कैलाली — भन्नलाई त सानो परिवार, सुखी परिवार भन्छन् । तर त्यो भनाइ हामो परिवारका हकमा त्यति मिलेजस्तो लाग्दैन । सानै परिवार भए पनि दैनिक गुजारा चलाउनै अनेक दुःख–कष्ट झेल्नु परेको छ ।
मेरो पहाडघर डडेल्धुरा हो । दुई छाक खाना, एकसरो नाना र बच्चाहरूको शिक्षा–दीक्षाका लागि सहज होला भनेर १६ वर्षअगाडि बसाइँ सरेर कञ्चनपुरको महेन्द्रनगर आएका हौं । अहिले यहीँ सानो घर बनाएर बसिरहेका छौं । अहिले मसँग श्रीमान् र दुई सन्तान छन् ।
अहिले परिवारमा कमाउने म मात्रै हो । महेन्द्रनगरमा ठेला राखेर फलफूल बिक्री गर्न थालेको पनि १५ वर्ष भइसक्यो । फलफूल बेचेर घरखर्च धानिरहेकी छु । बिहानदेखि बेलुकासम्म ठेला रुँगेर दिनमा त्यही हजारदेखि १५ सय रुपैयाँ कमाइ हुन्छ । सधैं यस्तो कमाइ हुने भए हाम्रा पनि फुर्मासका दिन आउँथे होलान् । कहिलेकाहीँ त बिहान खाली हात आएजस्तै साँझ पनि रित्तै फर्किनुपर्छ । महिनामा सरदर २० हजार कमाइ हुन्छ । कुनै महिना २५ हजार पनि पुग्छ । तर पहिलाको जस्तो अहिले व्यापार छैन ।
यहाँका धेरै युवा विदेश गइसके । रहलपहल मजदुरी गर्न भारत जान्छन् । घरमा बुढापाका र बच्चा मात्र छन् । उनीहरू सामान किन्न बजार एरियामा आउन सक्दैनन् । बजारमा चहलपहल नभएपछि फलफूल किन्ने मान्छे कहाँबाट आउनू र ? सबैभन्दा बढी मेरो पैसा खाना र छोराछोरीको स्कुल फिसमा खर्च हुन्छ । त्यसपछि उनीहरूका लागि लत्ता–कपडा, घरको सानोतिनो खर्च । एउटा घडेरी बाहेक खेतीपाती गर्नलाई जग्गा–जमिन केही छैन । सबै कुरा किनेर खानु पर्छ । भगवान्को कृपाले रात दिन खटेर भए पनि छोराछोरीलाई बोर्डिङ स्कुल पढाएकी छु । छोराको स्कुल फिस मात्रै ६ हजार र छोरीको ३ हजार तिर्नुपर्छ ।
सासू–ससुरा पहाडमै बस्नु हुन्छ । दुवै जनाले वृद्धभत्ता बुझ्नु हुन्छ । तीन–तीन महिनामा १२ हजारका दरले मिल्ने त्यही भत्ताले पालिनु भएको छ । घर बनाउँदा बैंकबाट १० लाख ऋण लिएकी थिएँ । अहिले त्यसको मासिक किस्ता पनि तिर्नुपर्छ । त्यो बैंकको किस्ता सकियो भने मलाई धेरै सजिलो हुने थियो । जति पैसा कमाउँछु, त्यो सबै खर्च भइहाल्छ । कमाइ एकातिर हुन्छ, छोराछोरी अरुले जे देख्यो त्यो खोज्छन् । उनीहरूले भनेको कुरा पूरा गर्न सकिएन भने पनि साह्रै चित्त दुख्छ । आँखा चिम्लेर भए पनि उनीहरूले भनेको कुरा पूरा गरिदिनुपर्छ ।
अहिलेको महँगो जमानामा सानोतिनो पैसाले पुग्दैन । कमाएको अलिअलि पैसा छोराछोरीको बिहेका लागि भनेर बचत गर्छु । हुन त सय, ५ सय गरेर जम्मा गरेको पैसाले कति पो हुन्थ्यो र ! तर पनि आमाको मन हो, उनीहरूकै लागि भनेर यत्रो दुःख गर्दैछु । बुवाको कमाइ केही छैन, भोलि मैले नै गर्नुपर्ने हो सबै कुरा । नखाई नलाई पनि खर्च कटाएर केही पैसा बचत गर्छु । घरखर्च चलाउँदाखेरि पैसा अपुग हुन्छ । त्यस्तो बेला छिमेकी दिदीबहिनीहरूसँग सरसापट गरेर समस्या टार्छु । परिवारको सबै जिम्मेवारी मेरै टाउकोमा छ ।
कहिलेकाहीँ ठूलो समस्या परेको बेला सरसापट पनि मिल्दैन । त्यस्तो बेला धेरै चिन्ता लाग्छ । के गरौं कसो गरौं भनेर डिप्रेसनमा जाने अवस्थामा पुग्छु । सबै छोडेर मर्दिऊँ कि जस्तो पनि लाग्छ । धेरै चिन्ता लागेको बेला कसैसँग कुरा गरेर मन हलुको बनाउन मन लाग्छ । तर कुरा बुझिदिने मान्छे कोही हुँदैन । अरु जस्तो राम्रो लाउन र राम्रो खान पाए हुन्थ्यो, सुनका गरगहना लगाउन पाए हुन्थ्यो भन्ने चाहना छैन, चाहेर मात्र हुँदैन त्यो अवस्था पनि त छैन । त्यही हो– अहिलेसम्म नाङ्गो र भोको बस्नुपरेको छैन । त्यसैमा सन्तोष मान्छु ।
छोराछोरी बिरामी हुन्छन् कि भन्ने पिरले बढी सताउँछ । ‘बाइचान्स’ त्यस्तो भइहाल्यो भने धेरै पैसा खर्च गरेर उपचार गर्न सक्ने क्षमता छैन । मेरा छोराछोरीलाई केही नहोस् भनेर सधैं भगवानसँग प्रार्थना गर्छु । उनीहरू आफ्नो खुट्टामा उभिएर घरजम गरेर बसून् भन्ने मेरो चाहना छ । त्यसबाहेक अरु ठूलो सपना केही छैन ।
प्रस्तुति : रञ्जना बीसी
