पहिले बालीघरेका नाममा २/४ पाथी अन्न लिएर वर्षभरि घरघरमा सिलाउन जानुपर्थ्यो, अहिले त्यो हटेको छ
गुल्मी — सिलाइकटाइ हाम्रो तीन पुस्तादेखिको पेसा हो । हजुरबुबा र बुबाले मेसिन बोकेर गाउँका घरघरमा पुगेर सिलाउने काम गर्नु हुन्थ्यो । मैले पनि बाल्यकालमा यस्तै काम गरेको अलिअलि सम्झना छ । त्यसपछि सिलाइ, कटाइ र बुनाइका लागि धेरै ठाउँमा गएर धेरै समय बिताएको छु ।
मेरो घर चन्द्रकोट गाउँपालिका–४ को चन्द्रकोट भन्ने गाउँमै पर्छ । वि.सं.२०२२ सालमा उपल्लो चन्द्रकोटमा जन्मिएको हुँ । मेरो घर अनि बसोबास अहिले पनि त्यहीँ छ । व्यापारका लागि शान्तिपुरको श्रीलंका टोलमा आउँछु । व्यापार व्यवसाय त अहिले भन्ने मात्रै हो, खासमा दिन काट्न सजिलो भएको छ । घरमा श्रीमती, छोरा–बुहारीसहित हामी ४ जना छौं ।
म १६ वर्षको हुँदा कपडा सिलाउन सिकेको हुँ । अहिले ६० वर्षको भएँ, यसप्रतिको साइनो मेटिएकै छैन । हाम्रो घरखर्च अहिले पनि यही सानो पसलबाट गुजारा भइरहेको छ । राम्रो आम्दानी भन्ने त जीवनमै थाहा भएन । दैनिक ५ सय रुपैयाँ कमाउन सकियो भने अहिले पनि घरखर्च चल्छ । यसैलाई आम्दानी भन्नुपर्छ ।
घरमै बुबाबाट सिकेको यो पेसा मैले बाहिर गएर पनि गरेँ । काठमाडौंमा ५ वर्ष, भारतमा १० वर्ष र यहाँ यसरी व्यापार गरेर बस्न थालेको पनि झन्डै १५ वर्ष पुग्न थालेछ । तुलना नै गर्ने हो भने त पहिले केही न केही राम्रो कमाइ हुन्थ्यो । तर हामीलाई त रेडिमेट कपडाले विस्थापित जस्तै गराएको छ ।
बिहान १० बजे घरबाट १ घण्टा लगाएर ओरालो झर्छु । अनि साँझ ५ बजेपछि डेढ घण्टा उकालो चढेर घर पुग्छु । यो दुःख हेर्ने हो भने त समय बिताउन मात्रै बजार झर्ने हो । कमाइको हिसाब नगर्ने हो भने घरखर्च चलेकामा सन्तुष्ट हुनुपर्छ । मिठोमसिनो खानका लागि पुगेकै छ ।
मेरा १ छोरा र ४ छोरी हुन् । कक्षा १० सम्म सबैलाई पढाएँ । त्यसपछि आ–आफ्नो कर्ममा लागेका छन् । यसैमा पनि आफूलाई सन्तुष्ट मानेको छु । पहिले बालीघरेका नाममा घरघरमा पुगेर सिलाउनु पर्थ्यो । तर वर्षभरि गरेको कामले आधा वर्ष पनि खान पुग्ने थिएन । २/४ पाथी धान, मकै र कोदो दिन्थे । यसैका भरमा वर्षभरि उनीहरूका कपडा सिलाउनु पर्थ्यो ।
अहिले भाडामा बसेर आफैं व्यवसाय गरेको छु । मासिक १ हजार रुपैयाँ भाडा तिर्छु । १५ वर्षदेखि भाडादर एकनास छ । अब बिस्तारै उमेरले पहिले जस्तो काम गर्न सक्दिनँ । उमेरले साथ नदिएपछि सबै चिजबाट बिस्तारै टाढा भइँदो रहेछ ।
आफूले परम्परागत पेसालाई आधुनिक बनाउन सकेकामा आफैंमाथि गर्व लाग्छ । कमाइ हराए पनि एउटा थिति त बसेको छ भन्ने लाग्छ । मेसिन बोकेर सिलाउन हिँड्ने चलन हटेको छ । घरमा परम्परागत नै भए पनि कृषि पेसा गरेका छौं । यसले पनि घरखर्चमा सहयोग गरेको छ । गाउँको कृषिकर्ममा लगानी अनुसारको प्रतिफल त छैन । तैपनि गुजारा चलिरहेकै छ । जमिन बाँझै छोड्न पनि भएन । घरपरिवारमा भुल्नका लागि पनि कृषि पेसा गरेका हौं ।
मसँग अहिले पनि २० वर्षअगाडि साढे ५ हजारमा किनेको सिलाइ मेसिन छ । जुन मर्मत गरेर चलाइरहेको छु । साथमा एउटा इन्टरलक मेसिन पनि छ । यी दुई मेसिनले मेरो घरखर्च पुर्याइरहेका छन् । हातमा सीप र जाँगर हुने हो भने कहीं गए पनि भोकै बस्न पर्दैन । त्यति चाँहि मैले मेरो पेसाबाट अनुभव गरेको छु ।
प्रस्तुति : सन्तोष महतारा
