कञ्चनपुर — महेन्द्रनगरको जनज्योति चोक प्रायः व्यस्त रहन्छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने भएकाले पनि सवारी साधनदेखि पैदल यात्रुको चहलपहल बढी नै देखिन्छ । बिहानदेखि साँझसम्म यही चोकमा मेरो दिनचर्या बित्छ । हिउँद होस् वा बर्खा– जहिले पनि यही चोकमा समय बिताउँछु । दिनभरि चाउमिन, मःम, फ्राइ राइस र चाट लगायतका खानेकुरा बनाउनमै व्यस्त हुन्छु ।
महेन्द्रनगरको जनज्योति चोकमा ठेला राखेर यसरी व्यापार गर्न थालेको भर्खर तीन वर्ष भयो । दिनमा राम्रो चलेमा एक/डेढ हजार आम्दानी हुन्छ । कहिले पाँच/सात सय पनि हुँदैन । बिहानदेखि साँझसम्म चोकमै हुन्छु । श्रीमती रामतीले मलाई सघाइरहेकी छिन् । यसैबाट घरभाडादेखि रासन र छोराको पढाइ खर्च चलेको छ ।
मेरो घर दार्चुलाको महाकाली नगरपालिका–३ खलंगामा पर्छ । आमाबुवा र दाइभाइ सबै घरमै छन् । १०/१२ वर्ष भारतको दिल्लीमा काम गरेपछि अब आफ्नै देशमा केही गर्नुपर्छ भनेर यता आएको हुँ । एक्लै गाह्रो हुने भएकाले परिवारसहित आएर महेन्द्रनगरकै भासीमा भाडामा बसेका छौं । दिल्लीमा पनि होटलमै काम गर्ने भएकाले यहाँ पनि ठेला राखेर विभिन्न किसिमका खानेकुरा बनाउन थालेको हुँ ।
सुरुमा ठेला खरिद गर्नेदेखि भाँडाकुडाको व्यवस्थापन गर्न डेढ लाख खर्च भयो । कोठा भाडामा लिँदा पनि त्यसको व्यवस्थापनमा पनि खर्च नै भयो । रासनदेखि तरकारी सबै किनेरै खानुपर्छ ।
छोराको स्कुल फिस र कापी–किताबमै महिनामा ५/७ हजार खर्च आउँछ । त्यसपछि साढे ३ हजार कोठाको भाडा तिर्छौं । महिनामा रासन र साग तरकारी लगायतमा १०/१२ हजार खर्च आउँछ । महिनामा २०/२५ हजार आम्दानी गर्न नसके घाटामा जान्छु । त्यसकै लागि बिहानदेखि साँझसम्मै दुवै जना खटिएका हुन्छौं ।
मेरो उमेर ३६ वर्ष भयो । २० वर्षकै उमेरमा कामको खोजीमा भारत पसेँ । दिल्लीको होटलमा काम पाएँ । तर जति काम गरे पनि खान लाउन पनि नपुग्ने भएपछि छाडेर घर फर्किएँ । त्यसपछि परिवारकै सल्लाहमा ठेला हालेँ ।
तीन वर्षदेखि ठेलामा व्यवसाय गरिरहेको भए पनि अहिलेसम्म बचत गर्न सकेको छैन । परिवारकै खर्चमा ठिक्क भएको छ । कहिलेकाहीँ परिवारको खर्च पुर्याउन पनि सकिँदैन । तर व्यवसाय राम्रो होला भन्ने आसैआसमा मिहिनेत गरिरहेको छु । एक दिन कसो नहोला भन्ने भन्ने पनि लाग्छ । त्यसैले यतै अलमिलिएको छु ।
भारतमा गएर दुई/चार हजारमा अरूको काम गर्नुभन्दा पनि सानोतिनो भए पनि आफ्नै देशमा काम गर्दा राम्रो हुन्छ भन्ने लागेको छ । अलिकति लगानी बढाउन सके यसैलाई व्यवस्थित गर्ने योजना पनि छ । यसैबाट केही न केही गर्न सकिन्छ भन्ने आसमा छु । अहिले सुरुवातमा धेरै फाइदा नभए पनि भविष्यमा केही न केही हुन्छ भन्ने आशा छ । यो छाडेर अर्को गर्न उपाय र सीप पनि केही छैन ।
पहाडमा आमाबुवा र दाइभाइ बस्छन् । सानोतिनो खेतीपाती पनि छ । तर, त्यसले खान पनि राम्ररी पुग्दैन । घरखर्च चलाउन र केटाकेटी पढाउनसमेत गाह्रो हुने भएकाले तराई झरेको हुँ । अहिले छोरा ६ कक्षामा पढिरहेको छ । उसलाई पढाउन पनि खर्च नै चाहिन्छ । अहिलेसम्म जेनतेन धानेकै छु । भोलिका दिनमा पनि जसोतसो चलिहाल्ला भन्ने विश्वासले ऊर्जावान् हुन्छु ।
प्रस्तुति : भवानी भट्ट
