नेपाली नागरिकता लिएर यतै घरबार जोडेका भारतीय थुप्रै छन्, तर मलाई ढाँटेर दोहोरो नागरिकता लिन मन लागेन
पर्सा — मेरो मूलघर भारत बिहारको पूर्वी चम्पारण थाना संग्रामपुर हो । अहिले ४१ वर्षको भएँ । २८ वर्ष भयो वीरगन्जमा सैलुन चलाएको । १३ वर्षको उमेरमा नेपाल आएको हुँ । त्यतिबेला बुवा धुरी ठाकुरको वीरगन्जको पावरहाउस चोकमा सैलुन थियो । आफ्नो जुँगाको रेखी नबस्दै बुवाले अरुको दाह्री–जुँगा खौरन सिकाए । बुवा २० वर्षअघि जन्मघर फर्किसके ।
अहिले कान्छो भाइ कृष्णा र म मिलेर वीरगन्जको तेजारथ टोलमा सैलुन चलाएका छौं । वीरगन्जमा डेरा लिएर बसेका छौं । सैलुनको र कोठाको भाडा गरेर मासिक ६ हजार तिर्छौं । हामी ४ भाइ छौं । दुई भाइ नेपालमा र दुई भाइ भारतमा गाउँमै बसेर यही पेसामा छौं । यो हाम्रो पुर्ख्यौली र जातीय पेसा पनि हो । अरु काम गरिएन र जानिएन । सानैमा यही काम सिकेकाले जीवन धान्ने सजिलो पेसा पनि यही बनेको छ ।
भारतको पुर्ख्यौली घरमै हामी सबै दाजुभाइका परिवार बस्छन् । चारै भाइ छुट्टीभिन्द भइसके पनि एउटै घरमा बस्छौं । तर, सबैका चुल्हो अलग–अलग छन् । चारै भाइलाई दुई–दुई कोठा भाग परेको छ । बुवाआमा चार भाइमध्ये जसकोमा पनि मन लाग्यो खाने र बस्ने गर्नु हुन्छ । हामीले उहाँहरूको जिम्मेवारी भाग लगाएका छैनौं । अहिले पनि बुवाआमाले जातीय पेसाबाट हुने अतिरिक्त कमाइमा हामी चार भाइलाई बराबर भाग लगाएर दिनु हुन्छ ।
मैले ८ कक्षासम्म मात्र पढ्न पाएँ । १६ वर्षको उमेरै विवाह भयो । २ छोरा छन् । जेठो सुशान्त गाउँमै कक्षा १२ मा र कान्छो कुनाल ११ मा पढ्दैछ । कान्छोले भारतीय सेनामा प्रवेश गर्ने तयारी पनि गरिरहेको छ ।
वीरगन्जमा दुई भाइको रासन खर्च मासिक १५/१५ किलो चामल र केही पिठो लाग्छ । यसमै कम्तीमा २ हजार ४ सय रुपैयाँ खर्च छ । दाल, तरकारी, मरमसला आदिमा मासिक थप तीन हजार खर्च हुन्छ । सातामा एकपटक कुखुराको मासु खान्छौं । घर बहाल खर्च, रासन खर्चसमेत गरी मासिक कम्तीमा छ/सात हजार खर्च छ । घरमा पनि दुवै भाइले आ–आफ्नो परिवारलाई घरखर्चबापत मासिक छ/सात हजार रुपैयाँ पठाउनै पर्छ ।
यति जिम्मेवारी वहन गर्न मासिक कम्तीमा १३ देखि १५ हजार रुपैयाँ कमाउनै पर्छ । यस पेसामा कमाइको कुनै निश्चितता हुँदैन । दिनमा सामान्यतः जनही ३/४ सय रुपैयाँ कमाइ हुन्छ । शुक्रबार जनही ६/७ सय रुपैयाँ कमाउँछौं । तराईमा शुक्रबार दाह्री जुँगा फाल्ने र कपाल काट्ने विशेष चलन छ ।
दुई भाइ मिलेर घरभाडा र रासन खर्च पनि भाग लगाउने गरेकाले कमाइबाट केही पैसा जोगिन्छ । नत्र एक्लै खर्च धान्न मुस्किल हुन्थ्यो । सैलुन पेसामा पनि अहिले त निकै प्रतिस्पर्धा भई सक्यो । हाम्रै वरिपरि पनि थप दुईवटा सैलुन चलेका छन् । सैलुन ३ सय ६५ दिन नै खोल्नु पर्छ । सैलुन बन्द देखेर ग्राहक अन्यत्र गए भने फर्किएर आउँदैनन् ।
ज्वरो आउँदा र अन्य सामान्य बिरामी हुँदा पनि सैलुनमा आएका ग्राहकको सेवा गर्न झिझो मान्नु हुँदैन । जन्मभूमि भारत भए पनि कर्मभूमि नेपाल नै बन्यो । नेपालले नै हाम्रो जीविका चलाएको छ । अब नेपालसँग जीवनभरिको साइनो जोडिएजस्तो छ । शरीर चलुन्जेल यतै बसेर रोजीरोटी कमाउने विचार छ ।
बालबच्चा भारतमा छन् तर आफ्नो मन भने यहीँ लाग्छ । घर गएपछि कहिले वीरगन्ज फर्कौं जस्तो हुन्छ । यतै साथीभाइ र समाज बन्यो । धेरै भारतीयले २०६२/०६३ को आन्दोलनपछि सहजै नेपाली नागरिकता लिएर यतै घरबार जोडेका छन् । तर मलाई ढाँटेर दोहोरो नागरिकता लिन मन लागेन ।
२८ वर्ष नेपालमा नियमित रोजगारी गर्दा कुनै समस्या नभए पनि कोरोनाकालमा भने कहिल्यै नबिर्सिने गरी दुःख पाएका थियौं । २ पटक गरी ६ महिना रोजगारी पूरै ठप्प भयो । सर्वसाधारणमा त्रास थियो । उनीहरू सैलुनमा कपाल र दाह्रीसमेत काट्न आउन छोडे । सैलुनबाटै कोरोना सर्छ भनेर धेरैको मनमा डर बसेको थियो । बेरोजगारीले त्यतिबेला जीवनमै नपाएको दुःख पाइयो । हातमा अरु कुनै सीप छैन । विकल्पमा कुनै काम पनि त्यतिबेला गर्न सकिएन ।
अहिले त जीवन सहजै कटिरहेको छ । भविष्यका लागि केही जोगाएर राखौं भने अहिलेको कमाइले पुग्दैन । अहिलेसम्म ऋणको भार लागेको छैन । घर व्यवहार चलाउन पाइयोस् । यसरी नै जीवन कटोस् । बाँकी भगवान्ले हेर्नुहुन्छ ।
प्रस्तुति : शंकर आचार्य
