सन्तानको सपना पूरा गर्न बोकेको भारी अझै बिसाउन नपाएका जुम्लाको सिंजाका लक्ष्मीकान्त आचार्यले यसैलाई एक असल अभिभावको कर्तव्य पनि ठानेका छन् ।
What you should know
गुल्मी — म अहिले ६४ वर्षको भएँ । मेरो घर जुम्लाको सिंजा गाउँपालिका–२ मा पर्दछ । म विगत १५ वर्षदेखि गुल्मीमा मौसम अनुसारका फरक–फरक उत्पादनको व्यापार गर्दै आएको छु । यसभन्दा अगाडि मैले नेपालका १५ भन्दा बढी जिल्लामा यसरी नै व्यापारका लागि हिँडिसकेको छु ।
मैले भारी बोकेर सामान बेच्न थालेको ४४ वर्ष पुग्यो । सन्तानको सपना पूरा गर्न बोकेको भारी अझै बिसाएको छैन । यसलाई एक असल अभिभावको कर्तव्य नै ठानेको छु । घरको जिम्मेवारी पूरा गर्ने पनि मेरो अर्को जिम्मेवारी हो । थाकेर पछि हट्ने कुरा पनि आएन । सकेको उमेरसम्म यही पेसालाई निरन्तरता दिन्छु । जुम्लाको स्थानीय उत्पादन स्याउ, दाल, धान, गेडागुडी र राडीपाखीका सामग्रीहरू समयअनुसार बेच्ने गरेको छु ।
केही सामग्री आफैं उत्पादन गरेका पनि छन् । त्यी सामग्री बेच्दा अलिक बढी फाइदा पनि हुन्छ । केही सामग्री खरिद गरेर ल्याउने हो, महङ्गो भाडादरका कारण खर्च मात्रै उठ्छ । तर जुम्लाको आफ्नो स्थानीय उत्पादन बेच्न पाउँदा आत्मसन्तुष्टि मिल्छ । खुसीले गद्गद हुन्छु ।
दिनभर हिँड्दा औसतमा २ हजारदेखि ३ हजार रुपैयाँसम्मका सामग्री बिक्री हुन्छन् । जसबाट ५ सयदेखि ७ सय रुपैयाँसम्म फाइदा हुन्छ । यसैले घरखर्च राम्रैसँग चलेको छ । भान्सामा मिठोमसिनो राम्रै पाक्छ । त्यति महत्त्वाकांक्षी परिवार हाम्रो छैन । सामान्य खानपान र लुगाफाटामै सन्तुष्ट हुन्छौं । छोराले अहिले आफ्नै लागि कमाउन थाले । श्रीमती धर्मकन्या आचार्य र मलाई लुगाफाटाकै लागि पैसा छुट्टै चाहिँदैन । जसोतसो निर्वाह गरिरहेका हुन्छौं ।
खानपानमा हुने साधारण खर्च हो । दाल, भात र तरकारी भए पुग्छ । चाडपर्वमा पनि हामी भड्किलो खर्च गर्दैनौं । चाडपर्व आएकै कारण हामीलाई चिन्ता हुँदैन । सामान्य खर्चले चाडपर्व मनाइरहेका हुन्छौं । श्रीमती धर्मकन्या पनि मेरो यही पेसामा सन्तुष्ट छिन् । उनले घरायसी कामसँगै घरकै यताउता काम गर्छिन् । सामान्य भए पनि धान, दाल र गेडागुडी घरमा उत्पादन हुन्छ ।
मैले यसरी नै सामग्री बेचेर छोरा हेमन्तलाई मेकानिकल इन्जिनियर बनाएको छु । अहिले उसैले आफ्नो खर्च धानेको छ । छोरालाई सही बाटो देखाएकामा गर्व लाग्छ । छोराछोरीको रहरलाई लक्ष्यसम्म पुर्याउन पसिनै बगाएर सपना बुनेको हुँ । यो अभिावकको एउटा कर्तव्य पनि हो । छोरालाई इन्जिनियरिङ अध्ययन गराउने सपना पूरा भएको छ । राडीपाखी बिक्री गरेकै भरमा छोरालाई इन्जिनियर बनाउँदाको आनन्द पनि बेग्लै छ । छोराको रहरका लागि आफ्ना सपनालाई तिलाञ्जली दिएँ । मेरा पनि सबै सपना पूरा भए । मिहेनत गरे कुनै सपना अधुरो हुँदैन जस्तो लाग्छ ।
अर्को छोरा धीरेन्द्र यसरी मजस्तै मौसमी व्यापारमा लागेको छ । ऊ पछिल्लो पुस्ताको पनि हो । यसैबाट सन्तुष्ट हुने गरी आम्दानी गरेको छ । पेसाको निरन्तरता र व्यावसायिकताका कारण उसको कर्मप्रति मलाई खुसी लाग्छ ।
म अहिले गुल्मीको रेसुङ्गा नगरपालिका–२ मा बस्छु । व्यापारका लागि हिँड्दै गर्दा १५ वर्षअघि गुल्मी आएको थिएँ । यहाँको शीतल मौसमका कारण म लामो समयसम्म यतै बस्ने निधो गरेको हुँ । जुम्लाको हाम्रो मौसम र यहाँ तम्घासको मौसम एउटै एउटै छ । यता बसे पनि हावापानी पनि उस्तै र व्यापार पनि राम्रो हुने भएपछि यतैको बसाइँलाई निरन्तरता दिएको हुँ । जति उमेरसम्म यसरी व्यापार गर्छु, यतै गुल्मी तम्घासमा गर्छु भनेर बसेको छु ।
भदौ, असोज र कात्तिकमा स्याउ बेच्न तम्घासमै हुन्छु । मंसिर, पुस, माघ र फागुनमा तम्घासमा राडीपाखीका समग्री बेच्छु । अघिपछि भेडाको ऊनबाट राडीपाखी बनाउनेसँगै धान, गेडागुडी, फलफूल उत्पादनका लागि जुम्लामै बस्छु ।
व्यापारका लागि गुल्मीका गाउँगाउँमा पुग्छु । म गाउँमा बिक्रीका लागि जाँदा जुम्लाको स्थानीय सामान भनेर मन पराउने भेटिन्छन् । जुम्लामा उत्पादन हुने सामग्रीले राम्रो मूल्य पाउँदा खुसी लाग्छ । जुम्लाबाट ३२ वषअघि २०५० मा नेपालगन्जसम्म आउँदा पैदल ८ दिनसम्म हिँडेको अनुभव छ । तर अहिले जुम्लाबाट गाडीमा ३ दिनमा गुल्मीको तम्घाससम्म आइपुगिन्छ । पहिले भन्दा व्यापार व्यवसायमा थप सहज भएको अनुभूति हुन्छ ।
आत्मनिर्भर बन्नका लागि मिहिनेत चाहिन्छ । जिम्मेवारीले मलाई सधैं मिहिनेत गर्न सिकायो । अहिले छोरा पनि आफैं आत्मनिर्भर बन्दा खुसी लागेको छ । सानै भए पनि आफूले गरिरहेको कामलाई निरन्तरता दिनुपर्छ । अवश्य एकदिन सफलता मिल्छ जस्तो लाग्छ । काम सानोठूलो हुँदैन । जता गए पनि काम गरेरै खाने हो । त्यसैले आफूले गरेको कामलाई जिम्मेवारी ठानेर निरन्तर गर्नुपर्छ, यसो गर्दा पेसामा टिकिन्छ अनि जीवनमा सफल भइन्छ ।
प्रस्तुति : सन्तोष महतारा
