‘ट्याक्सी चलाएर सेवाका साथसाथै मेवा पनि’

सोमबार मेरो ट्याक्सी सुत्केरी, गर्भवती र अशक्त बिरामीका लागि निःशुल्क

असार ८, २०८२

विष्णु काउचा

”Besides service by driving a taxi, also fruit”

बागलुङ — गाउँमा धेरै पढ्ने लेख्ने अवसर मिलेन । तर पनि समाज सेवाको काममा भने सानैदेखि सक्रिय भएँ । त्यसै क्रममा ट्याक्सी चलाउन सिकेको हुँ । यो काम सिकेको त धेरै वर्ष भयो । सामाजिक क्षेत्रमा बढी सक्रिय भएकाले व्यवसायमा जोडिएको थिइनँ । सामाजिक सेवा मात्र गरेर खान नपुग्ने भएपछि केही पेसा त गर्नैपर्छ भनेर जानेको सीप सदुपयोग गर्न ट्याक्सी किनेर चलाइरहेको छु ।

बागलुङको गलकोट नगरपालिका–१० को पाण्डवखानीमा मेरो घर छ । नगरपालिका त भन्न मात्रै हो । अति दुर्गम र विकट छ यो गाउँ । अहिले गलकोट नगरपालिकाको हटिया र हरिचौर लगायतको राजमार्ग छेउछाउमा ट्याक्सी चलाउँछु । पछिल्लो १० वर्षदेखि म ट्याक्सी चलाएर जीवन कटाइरहेको छु । घरखर्च चलाउन केही पेसा त गर्नैपर्छ । त्यसैले मैले यो पेसा रोजेको हुँ । 

सामाजिक सेवाको काम मात्र गरेर जीवन चलाउन त कठिन पर्दो रहेछ । नियमित कमाइ नभएपछि घरखर्च चल्दैन । त्यसैले ट्याक्सी चलाउने निधो गरेँ । गाडीको किस्ता तिर्नु पर्दा पैसा बचाउन कठिन थियो । ट्याक्सी चलाएरै किस्ता तिरिसकेँ । आमाबुवा, पत्नी र दुई सन्तानसहित यो पेसाबाट ६ जनाको परिवार पालिनुपर्छ ।

त्यसका लागि मासिक ४० देखि ५० हजारसम्म कमाइ गर्नैपर्छ । नत्र खान पुग्दैन । भैपरी आउने कामका लागि केही रकम सहकारीमा बचत गर्छु । त्यो बचतले छोराछोरीको भविष्यका लागि चाहिने खर्चको जोहो गर्ने योजना छ । घर–परिवारका सदस्य बिरामी पर्दा पनि त्यही बचतले सहयोग पुगेको छ । 

प्रायः गाउँघरको कमाइ र खर्च थोरै नै हुन्छ । सहरमा भएको भए त्यो कमाइले खान पुग्थेन । तर गाउँमा बसेपछि सानो कमाइ पनि राम्रैजस्तो लाग्छ । सहर केन्द्रित भएर ट्याक्सी चलाउन पाए त मनग्ये कमाइ पनि हुन्छ । तर त्यहाँ सेवा गर्ने वातावरण हुँदैन ।

गाउँमा छिमेकीहरू धेरै छन्, त्यसैले चर्को शुल्क पनि लिने गरेको छैन । छिटफुट रूपमा पोखरा जानै परे धेरै शुल्क लाग्ने हो, नत्र गलकोट क्षेत्रमा ट्याक्सी चलाएर एकपटकमा बढीमा ५ सय रुपैयाँसम्मको मात्र भाडा उठ्छ । पालिकामा काम परेर आउने गाउँले, बिरामी भएर अस्पताल जानेहरू मात्र मेरा सेवाग्राही हुन् । 

धेरैले ट्याक्सी चालकका रूपमा हेरे पनि मलाई भने चालक मात्र भएर बस्न मन लाग्दैन । चालक पेसाबाट पनि केही सेवा गर्न मन लागेर मैले हरेक सोमबार गलकोटको हटिया बजारबाट नगर अस्पताल जाने सुत्केरी, गर्भवती र अशक्त बिरामीको सेवामा निःशुल्क ट्याक्सी चलाउने गरेको छु । सोमबार मेरो ट्याक्सी चढ्ने बिरामीले पैसा तिर्नु पर्दैन ।

समाज सेवा पनि गरौं, व्यवसाय पनि गरौं भन्ने भावनाले मैले यो काम गरेको हुँ । हरिचौरमा रहेको नगर अस्पतालमा गर्भ जाँच गर्ने, सुत्केरी भएकाहरू स्वास्थ्य परीक्षण गर्न आउने, बालबालिकालाई खोप लगाउन आउनेहरू धेरै हुन्छन् । त्यसैले उनीहरूलाई नै सेवा गरौं भनेर साताको एक दिन छुट्याएको छु । यो कामका लागि मैले मेरो फोन नम्बर पनि सबैलाई वितरण गरेको छु । यो कामले अस्पताल जानका लागि खर्च नभएका गर्भवती र सुत्केरीलाई सहयोग पुग्ने मेरो आशा छ ।

ट्याक्सीबाट कमाएको रकमले सेवा गर्न मन लाग्छ । पाण्डवखानी माविमा कृषि प्राविधिक पढाउने अभियान चलाएपछि गाउँमा छोराछोरीले प्राविधिक शिक्षा पढ्न पाए भनेर मैले सहयोग गरेँ । मेरो जस्तै सहयोगले स्थानीय किसानका छोराछोरीले गाउँमै प्राविधिक पढ्न पाऊन् भन्ने लागेको थियो । नभन्दै यो अवसर जुटिसकेको छ ।

ट्याक्सी चलाएर कमाएको पैसाबाट कृषि प्राविधिक पढाउने अभियानमा केही सहयोग गरेको छु । हामीले धेरै पढ्न लेख्न पाइएन, गाउँमा प्राविधिक विद्यालय खुलेको छ । अब सबैले यहीँ पढ्छन्, युवाहरू प्राविधिक बनेर गाउँमै बस्छन् कि भन्ने लागेको छ ।

साढे २ वर्षदेखि सोमबार निशुल्क सेवा गर्दा मैले झण्डै ५ हजार बढी बिरामीको सेवा गर्ने मौका पाएको छु । सोमबार संयोगले मेरो जन्मबार पनि हो । यही दिन सेवा गरौं भन्ने भावना मनमा आएपछि यो काम गरिरहेको छु । कति दिनसम्म सेवा गर्न सक्छु– त्यति दिन सेवा गर्ने योजना छ ।

हटिया बजार मध्यपहाडी लोकमार्गमा पर्छ भने हरिचौर बजार त्यहाँबाट ५ किमि उत्तरमा पर्छ । गलकोट नगर अस्पतालले सोमबार गर्भवती परीक्षण र खोप लगाउने सेवा दिएको छ । त्यसैले त्यस दिन धेरै महिला आउने गर्छन् । उनीहरूले सवारी नपाएर अलपत्र परेको देखेपछि यो निर्णयमा पुगेको हुँ ।

गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले पनि गर्भवती महिला, सुत्केरी र साना बालबालिकालाई निःशुल्क सेवा दिएको भन्दै बेलाबेला धन्यवाद दिनुहुन्छ । त्यसले पनि ठूलो हौसला मिल्छ । नगरपालिकाले यस कामका लागि मलाई सम्मान नै गरेको छ । गलकोट नगरपालिका बालमैत्री र पूर्ण खोपयुक्त घोषणा भएको छ ।

नगरको आन्तरिक स्रोत नभएकाले बालबालिकालाई उपचारका लागि अस्पताल आउने सेवा दिन त सकेको छैन । तर मैले जेजति सक्छु त्यो भए पनि गरौं भन्ने लागेको छ । नगर प्रमुख भरत शर्मा गैरेले पनि मेरो कामलाई स्याबासी दिनुएको छ । मैले सेवा गरेको देखेर मेरा सहकर्मी साथीहरूले पनि छिटफुट रूपमा समस्यामा परेका बिरामी देखे भने सहयोग गर्न थालेका छन् ।

प्रस्तुति : प्रकाश बराल

विष्णु

Link copied successfully