‘७ धुरमा बनेको फुसको छाप्रो नै मेरो घर–संसार हो’

भर्खर ५३ वर्षको भएँ, शरीर चलेसम्म काम छोड्दिनँ

असार ५, २०८२

ठग राम 

”7 The hut made of smoke is my home-world”

पर्सा — वीरगन्ज महानगरपालिका–१८, भवानीपुरमा घर भए पनि रोजीरोटीका लागि वीरगन्जको घडिअर्वा पोखरीस्थित दक्षिण–पश्चिम कुनाको सडकपेटीमा बसेर जुत्ता सिलाउने काम गर्छु । घरबाट वीरगन्ज आउजाउ गर्न दैनिक १० किलोमिटर साइकल चलाउनु पर्छ । बच्चैदेखि साइकल चलाउन बानी परेकाले गाह्रो लाग्दैन ।

अहिले म ५३ वर्षको भएँ । बिहान ९ बजे घरबाट आएपछि साँझ ८ बजेसम्म मेरो सडकपेटीमै बास हुन्छ । बिहान सडकमा दरी ओछ्याएर जुत्ता सिउने र चम्काउने सामान राखेपछि मेरो रोजगारी सुरु हुन्छ । बिहान र साँझपख ग्राहक धेरै आउँछन् । धेरै ग्राहक आएका दिन २ देखि ४ सय रुपैयाँ कमाइ हुन्छ । कहिलेकाहीँ ग्राहक आउँदैनन् । त्यस्तो दिन निराश बनेर घर फर्किनुपर्छ । यहाँबाट रित्तै हात घर फर्किनु भनेको भान्सामा दाल–चामल अभाव हुनु हो । 

बुवा–आमाको निधन भइसक्यो । सहोदर भाइ बिगा राम पनि छुट्टिएर बसेको छ । गाउँमा ७ धुर घडेरीमा एउटा सानो फुसको छाप्रो छ । त्यही मेरो घर–संसार हो । परिवारमा पत्नी उमादेवी र २ छोरा र १ छोरी छन् । जेठी छोरी सन्जुलीको विवाह भइसक्यो । कान्छी १७ वर्षीया अन्जुली घरमै आमालाई चुलोचौकामा सघाउँछिन् । जेठो छोरो गोविन्द ३० र कान्छो उद्धव २२ वर्षका भए । जेठोबाट ४ नातिनी र दुई नाति जन्मिएका छन् । कान्छो उद्धवको पनि विवाह तय गरिएको छ । अर्को वर्ष उनको विवाह गर्ने योजना छ । 

मैले कक्षा ५ सम्म मात्र पढ्न पाएँ । केटाकेटी उमेरदेखि नै घर–व्यवहारको भारी बोक्न पर्‍यो । गरिबका छोराछोरीका भाग्य र कर्म नै यस्तै हुन्छ । पढ्न त मन थियो तर पाइएन । वीरगन्जको छिमेकी भारतीय सहर रक्सौल गएर मोचीको काम गर्न सिकेको हुँ । दैनिक त्यहाँ गएर यस्तै काम गर्ने हाम्रै समुदायका व्यक्तिबाट सीप सिकेँ । कतिपयले चमारको जातीय पेसा नै हो भन्ठान्छन् । छालाको काम गर्ने भएकाले पनि यस्तो सोचेका होलान् । हाम्रा कतिपय स्वजातीयले बाजा बजाउने काम पनि गर्छन् । तर मैले त्यो सीप जानिनँ । 

मेरो बुवाले मजदुरी गरेर हामीलाई पाल्नु भएको हो । मैले जुत्ता सिलाएर आफ्ना सन्तान हुर्काएँ । दुःख लेखिएकै हुँदो रहेछ । चाहेर पनि छोड्न नसकिने । मेरा छोराहरूले अहिले त्यही दुःख गरिरहेका छन् । उनीहरूले पनि ५/६ कक्षाभन्दा बढी पढ्न पाएनन् । मेरो दुःख देखेर सानैदेखि उनीहरू पनि मजदुरीको काम गर्न जान थाले । 

मेरा पनि आफ्नै कसिमका दुःख छन् । देब्रे आँखा ५ वर्षअघि बिग्रिएपछि डाक्टरले नानी झिकिदिए । अहिले देब्रे आँखामा सिसाको नक्कली आँखा हालेको छु । एउटै आँखाको भर छ । पत्नी उमालाई सुगर, थाइराइड, रक्तचाप र मुटुको रोग पनि छ । उसको औषधिमूलोमै धेरै खर्च हुन्छ । घरमा बालबालिका समेत गरी १२ जनाको ठूलो परिवार छ । 

मासिक ५० किलो चामल, १० किलो दाल खर्च हुन्छ । २० किलो पिठो पनि चाहिन्छ । तरकारी, मरमसला, दूध–दही आदि खानैपर्छ । सातामा एक पटक भए पनि कुखुराको मासु खान्छौं । रासनमै मात्र महिनामा १२ देखि १५ हजारसम्म खर्च हुन्छ । आफ्नो खेतीपाती छैन । सबै कुरो किनेरै खानु पर्छ । म र दुई छोराको कमाइले जेनतेन घरखर्च चलाएका छौं । घर–व्यवहार गर्ने क्रममा ५ लाख ५० हजार रुपैयाँ ऋण थाप्लोमा छ । 

निर्धन उत्थान बैंकबाट ४ लाख र अर्को लघुवित्तबाट १ लाख ५० हजार रुपैयाँ ऋण लिएको छु । मासिक साँवा व्याज तिर्न पनि ५ देखि ७ हजार रुपैयाँ खर्च हुन्छ । छोराहरूले अब काम नगर्नु भन्छन् । तर म काम नगरी बस्न सक्दिनँ । शरीर चलिरहेको छ । जबसम्म यो चल्छ, काम छोड्दिनँ । मैले काम नगरे उनीहरूलाई एक्लै घर चलाउन गाह्रो पनि हुन्छ । हामी बावुछोराहरूले चाहेर पनि पढ्न सकेनौं । तर नाति–नातिनाले सक्दो पढेर ठूलो मानिस बनून् भन्ने चाहना छ । यो भन्दा ठूलो सपना केही देखेको छैन । हामी गरिबले ठूलो सपना देखेर पूरा हुने पनि त होइन । 

भगवानले पृथ्वीमा जन्म दिएर पठाएको कर्म गर्नलाई हो । कर्म छोड्दिनँ । शरीर यसरी नै रोगमुक्त रही रहोस् । सधैँ काम गर्न पाइयोस् । बिहान–बेलुका हातमुख जोर्न पुगोस् । यो भन्दा बढी केही चाहना पनि छैन । 

प्रस्तुति : शंकर आचार्य

घरखर्च

ठग

Link copied successfully