‘चटपटे बेचेर छोरीलाई इन्जिनियरिङ पढाइरहेकी छु’

गरिबी र पारिवारिक समस्याले जेलिँदा मैले ५ कक्षाभन्दा माथि पढ्न पाइनँ

जेष्ठ २१, २०८२

कमला बुढा

”I am teaching engineering to my daughter after selling quickly”

जुम्ला — यो चटपटे पसल छोरीको पढाइका लागि खोलेकी हुँ । मेरो आम्दानीको यो प्रमुख स्रोत पनि हो । चटपटे बेचेर जम्मा गरेको पाइपाइ पैसा छोरीको पढाइमा खर्च गरिरहेकी छु । मेरी छोरी अहिले काठमाडौंमा इन्जिनियरिङ पढिरहेकी छन् । हुन त चटपटे निकै सानो व्यवसाय हो । गल्ली चोकहरूमा ठेला गुडाएर पनि बेच्न सकिन्छ । तर म लामो समयदेखि एकै स्थानमा बसेर चटपटे बेचिरहेको छु । दर्जन बढी त मेरा नियमित ग्राहक नै छन् ।

अहिले ४४ वर्षकी भएँ । पहिले आर्थिक अभावका कारण घरायसी कामम सीमित हुनु पर्‍यो । श्रीमान् मधुमेह र उच्च रक्तचापले ग्रस्त थिए । पहिले परिवार धान्ने श्रीमान् मात्रै थिए । अहिले उनी बितेपछि सबै जिम्मेवारी मेरो टाउकोमा आइपरेको छ । 

कृषि पेसा गरेर घरखर्च चलाउन निकै कठिन छ । छोरीको इन्जिनियरिङ पढाइका लागि भए पनि सदरमुकाम खलंगामा आउनु परेको छ । शारीरिक रूपमा अशक्त छु । ठूलो भार उठाउन सक्दिनँ । लामो यात्रामा जान पनि सक्दिनँ । गह्रौं भारी बोक्न मिल्दैन । लामो समय कुन व्यवसाय अँगाल्ने भनेर अलमलिएँ । बजारको अध्ययन गरेँ । चटपटे व्यवसाय नै मेरा लागि उपयुक्त ठानेर अहिले त्यही बेचेर गुजारा चलाइरहेकी छु । 

मेरो घर चन्दननाथ नगरपालिका–८ जातिभीडमा हो । मैले सानैदेखि दुःख गर्न जानेकी छु । जीवन संघर्ष हो । संघर्ष नगरीकन जीवन चल्दैन, यो मलाई राम्ररी थाहा छ । तर संघर्षका पनि विभिन्न रूप हुँदा रहेछन् । तीन वर्षअघि श्रीमानको निधन भएपछि कठोर संघर्ष गरिरहेकी छु । टुँडिखेल मैदानको छेउमै चटपटे पसल छ । 

ढुंगा, गिट्टी, बालुवा, माटोसँगको काम गर्न सक्दैन । सुरुमा एक–दुई हजार रुपैयाँबाट चटपटे व्यवसाय थालेँ । आम्दानीको स्रोत नहुँदा हुने दुःख राम्ररी भोगेकी छु । अहिले चटपटे व्यवसाय गर्न थालेको तीन वर्ष भयो । 

अहिले चटपटे खान वरिपरि ग्राहक घेरिँदा भ्याइनभ्याइ हुन्छ । उनीहरू चटपटेको व्यापार मात्र गर्दैनन्, सुख र दुःखका कथाहरू साटिरहन्छन् । जसले अझै व्यवस्थित रूपमा चटपटे व्यवसाय गर्ने ऊर्जा मिलिराखेको हुन्छ ।

२२ वर्षीया छोरी सिर्जना काठमाडौंको कान्तिपुर इन्जिनियरिङ कलेजमा डिप्लोमा चौथो वर्षमा अध्ययरत छिन् । उनको वार्षिक खर्च १ लाख ५० हजार रुपैयाँ हो । त्यो खर्च धान्न दैनिक १५ सय रुपैयाँ कमाउनुपर्ने मेरो बाध्यता छ । 

मासिक करिव १६ हजार रुपैयाँ बचत हुने गरेको छ । जसले घरखर्च र छोरीको खर्च जुटाइरहेकी छु । वार्षिक रूपमा १ लाख ९२ हजारजति कमाउने भएकाले अहिलेसम्म छोरीको खर्च धान्न खासै बाधा छैन । 

म राम्रो शिक्षा आर्जन गर्न चाहन्थेँ । गरिबी र पारिवारिक समस्याले जेलिँदा कक्षा ५ भन्दा माथि पढ्न पाइनँ । मैले त अवसर पाइनँ । तर मेरो छोरीले आर्थिक अभावका कारण पढाइ बीचैमा नछोडोस् भनेर रातदिन खटिरहेकी छु । एकाबिहानैदेखि चटपटे बेच्न थाल्छु । बेलुकी अबेरसम्म बेचिरहेकी हुन्छु । मलाई भोक, तिर्खा, थकाइ भन्दा पनि छोरीको पढाइ पूरा गर्नुपर्ने विषयले चिमोटिरहन्छ ।

अहिले चटपटे पसल पनि लोकप्रिय बनेको छ । सफा सुग्घर र मिठो चटपटे बनाउने भएकाले धेरै ग्राहक अन्यत्र छोडेर मेरोमा आइरहन्छन् । सबैले चटपटे बेच्ने दिदीको नामले मलाई चिन्दा निकै खुसी लाग्छ । 

मेरोमा बन्ने चटपटे र पानीपुरीको स्वादले ग्राहक तानिरहेको छ । दिउँसो त भ्याइनभ्याइ हुन्छ । सुरुमा चटपटे बेच्दा निकै लाज लागिरहेको थियो । अहिले चटपटे भन्ने बित्तिकै भरोसा जागेर आउने गरेको छ । हरेक दिन, हरक्षण चटपटेमै रमाइरहेकी छु । 

धेरै पैसा खर्चेर मानिसहरू विदेश गइरहेका छन् । जोखिम मोलेर काम गरिरहेका छन् । तर सानो लगानीमा पनि भविष्य बनाउन सकिने रहेछ भन्ने अनुभवको साक्षी बन्न पाउँदा खुसी पनि लाग्छ ।

म एक अपांगता भएकी महिला हुँ । समाजले अपांगता भएका व्यक्तिलाई हेर्ने नजर राम्रो छैन । समाजका हरेक भ्रम तोडेर आफ्नै खुट्टामा उभिन पाउँदा खुसी छु र यसैमा गर्व पनि छ । अहिले कुनै दिन चटपटे बेच्न ढिला हुँदा ग्राहकले फोन गरेर बोलाउँछन् । सबैभन्दा बढी विद्यार्थी र महिलाले चटपटेको माग गरिरहेका हुन्छन् । 

चटपटे हरेकको घरमा सानो लगानीमै बनाएर खान सकिन्छ । तर मैले मिठो बनाउने भएकाले सबै यहाँ आउने गर्छन् । खुला आकाशमा बिहान–बेलुकी चटपटेको सामान बोकेर ल्याउने लैजाने गरेकी छु । पहिले गाउँमा हुँदा केही गर्न सक्दिन भन्नेहरू अहिले सम्मानका साथ चटपटे अर्डर गरेर खाइरहेका छन् । 

म शरीरमा एक थोपा रगत र एक मुठी सास रहुन्जेलसम्म चटपटे बेचिरहन्छु । चटपटेमा पनि भविष्य लुकेको छ भन्ने सन्देश सबैसामु दिन चाहन्छु । 

प्रस्तुति : डीबी बुढा

कमला

Link copied successfully