आँखा शिविरबाट दृष्टि पाएका उनी शिक्षक बने, तर आर्थिक कठिनाइले जीवन अझै चुनौतीपूर्ण छ।
What you should know
तिलोत्तमा — जन्मिँदा नै मेरा आँखामा मोतिया बिन्दु थियो । बालापनमा संसार कस्तो छ भनेर देख्न पाइनँ । पूर्ण रूपमा दृष्टिविहीन भएर बाल्यकाल कट्यो । बाल्यकालमा भोग्नु परेको त्यो अप्ठ्यारो अहिले बयान गर्न सकिँदैन । मेरो संघर्ष आफैंभित्र, आफैसँग चल्यो ।
अर्घाखाँचीको शितगंगा नगरपालिका–३ मा मेरो जन्म भएको हो । म आँखा नदेख्ने विद्यार्थीले पढ्ने कपिलवस्तुको एक विद्यालयमा पढ्न भनेर आएँ । कहिलेकाहीँ घर जान्थेँ । बुवाआमा मलाई भेट्न त्यहीँ आउने गर्नुहुन्थ्यो । १६ वर्षको थिएँ हुँला, त्यही बेला कपिलवस्तुमा आँखा शिविर सञ्चालन भयो ।
मेरा आँखा जाँच गरेपछि डाक्टरले ‘केही देख्न सक्ने हुन्छौ’ भन्नुभयो । त्यसले मलाई कम्ता खुसी तुल्याएको थिएन । त्यो नै मेरो जीवनको महत्त्वपूर्ण खुसी बन्यो । तर, पैसाको अभाव थियो । पैसा नभएरै हरेक पटक सरकारी अस्पतालको भर पर्नुपर्यो । निजीमा जान पाइएन ।
अहिले म न्यून दृष्टियुक्त राहत कोटाको शिक्षक हुँ । स्नातक तहसम्म अध्ययन गरेपछि मैले राहतकोटामा प्यूठान जिल्लामा पढाउन सुरु गरेँ । म विशेष शिक्षाको स्रोत शिक्षक भएकाले सोहीअनुसारका कक्षामै पढाउने गरेको छु । महिनाको ३९ हजार रुपैयाँ तलब पाइन्छ । त्यसबाट कोठाभाडा ७ हजार, आमाबुवा गाउँमा हुनुहुन्छ, उहाँहरूलाई मासिक खर्च पठाउनु पर्छ ।
पाकेट खर्च भनेर बुवाआमालाई ८/१० हजार पठाइदिन्छु । मैले सबैथोक किनेर खाने हो । दुःखको कुरा श्रीमतीको जागिर खाने ठाउँ तिलोत्तमाबाट ३० किलोमिटर टाढा पर्छ । उनी र म सँगै हुन नपाउँदा विडम्बनाजस्तो लाग्छ । श्रीमान्–श्रीमती अलग अलग बस्दा घरखर्च पनि दोब्बर हुन्छ । पैसा जोगाउनै सकेका छैनौं । यही पिर छ ।
म अहिले तिलोत्तमा–५ स्थित श्री शान्ति नमुना माध्यमिक विद्यालयमा अध्यापन गर्छु । श्रीमती स्थायी शिक्षक भए पनि उनको विद्यालय अलि टाढा छ । ९ महिना भयो हाम्रो विवाह भएको । घर व्यवहारको विषयलाई आर्थिक पाटोसित जोड्दा पिर पर्छ । मैले पूर्ण रूपमा देख्न सक्ने भए त समस्या हुन्थेन । मसित पुग्ने पैसा हुन्थ्यो भने पनि गाडी किनेर चालक राखेर उनलाई ल्याउने/पुर्याउने गर्थें । त्यति गर्न सके श्रीमतीलाई पनि दुःख हुन्थेन । सधैं पैसाको अभाव खड्किरहन्छ ।
मसित खेल्दै हुर्केका साथीभाइ अहिले विदेशमा छन् । मेरो शारीरिक अवस्थाले त्यो मौका पाइनँ । तर उनीहरूले गरेको प्रगति मेरा लागि असम्भव छ । त्यसले पनि कहिलेकाहीँ मन अशान्त बनाउँछ । मैले पैसा कमाउन सकेको भए आफ्नै बास हुन्थ्यो, गाडी हुन्थ्यो, जीवनस्तर उकासिन्थ्यो । तर, केही नभएर मलाई निराशा पनि छैन । मैले जति सकिन्छ गरेको छु । सन्तान भएपछि उनीहरूलाई हाइफाइको जीवनस्तर दिन भने सक्दिन होला ।
मैले जति पढेँ, त्योभन्दा बेसी त सन्तानले पढून् है भन्ने चाहना छ, सन्तान भएपछि । तर मैले शिक्षक नै भएर जीवन अघि बढाउने हो, मेरो अवकाश हुँदा मैले कति नै पाम्ला र ! त्यसले छोराछोरी पढाएर पार लगाउन त्यति सहज त हुनेछैन । निश्चित छु । तर अरु उपाय पनि छैन । आफ्नो पारिवारिक व्यवस्थापन तथा बास बनाउन नसक्नु पैसा नभएको एक उदाहरण मेरा लागि हो ।
जीवनमा जति धेरै प्रयास गर्यो सफल भइने रहेछ । सकिँदैन, गरिन्न । यसले पछि परिने स्वाभाविक हो जस्तो लाग्यो । ब्रेल लिपिका माध्यमबाट विद्यार्थीलाई पढाउँदा होस् वा सांकेतिक माध्यमबाट सिकाउँदा नतिजा त आउँछ नि, उनीहरूको शिक्षा तथा अन्य विकास हुन्छ तर ग्रेडिङमा पर्दैनन् । त्यो त उनीहरूको बेग्लै क्षमतामा अध्ययन भएकाले हो, हाम्रो मिहिनेत पनि देखिँदैन के ! सरकारले हाम्रालागि पनि अलि केही सुविधायुक्त अवसर थपिदिए हुन्थ्यो भन्ने लाग्छ ।
झण्डै ६ वर्षजति प्यूठानमा पढाएपछि २ वर्षयता शान्ति नमुना माविमा कार्यरत छु । प्यूठानमा छँदा त्यति खर्च नहुने । गाउँको बसाइ । मैले ८ लाखजति सरसापटी गरेर जम्मा गरेँ । घरबाट थपथाप गरेर कपिलवस्तुमा १० धुर जमिन जोड्यौं । त्यसबापतको ब्याज पोहोरसम्म तिर्दै थिएँ । जमिन छ, जमिनमा टेको लगाउने सपना सपना नै हुने हो कि ? हेर्दै जाउँ, के के हुन्छ । जीवनका हरेक भोगाइ र दुःखले केही न केही सिकाउँछ, तर पैसाको मामलामा त दुनियाँ स्वार्थी नै छ । त्यसैले लाग्छ– पैसा महत्त्वपूर्ण छ, त्यो नभए केही हुँदैन । न हिजो भयो, न आज, न भोलि नै हुनेछ ।
प्रस्तुति : सन्जु पौडेल
