‘१३ वर्षको उमेरबाटै मजदुरीका लागि देश चहार्न थालेकी हुँ’

बुवाले आमासँग सम्बन्धविच्छेद गरेपछि रोल्पाकी एक बालिका परिवारको घरखर्च जुटाउन डोल्पामा मजदुरी गर्न पुगेकी छन्।

भाद्र ८, २०८२

विष्णु घर्ती

”I started traveling the country for work from the age of 13”

What you should know

डोल्पा — खेतीपातीले नपुग्ने भएकाले मजदुरी गर्न देशका विभिन्न ठाउँमा पुग्ने गर्छु । यसपटक मजदुरीका लागि डोल्पाको त्रिपुरासुन्दरी–४ रङगमा आएकी छु । अहिले सत्र वर्षकी भएँ । तर, सम्पूर्ण घरखर्चको जिम्मेवारी मेरै काँधमा छ ।

रोल्पाको गंगादेव गाउँपालिका–१, ओतजवाङमा मेरो घर छ । घरमा आमा र बहिनीहरूको लवाइखवाइको जिम्मेवारी लिनु परेको छ । घरको काम आमाले धानिरहनु भएको छ । परिवारमा ९ जना छौं । हामी सात जना त भाइबहिनी मात्रै हौं । म साइली दिदीपछिकी हुँ । एक जना दाइ हुनुहुन्छ । ६ जना दिदीबहिनी छौं । दुई जना दिदीको बिहे भइसक्यो । बिहे गरेर गएकी एक जना दिदीपनि हामीसँगै बस्नुहुन्छ । 

दुई वर्षअघि बुवाले सम्बन्धविच्छेद गरेकाले हामी आमासँगै आफन्तको घरमा बसिरहेका छौं । बुवाले छोरी धेरै भए भनेर आमासँग सम्बन्धविच्छेद गर्नुभएको हो । दाइ पनि बिहे गरेपछि छुट्टै बस्नुहुन्छ । दाइले परिवारको वास्ता नगरेकाले म आफैं अघि सर्नु परेको हो । मैले १३ वर्षको उमेरदेखि मजदुरी सुरु गरेकी हुँ । १४ वर्षको उमेरमा भारतको हिमाचल प्रदेश पुगेर मजदुरी गरेँ । त्यहाँ पनि स्याउ प्याकिङ गर्ने काम थियो । त्यहाँ एकछिन पनि आराम गर्न मिल्थेन । एकछिन बस्यो कि मालिकको कचकच सुन्नु पर्थ्यो । तर, काम सिक्ने मौका मिल्यो ।

यसपटक स्याउ प्याकिङको काम गर्न डोल्पा आएको एक साता पुग्यो । ठेकेदार अंकलसँग सम्पर्क भएपछि दुई दिन लगाएर डोल्पा आएकी हुँ । डोल्पामा अहिले स्याउ टिप्ने मौसम चलेको छ । त्यसैले स्याउ ग्रेडिङ गरेर कार्टुनमा प्याक गर्ने काम पाएकी छु । मसँगै मेरो दिदी पनि आउनु भएको छ । दुई बहिनी बिहानदेखि साँझैसम्म काम गर्छौं । ठेकेदार अंकलले एक दिनको खानपानबाहेक ८ सय रुपैयाँ ज्याला दिन्छु भन्नुभएको छ । डोल्पा जिल्ला राम्रो लाग्यो । हामी काम गरेर गुजारा गर्ने मान्छेलाई प्राकृतिक सुन्दरता क्षणिक हुने रहेछ । 

सायद मेरो भाग्य नै यस्तै होला । कामको खोजीमा कहिले कता कहिले कता पुग्छु । अब दशैँ तिहार मनाएर काठमाडौं जानुपर्ला । त्यहाँ इँटाभट्टामा काम पाइन्छ । पहिला पनि एकपटक काभ्रे र भक्तपुरमा इँटा बोक्ने काम गरेकी थिएँ । एकपटक रोल्पामै सडकको काम गरेको ५० हजार ज्याला ठेकेदारले अझै दिनुभएको छैन । अहिले ठ्याक्कै दुई वर्ष भयो । हामी मजदुरी गर्नेलाई ज्याला ठगिदिँदा झनै समस्या हुने रहेछ । आमाले मैले पठाएकै पैसाले नुन, तेल, चामल, बहिनीलाई लत्ताकपडा किन्नुहुन्छ ।

मेरो कमाइबाटै घर परिवारको जीविका चल्छ । यसबाहेक बहिनी पढाउने जिम्मेवारी पनि मेरै काँधमा छ । मेरी बहिनी कक्षा आठमा पढ्छिन् । आफूले पढ्न नपाए पनि मैले जस्तोसुकै दुखकष्ट सहेर पनि बहिनीलाई ठूलो मान्छे बनाउने इच्छा छ । उनको कापी, कलम, पोसाक, खाजा खर्च सबै मैले पठाउने गर्छु । आमाले त भन्नुहुन्छ– यति सानो उमेरमा किन टाढाटाढा काम गर्न जान्छेस्, म ऋण खोजेर भए पनि तिमीहरूको लालनपालन गरौँला भनेर । आमा ५० वर्ष पुगिसक्नुभयो । यो उमेरमा आमालाई कसरी ऋणको बोझ बोकाएर म त्यसै बस्न सकुँला र ! त्यसैले पनि आफ्नो बिरानो ठाउँ, दुःख कष्ट नभनी काम गर्न विभिन्न ठाउँमा पुग्ने गर्छु । 

मजदुरीका क्रममा विभिन्न ठाउँमा जाँदा मलाई लेखपढ गर्ने उमेरमा किन काम गर्न आएको भनी धेरैले सोध्ने गर्छन् । त्यो प्रश्नले मेरो मुटुभित्रै घोच्ने गर्छ । सिधै रहर नभइ बाध्यता भएको बताउने गर्छु । मलाई पनि आफ्नो उमेरका साथीभाइले विद्यालयमा पढाइलेखाइ गरेको देख्दा स्कुल जान मन लाग्छ । पढ्न मन लाग्छ । अरूको जस्तै मेरो बुवा पनि हामीसँगै भएको भए, मेरो घरको आर्थिक अवस्था राम्रो भएको भए म पनि पढ्न पाउँथेँ जस्तो लाग्छ । तर के गर्नु सबैकुरा मन हुँदाहुँदै पनि भाग्य र कर्मले ठगेपछि कसैको केही नलाग्दो रहेछ ।

कहिलेकाहीँ आफ्नो अवस्था देखेर डाँको छोडेर रुन मन लाग्छ । मन भक्कानिएर आउँदा एकान्तमा बसेर एक्लै बेस्मारी रुने गर्छु । घरमा हुँदा आमाका अगाडि कहिल्यै रुँदिनँ । आमाले देखेर पिर मान्नुहोला भनेर एकान्तमा गएर रुन्छु । किनभने, आमाका अगाडि रोएँ भने आमाले पिर गर्नुहुन्छ । त्यही भएर पनि आमाका आगडि सधैं खुसी देखिने प्रयास गर्छु ।

अब त पढ्ने सपना पनि हरायो । आमालगायत घर–परिवारको खुसी नै मेरो खुसी हो । सकभर आमा र बहिनीहरूलाई छोडेर बिहे गर्दिनँ । गरिहालेँ भने पनि उहाँहरूलाई केही वर्ष पुग्ने पैसा कमाएर मात्र बिहे गरेर जान्छु ।

प्रस्तुति : रामचन्द्र न्यौपाने

विष्णु घर्ती

Link copied successfully