकल्प बन्द भए । बुढ्यौलीमा छोराको हात समातेर माग्न हिँड्नु पर्दा भतभती मन पोल्छ । छोराछोरीको लालनपालन कसरी गर्ने होला भन्ने चिन्ताले मलाई निन्द्रा लाग्दैन । छोराले उच्च शिक्षा हासिल गर्न सकेको भए त शिक्षक बनाउन हुन्थ्यो ।
महँगीको मार छ । यस्तो अवस्थामा घरखर्च पुर्याउनै गाह्रो हुन्छ । झन् आँखा नदेख्नेका लागि घरखर्च चलाउनु हत्ते नै हुँदो रहेछ । आयस्रोत छैन । काम गर्न सक्दिनँ । अनि अभाव कसरी टार्नू ! अचेल त दिनभरि कमाएको पैसाले उस्तै परे एक छाक खान पुग्दैन । यस्तो महँगी रोक्न कसैले पहल गरेका छैनन् । छोरा ठूलो भएपछि कमाउला भन्दै बस्ने शिवाय केही भएन । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता (अपांगता भत्ता) महिनाको २ हजारका दरले मिल्छ । त्यही पैसाले महिनाभर पुग्ने खाद्यान्न, औषधि र लत्ताकपडा किन्ने हो । त्यतिले छोराछोरी पढाउन पुग्दैन ।
हामीजस्ता मान्छेलाई कसैले सजिलै रोजगारी पनि दिँदैन । अनि घरखर्च कसरी चलाउने ? म धेरै पढेको पनि छैन । साधारण लेखपढ गर्ने मान्छे हुँ । कति ‘दृष्टिविहीन’ साथीहरू सडकमा गीत गाएर वा सानातिना खुद्रा सामग्री बेचेर गुजारा गरिरहेका छन् । मेरो त त्यस्तो अवस्था पनि रहेन । आफूसित धन नभएपछि केही काम गर्ने आँट पनि नहुँदो रहेछ ।
हामीलाई सीपमूलक तालिम, सहुलियत दरमा खाद्यान्न व्यवस्था गरिदिए खुसी हुन्थ्यौं । जबसम्म मजस्ता मान्छेलाई आर्थिक रूपमा आत्मनिर्भर बनाइँदैन, तबसम्म घरखर्चको पिरलो रहिरहन्छ । जीवन नै अन्धकार हुन्छ । मलाई धेरै बोल्यो नभन्नु होला, यो यहाँको यथार्थ हो ।
प्रस्तुति : शिव पुरी
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
