बुवाले आमासँग सम्बन्धविच्छेद गरेपछि रोल्पाकी एक बालिका परिवारको घरखर्च जुटाउन डोल्पामा मजदुरी गर्न पुगेकी छन्।
What you should know
डोल्पा — खेतीपातीले नपुग्ने भएकाले मजदुरी गर्न देशका विभिन्न ठाउँमा पुग्ने गर्छु । यसपटक मजदुरीका लागि डोल्पाको त्रिपुरासुन्दरी–४ रङगमा आएकी छु । अहिले सत्र वर्षकी भएँ । तर, सम्पूर्ण घरखर्चको जिम्मेवारी मेरै काँधमा छ ।
रोल्पाको गंगादेव गाउँपालिका–१, ओतजवाङमा मेरो घर छ । घरमा आमा र बहिनीहरूको लवाइखवाइको जिम्मेवारी लिनु परेको छ । घरको काम आमाले धानिरहनु भएको छ । परिवारमा ९ जना छौं । हामी सात जना त भाइबहिनी मात्रै हौं । म साइली दिदीपछिकी हुँ । एक जना दाइ हुनुहुन्छ । ६ जना दिदीबहिनी छौं । दुई जना दिदीको बिहे भइसक्यो । बिहे गरेर गएकी एक जना दिदीपनि हामीसँगै बस्नुहुन्छ ।
दुई वर्षअघि बुवाले सम्बन्धविच्छेद गरेकाले हामी आमासँगै आफन्तको घरमा बसिरहेका छौं । बुवाले छोरी धेरै भए भनेर आमासँग सम्बन्धविच्छेद गर्नुभएको हो । दाइ पनि बिहे गरेपछि छुट्टै बस्नुहुन्छ । दाइले परिवारको वास्ता नगरेकाले म आफैं अघि सर्नु परेको हो । मैले १३ वर्षको उमेरदेखि मजदुरी सुरु गरेकी हुँ । १४ वर्षको उमेरमा भारतको हिमाचल प्रदेश पुगेर मजदुरी गरेँ । त्यहाँ पनि स्याउ प्याकिङ गर्ने काम थियो । त्यहाँ एकछिन पनि आराम गर्न मिल्थेन । एकछिन बस्यो कि मालिकको कचकच सुन्नु पर्थ्यो । तर, काम सिक्ने मौका मिल्यो ।
यसपटक स्याउ प्याकिङको काम गर्न डोल्पा आएको एक साता पुग्यो । ठेकेदार अंकलसँग सम्पर्क भएपछि दुई दिन लगाएर डोल्पा आएकी हुँ । डोल्पामा अहिले स्याउ टिप्ने मौसम चलेको छ । त्यसैले स्याउ ग्रेडिङ गरेर कार्टुनमा प्याक गर्ने काम पाएकी छु । मसँगै मेरो दिदी पनि आउनु भएको छ । दुई बहिनी बिहानदेखि साँझैसम्म काम गर्छौं । ठेकेदार अंकलले एक दिनको खानपानबाहेक ८ सय रुपैयाँ ज्याला दिन्छु भन्नुभएको छ । डोल्पा जिल्ला राम्रो लाग्यो । हामी काम गरेर गुजारा गर्ने मान्छेलाई प्राकृतिक सुन्दरता क्षणिक हुने रहेछ ।
सायद मेरो भाग्य नै यस्तै होला । कामको खोजीमा कहिले कता कहिले कता पुग्छु । अब दशैँ तिहार मनाएर काठमाडौं जानुपर्ला । त्यहाँ इँटाभट्टामा काम पाइन्छ । पहिला पनि एकपटक काभ्रे र भक्तपुरमा इँटा बोक्ने काम गरेकी थिएँ । एकपटक रोल्पामै सडकको काम गरेको ५० हजार ज्याला ठेकेदारले अझै दिनुभएको छैन । अहिले ठ्याक्कै दुई वर्ष भयो । हामी मजदुरी गर्नेलाई ज्याला ठगिदिँदा झनै समस्या हुने रहेछ । आमाले मैले पठाएकै पैसाले नुन, तेल, चामल, बहिनीलाई लत्ताकपडा किन्नुहुन्छ ।
मेरो कमाइबाटै घर परिवारको जीविका चल्छ । यसबाहेक बहिनी पढाउने जिम्मेवारी पनि मेरै काँधमा छ । मेरी बहिनी कक्षा आठमा पढ्छिन् । आफूले पढ्न नपाए पनि मैले जस्तोसुकै दुखकष्ट सहेर पनि बहिनीलाई ठूलो मान्छे बनाउने इच्छा छ । उनको कापी, कलम, पोसाक, खाजा खर्च सबै मैले पठाउने गर्छु । आमाले त भन्नुहुन्छ– यति सानो उमेरमा किन टाढाटाढा काम गर्न जान्छेस्, म ऋण खोजेर भए पनि तिमीहरूको लालनपालन गरौँला भनेर । आमा ५० वर्ष पुगिसक्नुभयो । यो उमेरमा आमालाई कसरी ऋणको बोझ बोकाएर म त्यसै बस्न सकुँला र ! त्यसैले पनि आफ्नो बिरानो ठाउँ, दुःख कष्ट नभनी काम गर्न विभिन्न ठाउँमा पुग्ने गर्छु ।
मजदुरीका क्रममा विभिन्न ठाउँमा जाँदा मलाई लेखपढ गर्ने उमेरमा किन काम गर्न आएको भनी धेरैले सोध्ने गर्छन् । त्यो प्रश्नले मेरो मुटुभित्रै घोच्ने गर्छ । सिधै रहर नभइ बाध्यता भएको बताउने गर्छु । मलाई पनि आफ्नो उमेरका साथीभाइले विद्यालयमा पढाइलेखाइ गरेको देख्दा स्कुल जान मन लाग्छ । पढ्न मन लाग्छ । अरूको जस्तै मेरो बुवा पनि हामीसँगै भएको भए, मेरो घरको आर्थिक अवस्था राम्रो भएको भए म पनि पढ्न पाउँथेँ जस्तो लाग्छ । तर के गर्नु सबैकुरा मन हुँदाहुँदै पनि भाग्य र कर्मले ठगेपछि कसैको केही नलाग्दो रहेछ ।
कहिलेकाहीँ आफ्नो अवस्था देखेर डाँको छोडेर रुन मन लाग्छ । मन भक्कानिएर आउँदा एकान्तमा बसेर एक्लै बेस्मारी रुने गर्छु । घरमा हुँदा आमाका अगाडि कहिल्यै रुँदिनँ । आमाले देखेर पिर मान्नुहोला भनेर एकान्तमा गएर रुन्छु । किनभने, आमाका अगाडि रोएँ भने आमाले पिर गर्नुहुन्छ । त्यही भएर पनि आमाका आगडि सधैं खुसी देखिने प्रयास गर्छु ।
अब त पढ्ने सपना पनि हरायो । आमालगायत घर–परिवारको खुसी नै मेरो खुसी हो । सकभर आमा र बहिनीहरूलाई छोडेर बिहे गर्दिनँ । गरिहालेँ भने पनि उहाँहरूलाई केही वर्ष पुग्ने पैसा कमाएर मात्र बिहे गरेर जान्छु ।
प्रस्तुति : रामचन्द्र न्यौपाने
