राजनीतिलाई सेवाभाव र कृषिकर्मलाई पेसाका रूपमा अँगालिरहेको छु
सल्यान — कुमाख–५, कालागाउँमा बसोबास छ । जिन्दगीमा अनेक हन्डर खपेर फेरि खेतीपातीमै रमाइरहेको छु । बुवा–आमाले बालखै छँदा डोर्याउँदै मलाई आफू काम गर्ने खेतबारीमा लैजानु हुन्थ्यो । चार वर्षको उमेरबाट उहाँहरूसँगै काम गरेको सम्झना छ । त्यसैले पनि मलाई पढाइभन्दा कृषि क्षेत्रमा रुचि बढेको हो । त्यसपछि त पढ्न मनै लागेन ।
अलि उमेर पुगेपछि साथीभाइसित १३ वर्षको उमेरमै विद्यालय छाडेर भारतको हिमाचल प्रदेश पुगेँ । त्यहाँ पनि एकै ठाउँमा अडिएर काम गर्न मेसो मिलेन । त्यसैले धेरै ठाउँ चहारियो ।
भारतका विभिन्न स्थानमा ८ वर्ष मजदुरी गर्ने क्रममा पनि कृषिसम्बन्धी काम नै गरेँ । त्यहाँ मिहिनेत अनुसार कमाइ नभएपछि आफ्नै गाउँ फर्किने निधो गरेँ । त्यतिबेला म २० वर्ष पुगेको थिएँ । यहाँ आएपछि बुवा–आमासँगै कृषि पेसा नै गरेँ । मिलेर काम गर्दा खान–लाउन समस्या थिएन ।
२०५२ सालमा तत्कालीन माओवादीले सशस्त्र युद्ध सुरु गर्यो । त्यसपछि म पनि माओवादी पार्टीको सदस्य बनेर युद्धमा होमिएँ । माओवादी सेनामा सामेल भएर काम गरेँ । २०५२ देखि २०६३ सम्म तत्कालीन ‘जनसेना’को बटालियन कमिसार हुँदै कमान्डरसमेत भएँ ।
सशस्त्र युद्धका क्रममा मुलुकका विभिन्न ठाँउमा भएका लडाइँमा सामेल भएँ । २०६० सालमा म्याग्दीको बेनीमा भिडन्तका क्रममा घाइते भएँ । त्यसबेला दुईवटै खुट्टामा लागेका २० भन्दा बढी बमका छर्रा अझै बोकेर हिँडिरहेको छु । लामो समय सशस्त्र युद्धमा सहभागी भएर दुई दर्जनभन्दा बढी स्थानमा लडाइँ गरे पनि मैले कृषि कर्म भुलिनँ ।
२०६३ सालपछि मुलुकमा शान्ति स्थापना भएपछि घर फर्किएर कृषि कर्म गरिरहेको छु । तत्कालीन माओवादी विद्रोहमा सहभागी भएकै बेला २०५७ मा स्थानीय निकायको उपनिर्वाचनमा वडाध्यक्षसमेत निर्वाचित भएको थिएँ ।
पछिल्लो समयमा युवा पुस्ता बिदेशिँदै गएपछि गाउँघरमा खेतीयोग्य जग्गा बाँझिँदै गएकाले मन कुँडियो । त्यसपछि अहिलेको युवा पुस्तालाई कृषिमा आकर्षित गर्न कृषि पेसामा लागेको छु । अहिले ६२ वर्षको भएँ । विगतमा कृषि कर्मअन्तर्गत खेतीपातीमा मात्र सीमित रहेको थिएँ ।
गत वर्षदेखि पूर्ण रूपमा कृषि व्यवसायमा लागेको छु । आफूसँग भएको बाँझो जग्गा खनजोत गरेर र २९ रोपनी भाडामा लिई २ बिघामा अहिले पोलेर खानका लागि बिक्री गर्ने हरियो मकै, काँक्रो, करेला, सिमी, बोडी लगायतका तरकारी र आलु खेती गर्दै आएको छु । आलु मात्र बिक्री गरेर यस वर्ष मैले ६ लाख कमाएँ ।
लामो समयदेखि राजनीतिमा लागे पनि मैले ग्रामीण क्षेत्रको जीवनस्तर उकास्ने मुख्य पेसा भनेको कृषि नै हो भन्ने राम्रेसँग बुझेको छु । त्यही भएर मैले कृषि पेसालाई अगाडि बढाएको हुँ । उमेरका हिसाबले कृषि पेसामा लाग्नु मेरो बाध्यता नभए पनि मैले यो उमेरमा कृषि पेसा अँगालेर वर्षमा ६/७ लाख रुपैयाँ कमाएको देखेर युवा पुस्ता पनि कृषि कर्ममा लागून् भन्ने म चाहन्छु । म बिहानदेखि बेलुकीसम्म खेतबारीमै व्यस्त हुन्छु ।
गत वर्षबाट सुरु गरेको व्यावसायिक खेतीबाट मैले एक वर्षमै ८ लाख रुपैयाँ कमाइसकेको छु । त्यसबाट लगानी खर्च कटाएर ३ लाख रुपैयाँ बचत गर्न सफल भएँ । अहिले ६ जनालाई रोजगारी दिएको छु । माओवादी पार्टीको कर्णाली प्रदेश सदस्य भए पनि राजनीतिसँगै कृषिकर्ममा सक्रिय छु । राजनीतिलाई सेवाभाव र कृषिकर्मलाई पेसाका रूपमा अँगालिरहेको छु ।
दुई छोरा, दुई छोरी र बुढा–बुढी गरेर परिवारमा ६ जना छौं । कान्छो छोराबाहेक सबैले आ–आफ्नो व्यवस्था गरिसकेकाले घरमा ऊसहित हामी बुढाबुढी मात्रै छौं । छोरा र श्रीमतीले काममा सघाउाछन् । देशमा श्रमको महत्व नभएको भन्दै युवापुस्ता प्लस टु पास गरेर खाडी लगायत अन्य मुलुक गइरहेको छ ।
विदेशिएका कतिले राम्रो काम पाए पनि कति दुःख पाएर लगानी र घरबार डुबाइ घर फर्किएका छन् । मेरो छोराले पनि विदेशमा दुःख पाएर फर्किएको हो । यसलाई विदेश जाँदा लागेको ऋण तिर्न हम्मेहम्मे परेको थियो ।
आउँदा दिनमा युवा पुस्ताले दुःख नपाऊन् र घरमै बसेर कृषि पेसालाई आधार बनाई जीविकोपार्जन गर्न सकून् भन्ने म चाहन्छु ।
प्रस्तुति : विप्लव महर्जन
