कमलरी बसेका बेला कहिल्यै ताजा भात खान पाइनँ
दाङ — घरमा तरकारी मात्रै होइन– धान, तोरी, मकैलगायत सबै बालीको थुप्रो हुन्छ । म कृषि उत्पादनसँगै जीवन बिताइरहेकी छु । म दाङको गढवा गाउँपालिका वडा नं. ७, झारबैरामा बस्छु । म अहिले ४० वर्षकी भएँ । मलाई विभिन्न कृषि उत्पादन स्याहार्न भ्याइनभ्याइ हुन्छ । म आफूले खेती गर्नुका साथै अरुले उत्पादन गरेका बाली पनि संकलन गरेर बिक्री गर्छु ।
मैले डेढ बिघा जमिन भाडामा लिएर खेती गरिरहेकी छु । यस वर्ष मात्रै मैले १ लाख १९ हजार रुपैयाँको ४८ क्विन्टल धान, ७६ हजार रुपैयाँको मकै र ६५ हजारको ५ क्विन्टल तोरी बेचेँ । तरकारी बिक्रीको त मैले हिसाब पनि राखेकी छैन । १० कट्ठा जग्गामा तरकारी खेती छ । आलु, टमाटर, सिमी, खरबुजा, लौका, करेला र खुर्सानीको खेती गरेकी छु ।
म खेतीपाती मात्रै होइन, धान काट्ने मेसिन पनि भाडामा दिने गर्छु । मेसिनबाट वर्षमा कम्तीमा १ लाख रुपैयाँ कमाइ हुन्छ । पाँच बर्षदेखि व्यावसायिक खेतीमा छु । न्यून आर्थिक अवस्थाबाट आफ्नै मिहिनेतले माथि उठेकी हुँ । मलाई यस वर्ष गढवा गाउँपालिका र क्रियटिङ पोसिबिलिटिज नेपालले १२ हजार ५ सय रुपैयाँ नगदसहित उत्कृष्ट कृषकका रुपमा सम्मान गरे । सम्मान पाएपछि मलाई झनै हौसला मिलेको छ ।
मेरा एक छोरा र तीन छोरी छन् । छोरा सन्तोषलाई पढाउन नसकेर मैले पढाइ छुटाउन लागेकी थिएँ । त्यति नै बेला सीपी नेपालले छोरा र जेठी छोरी शान्तिको पढाइमा सहयोग गर्यो । त्यसपछि उनीहरूले विद्यालय छोड्नु परेन । अहिले सन्तोष बीकम प्रथम वर्षमा पढ्छन् । उनी स्थानीय स्कुलमा पढाउँछन् पनि । शान्ति बीकम चौथो वर्ष अध्ययनरत छिन् । शान्तिले पनि असल विद्यार्थी भनेर १० हजार रुपैयाँ पुरस्कार पाइन् ।
माइली छोरी सबिना १० र कान्छी श्रृष्टि ४ कक्षामा पढ्दैछन् । आफूले पढ्न नपाए पनि छोराछोरीलाई शिक्षित बनाउने मेरो धोको छ । म १३ वर्षको हुँदा कमलरी बसेकी थिएँ । कमलरी बसेका बेला कहिल्यै ताजा भात खान पाइनँ । सधैँ बासी भात दिन्थे । राम्रो व्यवहार पनि भएन । त्यसपछि म थप बस्न सकिनँ । घर फर्केपछि १५ वर्षमा विवाह भयो ।
सुरुका मेरा दिन निकै दुखद रुपमा बिते । सानो झुप्रो घर थियो । पानी चुहिने, किरा, फट्याङ्ग्राको त्यत्तिकै डर । मैले साक्षरता कक्षा, वित्तीय साक्षरता र तरकारी खेतीको तालिम लिएँ । साक्षरता कक्षाबाट अक्षर लेख्न र हिसाब गर्न सिकेँ । तरकारी खेतीबाट व्यावसायिक कृषक बनेँ । त्यसपछि मात्रै मेरो जिन्दगी परिवर्तन भएको हो ।
मैले व्यावसायिक खेतीबाट कमाएर दुई तलाको पक्की घर बनाएकी छु । धान काट्ने मेसिन किनेँ । श्रीमान् दानबहादुर चौधरीको पनि खेतीपातीमा पूर्ण साथ छ । खेतीपातीमा श्रीमान् श्रीमती खटेर काम गर्छौं । इलेक्ट्रोनिक काम गर्ने श्रीमान् अहिले सबै छोडेर खेतीपातीमै लाग्नुभएको छ । पहिले थोरै तरकारी उत्पादन गरेर टाउकोमा बोकेर बेच्न जान्थेँ । अहिले श्रीमान्ले मोटरसाइकलमा र छोराले साइकलमा तरकारी बेच्न लैजान्छन् । म घरको काम सम्हाल्छु ।
प्रस्तुति : दुर्गालाल केसी
