‘थाप्लोमा ऋणको भारी भएकाले निदाउन पनि सक्दिनँ’

असार ६, २०८२

रामकुमारी मझकोटी

”I can't even sleep because of the heavy debt in Thaplo”

तनहुँ — अहिले म ५० वर्ष पुग्न लागेँ । उमेर मात्र उकालो लागेको हो । जीवन त ओरालो यात्रामा छ । जिन्दगानी कर्कलाको पानीजस्तै त रहेछ नि ! सोचेजस्तो बनाउन कहिल्यै नसकिने ! 

अहिले आफ्नो अवस्थाभन्दा छोरीको भविष्य सम्झिएर चिन्ता लाग्छ । मेरो माइत लमजुङ जिल्ला भए पनि १३ वर्षको उमेरदेखि मामा–माइजूसँगै काठमाडौंमै बस्थेँ । करिब डेढ लाख रुपैयाँ खर्च गरेर काठमाडौंमै सिलाइ–कटाइको तालिम लिएर व्यवसाय पनि सुरु गरेँ । व्यवसाय सुरु गर्ने बेला १६ वर्षकी थिएँ । सानैदेखि व्यवसायमा लागेकाले लामो समय विवाह गरिनँ । ३३ वर्षको उमेरमा तनहुँको व्यास नगरपालिका–११ फरकचौरका व्यक्तिसित मेरो विवाह भयो । 

बिहेवारी भएपछि जिम्मेवारी बढ्दै गयो । ३६ वर्षको उमेरमा पहिलो र त्यसको दुई वर्षपछि दोस्रो छोरी जन्माएँ । दोस्रो छोरी जन्मिएपछि मेरो र श्रीमानको सम्बन्धमा चिसोपन आयो । ठूली छोरी सकिरालाई जिम्मा लिएर श्रीमान् मबाट टाढिए । त्यसयता सानी छोरी सिरिसासित अहिले व्यास–२ मा बसिरहेकी छु । सानी छोरी १० वर्षकी भइन् । घर नजिकको संस्थागत विद्यालयमा छोरी अहिले ४ कक्षामा पढ्छिन् । 

सानी छोरी सानैदेखि बिरामी भइरहन्छिन् । ३ वर्षकी हुँदा उनी एक्कासि ढलिन्, डाक्टरलाई देखाउँदा आन्द्रामा समस्या देखियो । करिब ५ वर्षसम्म उनको औषधीउपचार गरेँ । छोरीको औषधी खर्चमै करिब १२ लाख रुपैयाँ सकियो । आफूसँग यति धेरै पैसा कहाँ हुन्थ्यो र ? छिमेकाका व्यक्तिसँग ऋण लिएर उपचार गरेकी थिएँ । जसोतसो सिलाइ–कटाइ गर्दै किस्ता तिर्दै घरखर्च चलाउँदै थिए । २०७७ सालतिर आफैं बिरामी परेँ । दुई वर्षसम्म मेरो हर नै चलेन । २ वर्षसम्म बसेर खाएको, औषधी उपचार गरेको १८ लाख रुपैयाँ बढी खर्च भएको थियो । 

काठमाडौं बसेर सिलाइ–कटाइ गर्दा कमाएको पैसाले जग्गा किनेकी थिएँ, त्यही बेचेर १० लाख रुपैयाँ आएको थियो । जग्गा बेचेर आएको पैसा र केही ऋण गरेर आफ्नो उपचार गरेँ । पछि डाक्टरले सिलाइ–कटाइको काम गर्न हुन्न भनेपछि अटो रिक्सा किनेर चलाउन थालेँ । अहिले अटो चलाउन थालेको पनि तीन वर्ष पुगिसकेको छ । बिहान छोरीलाई विद्यालय पुर्‍याएर अटो चलाउन जान्छु । छोरीको स्कुल छुट्टी हुने समयमा छोरीलाई लिन जान्छु । त्यसपछि बेलुका ६/७ बजेसम्म अटो चलाउँछु । छोरी सानै भएकाले राती धेरै अबेरसम्म काम गर्न सक्दिनँ । 

अरु अटो चालकजस्तै बिहान ६ नबज्दैदेखि बेलुका ९/१० बजेसम्मको समय दिन पाएको भए त कमाइ पनि राम्रै हुन्थ्यो होला । अहिले दिनको त्यही हजार/बाह्र सय रुपैयाँ हुन्छ । कहिले त ५/६ सयमा पनि चित्त बुझाउनु पर्छ । महँगी छ, कमाइ धेरै छैन तर खर्च भने चौतर्फी छ । आमाछोरी बजार क्षेत्रमा दुई कोठा भाडामा लिएर बसेका छौं । महिनाको कोठाभाडा साढे ५ हजार रुपैयाँ तिर्नुपर्छ । छोरीको विद्यालयमा प्रतिमहिना फि मात्रै ३ हजार, ट्युसन नपढाइ हुँदैन, छोरीको कापी–किताब, कलाम, खाजा, घरको रासन, नुनतेल ग्यास भन्यो, कमाइ केही पनि बच्दैन । कहिलेकाहीँ त पुग्दा पनि पुग्दैन ।

घरमा आवश्यक रासन, नुनतेल, मसला, चामल आफूसँग पैसा हुँदा धेरथोर ल्याउने गर्छु । चामल, केही तरकारी, बेसार, तेल भने कहिलेकाहीँ माइतीले हेर्ने गर्नुहुन्छ । अटोबाट भएको आम्दानीले दुई छाक खान पुगिरहेको छ । आफू र छोरी बिरामी हुँदा लिएको ऋण चुक्ता गर्न सकेकी छैन । यो भाग्य भन्ने चिज कस्तो रहेछ है ! काठमाडौं हुँदा त्यही सिलाइ–कटाइको कामबाट घर व्यवहार चलाएकी थिएँ । ज्यानलाई जोखिम भएकाले अहिले सिलाइ–कटाइ छाड्न पर्‍यो ।

अटो चलाएर सिलाइ–कटाइबाट हुनेजति कमाइ नहुने रहेछ । अहिले सिलाइ–कटाइ नै गरिरहेको भए छोरी र आफू बिरामी हुँदा लिएको ऋण तिर्न सक्थेँ होला नि ! ३/४ किस्ताबाहेक अरु तिर्न पनि सकेकी छैन ।

थाप्लोमा ऋणको भारी भएकाले निदाउन पनि सक्दिनँ । कहिलेकाहीँ त धिक्कार लाग्छ आफ्नो जिन्दगी देखेर । दिनरात काम गर्न पाए कमाउँथे होला, ऋण पनि कम गर्दै जान्थेँ होला । अहिले त दिनकै कमायो, दिनमै सकिन्छ । पैसा कमाएर ऋण तिरेर हलुको हुन मन छ । अर्काको नजरमा नगिरौं भन्ने लाग्छ । म जे जस्तो भए पनि छोरीलाई धेरै पढाउन र उसको इच्छा पूरा गर्दिन मन छ । मेरा दुईवटै छोरीलाई एकै ठाउँमा राखेर हुर्काउने ठूलो धोको र चाहना छ ।

प्रस्तुति : सम्झना रसाइली

रामकुमारी

Link copied successfully