गोरखामा डेरा गरी फलफूल व्यापार गर्दै जीवन चलाउने एक परिवारको संघर्ष र नाफा घाटाको कथा।
What you should know
गोरखा — बिहान निन्द्राले छाडेदेखि आजको दिन कति कमाइ होला भन्ने पिर सुरु हुन्छ । मेरो काम भनेको सिजनमा पाइने फलफूल डोकोमा बोकेर घर/घरै पुर्याउँछु । अहिले केराको सिजन छ । यसरी मौसमी फलफूल बेच्न थालेको आठ वर्षजति भयो ।
चितवनबाट २०/२५ घरी केरा ल्याउँछु । साना र ठूला काँचा कोसा एउटालाई ६ रुपैयाँ पर्छ । एक दर्जन केरा बेच्दा १५/२० रुपैयाँ नाफा आउँछ । घरघरै नपुर्याए पाकेको केरा खेर जान्छ । कहिलेकाहीँ दिनभर डुल्दा पनि एक डोको केरा बिक्री हुन हम्मे/हम्मे पर्छ । हरेक फलफूल सिजनअनुसार यसरी नै बेच्ने हो ।
अस्तिताका आँपको सिजन थियो, डोकोमा हालेर गोरखा बजार चहारेँ । अब सुन्तलाको सिजन आउँछ, स्याउको सिजन आउँछ, डोकोमा बोकेर घर/घरमै पुर्याएर बेच्छु ।
श्रीमतीले पनि गोरखाको बीपीचोकमा बसेर फलफूल बिक्री गर्छिन् । फुटपाथमा बस्न नदिने सुनेपछि महिनाको ८ हजार तिरेर सटर भाडामा लिएका थियौं । भाडा तिर्न मुस्किल पर्यो । तीन महिना सटरमा बस्दा चितवनबाट ल्याएको फलफूल झार्न र राख्न पनि सजिलो भएको थियो । महिनामा ८ हजार नाफा नभएपछि भाडा तिर्न समस्या भयो । त्यसपछि पुनः सटर छाडेर मैले घर घर पुर्याउने, श्रीमतीले फुटपाथमा बसेर बिक्री गर्न थाल्यौं ।
फलफूल बेचेर आएको नाफाले खानेकुरा किन्ने, बस्ने कोठाको भाडा तिर्ने, छोराछोरी पढाउने हो । फलफूल घर/घरमा पुर्याउँदा भाउ घटाइदिन्छन् । सय रुपैयाँ पर्ने एक घरी केरालाई ८०, ७०, ६० भन्दै भाउ घटाएर किन्न खोज्छन् । घरमा पुर्याइदिएपछि दुई–चार पैसा बढाएर दिम भन्ने हुँदैन, झन् सस्तो खोज्छन् । यही फलफूल बेच्दा बुढाबुढीको गरेर दिनमा ६/७ सय रुपैयाँ हुन्छ । त्यसैले नुन, तेल, छोराछोरीलाई कापी, कलम किन्ने हो । ठूलो खर्च भनेको खान, कोठा भाडा र छोराछोरीलाई पढाउनै जाँदो रहेछ । भाडामा बस्दा झनै पैसा खर्च हुन्छ । बचत भने गर्नै सकेका छैनौं ।
कमाइ नभए बिहान–बेलुकीको छाक टर्दैन । भीमसेन थापा गाउँपालिका–५ बगुवाको लामाचौर घर हो । अहिले ४२ वर्ष लागेँ । गाउँमा सधैँ मेलापात गरेर हिडिँन्थ्यो । बजार गएर कामधाम पनि हुन्छ, छोराछोरी पनि राम्रो स्कुल पढाउन पाइन्छ भन्ने सोचेर १२ वर्षअघि गोरखा बजारमा डेरा लिएर बस्न थालेका हौं । श्रीमती, छोरा र छोरी छन् । दुईवटा बस्ने कोठाको भाडा महिनामा ५ हजार तिर्नुपर्छ । फलफूल बेच्न नपरेको दिन ज्यामी काम गर्ने गरेको छु । एक महिनामा ३० हजारसम्म कमाउन सके बजारको ठाउँमा चार जनाको परिवारलाई बस्न र खान ठिकै हुँदो रहेछ । यही कमाउन हाडछाला खियाउनु परेको छ ।
बजारको ठाउँ हरेक कुरा किन्नुपर्छ । छोराछोरी पढाउनै पर्यो । छोरा ८ कक्षामा, छोरीले १२ सिध्याएकी छे । म्यानेजमेन्ट पढाउन छोरीलाई काठमाडौं पठाएको छु । काठमाडौंमा भए जागिर पनि मिल्छ, पढ्न पनि पाइन्छ भनेर पठाएको हुँ । यतिका दुःख गरेको यिनै छोराछोरीका लागि हो । यिनीहरूले राम्रो पढिदिए हामीलाई जस्तै दुःख हुन्थेन ।
जग्गाजमिन गाउँमा पनि धेरै छैन । ४ हल मेलाको पाखोबारी छ । बा–आमाले मकै, कोदो लगाउनु भएको छ । खेत छैन । त्यही बारीको तरकारी बा–आमा बजार आउँदा बेला–बेला ल्याइदिनुहुन्छ । बुवा–आमालाई गाउँमा वृद्धभत्ता, खेतीकिसानी, बाख्रा, कुखुरा पालेर खान पुगेको छ । बजार आउँदा गाडी भाडा दिन्छु । दसैं तिहार चाडपर्वमा पनि आफूसँग जेजति छ, त्यही अनुसार चल्नुपर्यो । खान बस्नै ठिक्क छ, अरुको देखासिकी गरेर चाडपर्व भनेर खर्च गर्ने कुरो पनि भएन । महिनाको १५ हजार जति नै लोभ गरे पनि खर्च हुन्छ । दिनदिनै खर्च गर्दा कति सिद्धिन्छ भन्ने हिसाब त गरेको छैन । अभाव भएको कुरा किन्नै पर्यो । दिनरात पसिना बगाएका छौं, भाडा नै तिर्नु नपर्ने, खान नै नपाउने अवस्था भने आएको छैन ।
हामी बुढाबुढी दुवैमा कुनै रोग छैन । रुघा खोकी सिजनल ज्वरोबाहेक उपचारमा खर्च गर्नुपरेको छैन । अलिक राम्रो कमाइ होला भनेर इन्डिया (भारत) पनि जाने आउने गर्थें । बुवा पहिले भारतको गुजरातमा नोकरी गर्नुहुन्थ्यो । म पनि १६ वर्ष काम गर्न गुजरात बसेँ । त्यहाँ दलाल बढी हुन्छन् । बेस्सरी दुःख पाइयो ।
मैले धेरै पढेको छैन । ३ कक्षामात्र पढेको छु । चार सय, पाँच सय रुपैयाँ दिएर पनि काममा लगाउँथेँ । भूकम्पको साल (२०७२) मा फर्किर्एपछि भने कलकत्ता गएको छैन । बुढीले छोराछोरी पढाउन गोरखा बजारमा कोठा भाडामा लिएर बस्न थालेपछि कहिले ज्यामी काम, कहिले यही फलफूल डोकोमा बोकेर बेच्न थालेको हुँ । पाँच महिनाअघि होटलमा राम्रो काम छ भनेपछि भारतको हैदरावाद गएको बढो आपत् पाइयो ।
एक महिनाजति हैदरावादमा बसेँ । होटलमा भनेको काम पाइएन । एउटा गार्डेन थियो, एउटा अड्डाजस्तो ठाउँमा बसेपछि त्यहाँ दिन गिन्तीमा काम गर्नका लागि मान्छे खोज्न आउँथे । तीन सय, पाँच सयमा बिहानदेखि बेलुकीसम्म काम लगाउँथे । फेरि राती त्यही गार्डेनमा सुत्न आउँथेँ । एक महिनाजति सडकमा सुतेँ, बसेँ । मोबाइल र एउटा झोला पनि हरायो । हैदरावादबाट गोरखा फर्किन १५/२० हजार भाडा नै लाग्थ्यो । काम पनि राम्रो पाइएन, सुत्न र बस्न पनि आपत् भएपछि गोरखा फर्कने सोचेँ ।
घरसम्म आउने भाडासमेत खल्तीमा थिएन । त्यहाँबाट कलकत्ता गएँ । त्यहाँ ठूलाबावाको छोराहरू थिए । उनीहरूलाई भेटेपछि बुढीले बुढो हरायो भनेर जताततै खबर गरेको थाहा पाएँ । त्यहीँ पुगेर बुढीसँग पनि फोनमा वात गर्न पाएँ । उनीहरूसँग दुई–चार पैसा मागेर त्यही पैसाले नेपाल आइपुगेँ । एक महिनासम्म त्यहाँको दुःख सम्झँदा यहाँ आएर यही फलफूल बेच्दा पनि आनन्द लागेको छ । कमाइ थोरै भए पनि परिवारसँगै बस्न पाइएको छ ।
प्रस्तुति : हरिराम उप्रेती
