‘सुखका दिन आए पनि दुःख गर्न छाडेको छैन’

जेनतेन छोराछोरी हुर्काएँ । सबैले उच्च शिक्षा पढेका छन् । अहिले ९ छोराछोरीमध्ये ८ जना प्रहरीमा जागिरे छन् ।

जेष्ठ २३, २०८२

भक्तबहादुर कठायत

”Even though happy days have come, I have not stopped suffering”

जुम्ला — १८ वर्षअघि जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ सिफ्टी गाउँदेखि सदरमुकाम खलंगा आइपुगेको थिएँ । एउटा दुर्गम गाउँको मान्छे सदरमुकाम खलंगामा आएर बस्नु कम्ता चुनौती थिएन । मैले गाउँको ५६ हजार वर्गमिटर जग्गा सबै बेचेर सदरमुकाम आएको थिएँ । 

जग्गा बेचेर आएकाले घर फर्किने अवस्था थिएन । तीन लाख रुपैयाँ हात परेको थियो । त्यही पनि मास्यौं भने सुकुम्बासी भइने डर थियो । अहिले म ६० वर्षको भएँ । यसबीचमा भोगेका दुःख सम्झँदा अहिले पनि आँखा रसाउँछन् । गाउँबाट ल्याएको पैसाले चन्दननाथ नगरपालिका–३ को बिगाराचाँगामा सानो झुपडी बनाएँ । गरिब परिवारमा जन्मिएकाले स्कुल त देखिनँ, घरमा पनि अक्षर चिनाउने कोही भएनन् । तर छोराछोरीलाई दुःख गरेर भए पनि अक्षर चिनाउने ठूलो धोको थियो ।

मैले १६ वर्षको उमेरमा विवाह गरेँ । ९ छोराछोरी जन्मिए । जिम्मेवारी झनै बढ्यो । उनीहरूको लालनपालन र पठनपाठन मुख्य चुनौतीको पहाडजस्तै बन्यो । बेरोजगार मान्छे । कालापहाडको भरमा परिवार पाल्नुपर्ने वाध्यता थियो । कहिले जुत्ता च्यातिएको हुने, कहिले कपडा च्यातिएको देखिने, कहिले टाउकोमा टोपी नदेखिने अवस्थाले मन भक्कानिन्थ्यो । छोराछोरीले कापीकलम सकियो भन्दा मनभरी चिन्ता हुन्थ्यो, अब कहाँबाट किन्दिने भन्ने समस्या थपिन्थ्यो । जेनतेन छोराछोरी हुर्काएँ । सबैले उच्च शिक्षा पढेका छन् । अहिले ९ छोराछोरीमध्ये ८ जना प्रहरीमा जागिरे छन् । 

२० वर्षको उमेरमा कालापहाड हान्निएँ । भारतमा रोड बनाउने, स्याउ बोक्ने, बालुवा बोक्ने, बगैंचामा विरुवा रोप्ने र बगैंचाको रेखदेख गर्ने काम मिल्थ्यो । परिवार पाल्न जे काम पनि गर्न तयार हुन्थेँ । यो काम निरन्तर ७ वर्ष गरेँ । बर्सेनि कालापहाडमा यस्तै काम गरेर वर्षको ७० हजार रुपैयाँसम्म घर पुर्‍याउँथेँ । त्यही रकमले खानाखर्च, लत्ताकपडाको जोहो हुन्थ्यो । यो कामले ज्यानले सुख नपाउने देखेपछि व्यवसाय बदलेँ । अनि हिङ, शीलाजित बेच्ने, रुद्रराक्ष मालाको व्यापार गर्न थालेँ । यो व्यापारले पनि खासै पार लागेन । तर जति दुःख भए पनि व्यवसाय नगरी सुख मिल्दैनथ्यो ।

अहिले पनि हिउँदको तीन महिना कालापहाडमै बिताउने गर्छु । यात्रा त कालापहाडको रोकिएको छैन तर काम भने बदलेको छु । अहिले कपडाको व्यापार गर्छु । हिउँदका तीन महिनामा ७० हजारभन्दा बढी कमाइ हुने गरेको छ । जागिरे छोराछोरीले महिनैपिच्छे पैसा पठाइरहन्छन् ।

सानो बारीमा झुपडी ठडिँदा जति खुसी मिलेको थियो, अहिले उत्ति नै सन्तुष्टि मिलेको छ । दुःखले पढाएका छोराछोरी सबै जागिरे बन्दा राम्रो भयो । अहिले मसँग २० हजार वर्गमिटरभन्दा बढी जमिन छ । जग्गा जोड्दै गएपछि तरकारी खेतीमा पनि चासो बढ्यो । अहिले आलु, लसुन, प्याज, टमाटर, साग, धनियाँ, सिमी, काउली, गाजर, काँक्रा बारीमा टन्न फलाइरहेको छु । नजिकै खलंगा बजार भएकाले उत्पादन बजारमा लैजान खासै समस्या छैन । 

मेरो बारीमा जडिबुटीमा अत्तिस, सेतक चिनी र पदमचाल पनि छन् । जौ, गहुँ, मकै, कोदो, उवा, धान र फापर खेती पनि उत्तिकै लोभलाग्दो छ । फलफूलमा स्याउ, ओखर र विभिन्न जातका आरुका बिरुवा छन् । फूलहरूले रंगीचंगी छ बारी । रातो लसुन र सेतो लसुन रोपेको छु । लसुन बेचेरै वर्षमा लाखभन्दा आम्दानी छु । पहिले धेरै दुःख पाएँ । अहिले सुखमा पनि दुःख गर्न छाडेको छैन । 

स्याउका २ सय ५० र ओखरका ३ सय विरुवा रोपेको छु । अहिले सानै भएकाले फल दिइरहेका छैनन् । तर आगामी वर्षदेखि स्याउ र ओखरले पनि आम्दानी दिनेवाला छन् । केही खरायो पनि पालेको छु । अहिलेसम्म कुनै निकायले सहयोग गरेका छैनन् । कालापहाडमा सिकेको सीप र भोगेको दुःखले अहिले आफ्नै माटोमा सुन फलाइरहेछु । 

२०५८ सालमा माओवादीका कारण भूमिगत हुनु पर्‍यो । कालापहाड गएर थोरैथोरै पैसा कमाउने भएकाले आफन्तहरूले माओवादी लगाएर दुःख दिए । उतिबेलाको ४० हजार माओवादीलाई चन्दा दिएँ । तर पछि त त्यही माओवादीमै सामेल हुन पुगेँ । 

घरवरिपरि अहिले १० वटा मौरीघार छन् । हरेक दिन मौरीको भुनभुन आवाजले निकै आनन्द मिल्छ । एक घारबाट पाँच केजीसम्म मह निस्कन्छ । बजारमा महको मूल्य प्रतिकिलो २ हजार ५ सय रुपैयाँ छ । पाँच महिनाअघिसम्म ९० भेडासमेत पालेको थिएँ । भेडा हेर्ने मान्छे भएनन् । ९ लाख ९० हजार रुपैयाँमा सबै भेडा बेचेँ । अहिले पाँच जनाको परिवार यही खेतीबाटै चलेको छ । श्रीमती कोइरे कठायतले मलाई साथ दिएकी छिन् । स्याउ र ओखरको कलमी गरेर आफ्नै विरुवा हुर्काइरहेको छु । स्याउ र ओखर पनि बेच्ने र दाना पनि बेचेर मनग्गे आम्दानी गर्ने सोचमा छु । उमेरले तीन बीस भए पनि अझै जोश हराएको छैन । 

प्रस्तुति : डीबी बुढा 

भक्तबहादुर

Link copied successfully