‘खाडीबाट फर्किएर यहीँको नास्ता पसलमा रमाइरहेको छु’

असार १०, २०८२

अशोक थारु

”Returning from the Gulf, enjoying this breakfast shop”

बर्दिया — स्वदेशमा बस्ने कसको इच्छा हुँदैन ? स्वदेशमा रोजगारीको अभावले मान्छेहरू के के नै गर्छु भनी विदेशिने गर्छन् । विदेशमा सजिलै रुखमै रुपैयाँ टिप्ने जस्तो नहुँदो रहेछ । वैदेशिक रोजगारमा होमिएर उच्चतम् तापक्रममा पसिना बगाएपछि मात्र वास्तविकता थाहा पाइँदो रहेछ । म पनि साढे ४ वर्ष साउदी अरबमा बसेर अनुभव बटुलेर फर्किएँ ।

उमेरले भर्खर ३० वर्षको भएँ । बढैयाताल गाउँपालिका–५ जगतियामा घर छ । पारिवारिक स्थिति नाजुक भएकै कारण बाल्यकाल त्यति सुखमय रहेन । आर्थिक अभावकै बीच हुर्किएँ । कृषिकर्म गरी सुख दुःखले बुवाले कक्षा १२ पास गराउनु भयो । त्यसअगाडि पढ्ने इच्छा हुँदाहुँदै क्षमताले नभ्याएपछि छोड्न बाध्य भएँ ।

पढ्ने इच्छालाई थाती राखेर जागिरको खोजीमा केही दिन भौंतारिएँ । त्यतिबेला नेपाली सेनामा जागिरका लागि प्रयास गरेँ तर असफल भएँ । त्यसपछि बिहे पनि भयो । बेरोजगारीको अवस्थामा जहान पाल्ने जिम्मेवारी काँधमा थपिँदा विदेश जाने निर्णयमा पुगेको थिएँ । स्वदेशमै सुखदुःख गरी बस्ने सोच थियो तर स्वदेशमा व्यवसाय गर्न केही उपाय नलागेपछि बिदेशिन बाध्य भएको थिएँ । विदेशमा अधिकतम् तापक्रममा खटिँदा स्वदेश फर्किएर दुःखसुख गर्ने योजना बनाएर फर्किएँ । 

स्वदेश फर्किएलगत्तै होटल व्यवसाय सुरु गर्ने सोच बनाएँ । बढैयाताल गाउँपालिका–३ वडा कार्यालय नजिक सोरहवा चोकस्थित अर्पण चिया नास्ता पसल खोलेँ । नास्ता पसल खोलेको पनि ४ वर्ष भयो । चिया, समोसा, पकौडी, चाउमिन, दही, जलेबीलगायतका अडर अनुसार नास्ता तयार गर्छु । जुन काममा मलाई श्रीमती शर्मिला थारुले सघाँछिन् । श्रीमती पनि कक्षा १२ पास छिन् । जसले गर्दा दुःखसुख बुझ्छिन् र साथ दिइरहेकी छन् । पसलमा श्रीमतीले साथ दिँदा अन्य स्टाफ राख्नु परेको छैन ।

श्रीमती आफैँ खटिँदा स्टाफलाई तिर्ने खर्च पनि बचेको छ । बढैयाताल गाउँपालिका वडा नम्बर ३, ४ र ५ वडा कार्यालय, नजिकका विद्यालय र संस्थाका कार्यक्रमका लागि नास्ता तयार गरेर पुर्‍याउाछु । बर्दियाको चर्चित बढैयाताल घुम्न आउने आगन्तुक पर्यटक मेरो होटलमा नास्ता खाएर जान्छन् । नास्ता पसलको व्यापार सन्तोषजनक छ । 

पसलमा दम्पती नै दिनभरि व्यस्त हुन्छौँ । घरदेखि पसल अलि टाढा पर्छ, जसले गर्दा पसलसँगै जोडिएको कोठा भाडामा लिएर बस्छौं । कोठा र पसल एकै ठाउँमा हुँदा दैनिक घर जाने आउने झन्झट छैन । ४ वर्षको एउटा छोरा छ ।

आफ्नै अलिकति जग्गा छ । आफ्नै जग्गाको उत्पादनले चामल र दाल किन्नु पर्दैन । नास्ता पसलका लागि अन्य सामान भने किन्छु । सबै खर्च कटाएर मासिक ३५ हजार रुपैयाँ कमाउँछु । छोरा बोर्डिङमा एलकेजीमा पढ्छ । छोराको पढाइको ३ महिनामा ८ देखि १० हजारसम्म खर्च हुन्छ । नुन, तेल, मसला र लत्ताकपडामा खर्च हुन्छ । पसल र कोठा भाडा मासिक ५ हजार तिर्नुपर्छ । त्यसैगरी होटलमा फ्रिज चल्छ, बिजुलीको बिल मासिक ३ देखि ४ हजारसम्म तिर्नुपर्छ । 

खाडीबाट फर्किएर यहीँको नास्ता पसलमा अहिले रमाइरहेको छु । सबै खर्च कटाएर बचेको पैसा अलि अलि बचत पनि गर्छु । यही नास्ता पसलबाट कमाई गरी जगतियामा एक कठ्ठा घडेरी जोडेको छु । अब घर बनाउने ठूलो सपना छ । कर्ममा विश्वास गरी दम्पती नै दिनरात नभनी मिहिनेत गरिरहेका छौं । एक न एक दिन सपना साकार हुने विश्वास छ । 

प्रस्तुति : रामप्रसाद चौहान

अशोक

Link copied successfully