सप्तरी — श्रीमती र छोराहरूका लागि दुई छाक जोहो गर्न २० वर्षअघि थालेको जुत्ता–चप्पल सिलाउने कामबाट अझै विश्राम लिएको छैन । उमेरले ७० वर्ष नाघिसके पनि काम छोड्न सक्दिनँ । किनकि, यसैबाट घरको चुल्हो जो बल्छ । यसैबाट दुई/चार पैसा जुटाएर नाति–नातिनालाई खुसी राख्न सकेको छु ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ गिधखोरा टोलमा घर छ । ५० वर्षको भएपछि जुत्ता–चप्पल सिलाउने काम थालेको हुँ । सुरुमा उप्किएको सोल सिलाउने, भाँचिएको हिल बनाउने, जुत्ता पालिस गर्ने, सोल र भित्री तलुवा फेर्ने लगायत काम गर्थें ।
त्यसअघि खेतबारीमा ज्याला मजदुरी गरेर परिवारको दैनिकी चलाउँथेँ । गरिब परिवारमा जन्मेपछि परिश्रम गर्नबाट कहिल्यै डराइनँ । घरमा भोको पेट नै बालबच्चा पर्खिरहेका छन् कि भन्ने दिमागमा हमेसा चलिरहन्थ्यो । ज्याला मजदुरी गरेर सात जनाको परिवार चलाइरहँदा पनि साह्रै दुःख चै भएन । तर, हलो जोत्न वा कोदालो चलाउनमा लागेको मिहिनेत जति कहिले मजदुरी पाइनँ । बाध्यताले तैपनि लामो समयसम्म त्यही काम गरिरहेँ । उमेर पनि ढल्कँदै थियो ।
फेरि सधैं ज्याला मजदुरी गर्न नसकिने कुरा मनमा पनि चलिरहेकै थियो । त्यही बेला निधोँ गरे र परिवारको गुजारा चलाउनका लागि सुरु गरेँ जुत्ता–चप्पल सिलाउने काम । जुत्ता–चप्पल सिलाउने काम त पहिलादेखि नै आउँथ्यो । काम गर्न कहिले समस्या पनि भएन । तर, कुन–कुन ठाउँमा पसल थापेर काम गर्दा दुई/चार पैसा बढी आउँछ भन्ने विषय सोच्नुपर्ने थियो ।
त्यस बेला अहिलेको जस्तो पनि थिएन । तीन/चार वटा गाउँका लागि सातामा दुई दिन लाग्ने हाटबजारबाटै दैनिक उपभोगका सरसमान खरिद बिक्री हुन्थ्यो, जुत्ता–चप्पल मर्मत गराउन पनि त्यही हाटमा आउँथे ग्राहक । मलाई पायक पर्ने आसपासका गाउँ पोट्री, पोर्ताहा, बरमझियासहितका ठाउँमा लाग्ने हाटमा पसल थापेर काम गर्न सुरु गरेँ । सुरुकै दिनदेखि पसलको चारैतिर ग्राहक भरिभराउ हुन थाले । २०५९/०६० सालतिर कमाइ र आम्दानी राम्रो हुन्थ्यो । परिवारको गुजारा चलाउने चिन्ता नै रहेन । त्यस बेला सातामा घर चलाएर पनि दुई/तीन सय बचाउँथेँ । तुलनात्मक हिसाबले कुरा गर्दाखेरी अचेल जुत्ता–चप्पल मर्मत गराउने छैनन् नै भन्नपर्छ ।
अचेल एउटा हाटमा मुस्किलले ५/७ जना ग्राहक जुत्ता–चप्पल मर्मत गराउन आउँछन् । पोलिस गराउने त विरलै हो । जुत्ता–चप्पल सिलाउँदा कसैले १० त कसैले २० रुपैयाँ दिन्छन् । सिलाई मर्मत गरेको बढीमा ४० रुपैयाँसम्म पर्छ । त्यसभन्दा बढी त पर्दैर्न पनि । जुत्ता पोलिस गराउने आए भने कसैले ४० रुपैयाँसम्मै दिन्छन् । कसैकसैले २५/३० रुपैयाँ मात्रै पनि दिन्छन् । तर, मैले आजसम्म कसैलाई यति नै दिनुपर्छ भनेर कर गरिनँ । कहिलेकाहीँ कोही आफ्नै हिसाबले पनि बढी नै दिएर जान्छन् । त्यसैले पनि कर गर्ने कारण भेटिनँ ।
पोलिस, ब्रस र धागो किन्दा पनि त्यति धेरै खर्च हुँदैन । एकपटक किन्यो भने ६ महिनासम्म चलिहाल्छ । लाग्ने भनेकै मिहिनेत हो । खासगरी अचेल दिउँसो हाटतिर साइकलमा गइरहँदा अर्को घामले हालत खराब हुन्छ । बाटो छेउमै पसल थाप्नु पर्दा प्रायःजसो त्यहाँ पनि घामै हुन्छ । अढाई बजेदेखि साँझसम्म हाटमा काम सकाएर हिसाब गर्दा दुईदेखि अढाई सयसम्म भएको हुन्छ । यहाँ (पोट्री)मा बुधबार र शनिबार हाट लाग्छ । उता पोर्ताहामा मंगलबार र शुक्रबार । जहाँदेखि मुख्य सडकबाट पूर्वतिर पस्नुभयो नि, हो त्यहाँ बरमझियामा सोमबार र शुक्रबार हाट लाग्छ ।
साताको चार/पाँच दिन हाटमा पसल थापेर काम गर्छु । काम गरेको दिन कम्तीमा डेढ सय रुपैयाँ बचाउनुपर्छ । खर्च त यहीँबाट सुरु भइहाल्छ नि ! सबैभन्दा पहिला यहाँबाट फर्किंदा नाति–नातिनीका लागि २०/३० रुपैयाँको खानेकुरा पनि लिएर जानुपर्छ । मेरा पाँच जना छोराका ९ जना छोराछोरी छन् । चार जना त ठूला भइसके । पाँच जना स्कुल उमेरका नाति–नातिनी छन् । उनीहरू दैनिक १०/१० रुपैयाँ नलिईकन स्कुल जान मान्दैनन् पनि । स्कुल जानुअघि ‘दादा–दादा’ (हजुरबुवा–हजुरबुवा) भन्दै नजिक आएर उभिन्छन् । म पनि एकछिन वास्ता नगरेझैं गर्छु ।
फेरि बिस्तारै खल्तीबाट पैसा झिक्छु र सबैको अनुहारतिर हेर्छु । जब बाँड्न सुरु गर्छु । अनि नानीबाबु मख्ख । उनीहरूका अनुहारमा देखिने त्यो हाँसोसँगै घाम–पानीमा बसेर काम गर्नुपर्दाको दुःख–पीडा सबै बिर्सिन्छु । नानीबाबु खुसीले रमाइरहँदा मेरो मन पनि प्रफुलित हुन्छ । त्यो क्षण मेरा लागि कम्ती खुसीको क्षण होइन । त्यसैले पनि काम गरेको दिन डेढ सय बचाउँछु । बाँकी कुनै दिन ग्राहक नै आएनन् भने अर्को बिहान नाति–नातिनीको त्यो हाँसो कायम राख्न सकुँ ।
अब त छाेराहरू पनि कमाउने भैसके । घरपरिवार उनीहरूकै जिम्मा छ । औषधोपचारका लागि चिन्ता छैन । दैनिक औषधि नै खानुपर्ने जस्तो कुनै रोग छैन । कहिलेकाहीँ रुघाखोकी वा ज्वरो आयो भने औषधि लिनुपर्छ । त्यो सब सामाजिक सुरक्षा भत्ताले निर्वाह भइहाल्छ ।
प्रस्तुतिः विद्यानन्द राम
