देश विदेशका लाखौं पर्यटक घुम्न आउने सौराहा आडैमा बसेर पनि हामीलाई भने खान लाउनकै सकस छ
चितवन — उमेरले नेटो काट्यो । ६० पुग्न एक वर्ष मात्रै बाँकी छ । यो उमेरमा पनि दिनहुँ काम नगरे खान लाउन पाइँदैन । हरेक चिज किन्नै पर्छ । चामल, तरकारी, दाल, नुन, तेललगायत सबै किनेरै खाने हो । किन्नलाई पैसा चाहियो । पैसा कमाउने अरु कुनै उपाय छैन । सधैं यिनै हात–पाखुरा बजार्ने हो । यिनले पनि खोइ कहिलेसम्म साथ दिने हुन् ?
मनमा अनेक कुरा खेल्छन् । थोरै जग्गा भए त खाने अन्न उब्जाउन पाइन्थ्यो भन्ने लाग्छ । हामीले जग्गा किन्न सपनामा पनि सोच्दैनौं । उही अलि अलि पैसा भए जग्गा भाडामा लिएर खेती लगाउन पाए हुन्थ्यो भन्ने सोच आउँछ । त्यसका लागि पनि पैसा भएन ।
मेरो बा मंगल माझी र आमा आशा माझीको म कान्छो छोरा हुँ । हामीलाई माझी पनि भन्छन्, मुसहर पनि भन्छन् । हाम्रो पुर्ख्यौली घर बाराको सिमरा–जितपुरमा रहेछ । म पाँच वर्षको हुँदा बाआमा हामीलाई लिएर चितवन सौराहा आडको मालपुर गाउँदेखि पूर्वतर्फ रहेको माझी मुसहर बस्तीमा बस्न थाल्नु भएको हो । माझी मुसहर भनेको माछा मार्ने, डुंगा चलाउने, खोला नदीसँग सम्बन्धित काम गर्ने समुदाय हो । तर हाम्रो पालासम्म यस्तो काम निकै कम हुँदै गएको छ ।
जितपुरमा पनि हाम्रो आफ्नो खेतबारी थिएन । चितवनमा पनि हुने कुरा भएन । हामीलाई संघसंस्थाले जग्गा किनेर उनीहरूले नै घर बनाएर राखेका हुन् । अहिले पुरानो ठाउँभन्दा केही पर पूर्व–दक्षिण रत्ननगर नगरपालिका–७ सिसुवारमा छौं । पुरानो बस्तीबाट २६ घर मुसहरलाई रोटरी क्लबले यहाँ ल्याएर घर बनाएर राखेको हो । यहाँ पनि हामी उही संस्थाले बनाइदिएको घरमा नै बसेका छौं । घरभन्दा अरू कतै खाली जमिन छैन । तरकारी र चट्नी खान, साग–सब्जी, धनिया, पुदिना उब्जाउने ठाउँ पनि छैन । दोकानबाट किन्ने हो सबै ।
मैले घरको गाह्रो लगाउने मिस्त्रीको काम गर्छु । दिनको हजार रुपैयाँ ज्याला छ । तर सधैं काम पाइँदैन । बर्खाका दुई–चार महिना पूरै खाली बस्ने हो । त्यही सात–आठ महिना काम हुन्छ । महिनामा २०/२२ दिन काम गर्न पाइयो भने धन्य भन्नु पर्दछ । नभए १५ दिनजति काम पाइन्छ । ठेकेदारसँग लागेर काम गरे कामको खाँचो त्यति हुँदैन । तर भनेको बेलामा पैसा पाइँदैन । आफ्नो पैसा लिन पनि साह्र्रै गाह्रो हुन्छ । कसै कसैले त दिदैनन् पनि । त्यसैले आफैंले काम खोज्छु, कसैले खोज्दै आए पनि जान्छु । यसरी कति नै काम पाउने हो र ?
म १५ वर्ष जतिको थिएँ, बाआमाले बसन्तीसँग बिहे गरिदिएका थिए । त्यो बेलाकी श्रीमती बितेको पनि भयो १८ वर्षजति । फेरि मैले नेपाली माझीसँग बिहे गरेँ । नेपाली नातामा मेरो साली पर्ने हुन् । उनका पनि श्रीमान् बितेका थिए । दुःखका बेलामा बिहे गरेको हुँदा हामीबीच मायाप्रेम असाध्यै छ । घरको व्यवहारका बारेमा पनि सरसल्लाह हुन्छ । दुवै मिलेर कमाउन पनि हिडेऊँ । खर्च नपुग्दा कसरी ऋण गर्ने, कहाँ गएर कोसँग ऋण सापटी ल्याउने भन्ने सल्लाह हुन्छ । ऋण नगरी खान पुग्दैन । खास गरेर बर्खामा खानैका लागि ऋण खोज्नु पर्दछ ।
चार वर्षअघि म र श्रीमती मिलेर सरसफाइको काम पनि गर्यौं । निकुञ्जको टिकट काउन्टरदेखि सौराहा राप्ती किनारको ड्याम वरपर सफाइ गर्नु पर्दथ्यो । बिहान चार बजे नै उठेर जान्थ्यौं । कुनै दिन ११ बजेसम्म पनि काम गरियो । रातभर पर्यटकले फालेका प्लास्टिक, बोतल, अन्य फोहर सफा गर्नु पर्दथ्यो । सुरुको वर्ष दुई जनालाई महिनाको १० हजार रुपैयाँ दिए । दोस्रो वर्ष १५ हजार रुपैयाँ पुर्याए । तेस्रो वर्ष भो काम गर्न पर्दैन भने । त्यो पैसाले खर्च चलाउन हामीलाई ठूलो आधार भएको थियो ।
बिहान त्यो काम गरेर दिउँसो मिस्त्री काममा पनि जान पाइथ्यो । तर खोइ के भयो, हामीले गर्दै आएको काम गुमायौं । त्यहाँ काम गर्दाको पैसाले नेपालीले एउटा बाख्रा किनिन् । अहिले खोरमा सानाठूला गरेर पाँचवटा बाख्रा छन् । चारवटा त बेच्यौं पनि । चारवटा बाख्रा बेच्दा ५० हजार रुपैयाँ कमाइयो । मेरो कामबाट महिनामा कमाइ हुँदा १५/२० हजार आउँछ । गारो लगाउने काम नहुँदा खेती किसानीमा ज्याला मजदुरी गर्न जान्छु । अचेल चितवनमा मधेशका खेताला आउँछन् । मेसिन लगाउन थाले ।
खाने लाउने सप्पै किन्न परेपछि बचत नहुँदो रहेछ । मेरो जेठी श्रीमतीतर्फ एउटा छोरा र एउटी छोरी छ । कान्छीतिर मेरा छोराछोरी भएनन् । पहिला उनका थिए । मेरा छोराछोरीको बिहे भयो । छोरो अलग्गै बस्छ । घरमा खाने भनेको हामी बुढाबुढी मात्रै हौं । तर नातिनातिना आउँछन् । महिनामा ६० किलो चामलले पुग्दैन । म प्रेसरको बिरामी हो । उच्च रक्तचाप छ । दबाइ खाइरहेको छु ।
फेरि सिमेन्टमा काम गर्दा छालामा 'एलर्जी' हुन्छ । अहिले पनि दादजस्तो घाउ धब्बा छ । कुनै दिन त भात खान पनि नमिल्ने गरेर हातैभरि घाउ आउँछ । यस्तो बेला सुई लगाउने गरेको छु । यसको उपचारमा पनि खर्च हुने गरेको छ । गाह्रो काम गर्ने भएका कारणले माछा–मासु पनि बेला बेलामा खाऊँ भन्ने हुन्छ, खान्छौं पनि । पैसा यसैमा खर्च भएको छ । बचत गर्न सकिएको छैन । कमाइ नै कति हुन्छ र जोगाउने ? बरु ऋण छ । लघुबित्तबाट किस्तामा तिर्ने गरेर ल्याएको हो । ३० हजार रुपैयाँजति अहिले पनि ऋण छ ।
मेरो कान्छी श्रीमती नेपालीको पनि पहिलो लोग्ने तर्फका छोराछोरी छन् । चाडवर्षमा सबै जम्मा हुने गर्दछौं । सौराहा आडैको हाम्रो गाउँको कथा अनौठोजस्तो लाग्छ । देश विदेशका लाखौं पर्यटक घुम्न आउने सौराहा आडैमा बसेर पनि हामीलाई भने खान लाउनकै सकस छ । हामी पितृऔंसी मनाउँछौं । यो सोह्रश्राद्धको अन्तिम दिनमा पर्दछ । त्यस दिन सबै जम्मा हुन्छौं । दशैं र तिहार पनि मान्छौं । फागु पर्वमा पनि रमाइलो गर्छौं । चाडपर्व मान्नै पर्यो । पर्व मान्न र चुल्हो जलाउन, आङ ढाक्न बाहेक अरु ठूला रहरमा पैसा खर्च गर्न सकिँदैन ।
अलि अलि पैसा भए जग्गा भाडामा लिएर खेती गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । एक कट्ठाका लागि वर्षको दुई हजार रुपैयाँका दरले जग्गा भाडामा लिन पाइँदो रहेछ । १०/२० हजार रुपैयाँ भए पाँच/१० कठ्ठा जग्गा भाडामा लिएर धान, तोरी, मसुरो लगाए दाल, चामल, भुटुन खर्च जोगिन्थ्यो । तर जग्गा भाडामा लिने पैसा नै छैन । हाँस, कुखुरा पाल्न खोजेको पनि हो । एकै पटक २२ वटा कुखुरा मरेपछि आँट हरायो । ज्यानमा अहिले अलिअलि भए पनि बल छ, काम गरिएकै छ, खाने जोहो भएको छ । नसक्दा के हुने हो भन्ने पिर लाग्छ ।
प्रस्तुति : रमेशकुमार पौडेल
