‘ऋण चुक्ता गरेपछि पूरै नेपाल भ्रमण गर्ने धोको छ’

मेरो पहिलो इच्छा भनेको पैसा कमाएर घरको ऋण चुक्ता गरेर ‘टेन्सन फ्रि’ हुने हो । यति भयो भने म आफ्ना इच्छा–आवश्यकता पूरा गर्छु जस्तो लाग्छ । मलाई घुमफिर गर्न साह्रै मन पर्छ । छ/सात वर्षका लागि एउटा लक्ष्य निर्धारण गरेर काम गरिरहेको छु । त्यसपछि नेपाल भ्रमण गर्छु होला ।

चैत्र ४, २०८२

अमन आउजी

'I plan to travel all over Nepal after paying off my debt'

What you should know

कैलाली — दिनकै काम गरेर खानेको फरक हालखबर पनि हुँदैन । बिहान उठ्यो, काम सुरु गर्‍यो । दिनभरि काम गरेर साँझ फर्कियो अनि परिवारसित खाइवरी सुत्यो । 

धनगढी नगरपालिकाको वडा नम्बर ८ मा बस्छु । सानै उमेरदेखि कमाइधमाइ गर्न पर्ने जिम्मेवारी आइपरेपछि कक्षा १२ भन्दा अगाडि पढाइलाई निरन्तरता दिन सकिनँ । फेरि पढ्नमा त्यति लगन पनि थिएन । त्यसैले राम्रोसँग पढाइ गर्न सकिनँ । यही बेला कमाउने जिम्मेवारी थपियो । 

अहिले म धनगढीको त्रिनगर हाट बजारमा तरकारी बेच्छु । राम्रोसित तरकारी व्यापार भएको दिन २५ सयदेखि ३ हजार रुपैयाँसम्म कमाउँछु ।अहिले २३ वर्षको भएँ । घरमा आमा, दिदी र दाइ हुनुहुन्छ । दाइ र म मात्रै कमाउने छौं । बुवा हुनुहुन्न । त्यसैले पनि हामीले सानैबाट घर व्यवहार सम्हाल्नु परेको हो । अहिले म धनगढीको त्रिनगर हाट बजारमा तरकारी बेच्छु । राम्रोसित तरकारी व्यापार भएको दिन २५ सयदेखि ३ हजार रुपैयाँसम्म कमाउँछु । थोरै बिक्री भएका दिन पनि १५ सयजति हात परिहाल्छ । बिहान तरकारी खरिद गर्दाको लगानी छुट्याएर फाइदाको मात्रै कुरा गर्ने हो भने दिनमा ६/७ सय नाफा हुन्छ ।

तर, घर निर्माण गर्ने बेला सहकारीबाट ऋण निकालेका थियौं । अहिले त्यही ऋणको मासिक रूपमा किस्ता बुझाउनुपर्छ । तिर्दातिर्दै अब पाँच लाखजति बुझाउन बाँकी होला । अलिकति आमाको औषधि उपचारमा खर्च हुन्छ । मेरो त स्वास्थ्य अहिलेसम्म ठिकै छ । काम गरुन्जेलसम्म त घरखर्च राम्रै चल्छ । त्यसैले काम छोड्न मिल्दैन । काम छोड्यो भने आर्थिक समस्या पर्छ । 

कहिलेकाहीँ आर्थिक संकट परिहालेमा यताउताबाट पैसा म्यानेज गर्नुपर्छ । त्यस्तो अवस्थामा अलिकति अप्ठ्यारो लाग्छ । बढीजस्तो किस्ता तिर्दाखेरि यस्तो समस्या आइपर्ने हो । दाइदिदीहरूसँग सापटी मागेर म्यानेज गर्नुपर्छ । धान र गहुँ किन्नु पर्दैन । आफ्नै बारीमा उत्पादन भएको धान र गहुँले खान पुग्छ । तेल, नुन, साबुन, सरफजस्ता कुरा किन्न नै बढी पैसा खर्च हुन्छ । 

मेरो पहिलो इच्छा भनेको पैसा कमाएर घरको ऋण चुक्ता गरेर ‘टेन्सन फ्रि’ हुने हो । यति भयो भने म आफ्ना इच्छा–आवश्यकता पूरा गर्छु जस्तो लाग्छ । मेरो सबैभन्दा ठूलो इच्छा भनेको पूरै नेपाल घुम्ने हो । मलाई घुमफिर गर्न साह्रै मन पर्छ । छ/सात वर्षका लागि एउटा लक्ष्य निर्धारण गरेर काम गरिरहेको छु । त्यसपछि नेपाल भ्रमण गर्छु होला । अर्को इच्छा एउटा मोटरसाइकल किन्ने भन्ने छ । बाइक किन्नु मात्रै ठूलो कुरा होइन । किनिसकेपछि बाइक कसरी पाल्ने भन्ने कुरा पनि हुन्छ । यस्तो साधन किन्नभन्दा पाल्न गाह्रो हुन्छ । 

ठूलो चिन्ता भनेको ऋणकै हो । कहिलेकाहीँ ऋणको चिन्ताले मन भारी हुन्छ । त्यस्तो बेला आमासँग कुरा गर्छु । कहिलेकाहीँ त आमालाई ‘जग्गा बेचेर ऋण चुक्ता गरौं, त्यसपछि त टेन्सन नै खत्तम हुन्छ’ पनि भन्छु । आमाको स्वास्थ्यको एकदम धेरै चिन्ता लाग्छ । 'लास्ट टाइम' आमाको सुगरको लेबल घटेका बेला म एकदमै खुसी भएको थिएँ । 

धेरै दुःखी चाहिँ म कुवेत गएका बेला भएको थिएँ । आठ महिनामै कुवेतबाट फर्किएँ । पैसा त राम्रो कमाएँ तर कम्पनी राम्रो परेन । म मात्रै होइन, हामी १४ जना सँगै गएका थियौं । कम्पनी चित्त नबुझेपछि सबै जना फर्केका हौं । कुवेत हुँदा धेरै समस्या भोग्यौं । मेरो दुई जना साथी त जेल नै परे । अब चाहिँ मलाई विदेश जान मन छैन । अरु देश जान पनि कम्तीमा ३ लाख रुपैयाँ चाहिन्छ । अब त्यत्रो पैसा लगाएर विदेश जाने सोच नै छैन ।

प्रस्तुति : रञ्जना बिसी

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

अमन

Link copied successfully