अहिले मसँग १ सय ३५ घार मौरी छन्, मेरो काम भनेको बिहानै उठेदेखि बेलुकीसम्म मौरीको स्याहार गर्ने
सल्यान — जब म सानै थिएँ, मलाई मौरी भनेपछि समाउन र पाल्न औधि रमाइलो लाग्थ्यो । विवाह हुनुभन्दा पहिले जंगलमा घाँस–दाउरा गर्न गएको समयमा फेला पारेमा ल्याएर मुरेघारमा राखेर पाल्ने गर्थें । २०४९ मा विवाह भएपछि तीन नानीबाबु जन्मिए । २०६० सालमा अकालमै श्रीमान्को मृत्यु भयो । अनि मेरा दुःखका दिन सुरु भए ।
कालीमाटी गाउँपालिका–३ राजीगाउँमा बासबाहेक खेतीपाती गर्ने जग्गा–जमिन केही थिएन । बालबच्चालाई खुवाउने अन्नपात केही नभएपछि मैले धेरै संघर्ष गरेँ । दुई–चारवटा बाख्रा पालेर आधा पेट खाई जेनतेन बालबच्चा हुर्काएँ । बाख्रा पालेर खर्च चलाउन समस्या भएपछि अब केही गर्नु पर्यो भन्ने सोचिरहेकी थिएँ ।
यत्तिकैमा २०७४ सालमा घर नजिकैको जंगलमा बाख्रा चराउन र घाँस–दाउरा गर्न गएका बेला आफैंले काटेको रुखको ठुटोमा जंगली मौरी देखेँ । मलाई बचपनको याद आयो । राति गएर त्यसलाई टोकरीमा राखेर घरमा ल्याएँ र मुरेघार बनाई पाल्न थालेँ । अहिले त्यही एक घार मौरीले मलाई उद्यमी बनाएको छ ।
एक घारबाट सुरु भएको मेरो मौरी पालन व्यवसाय अहिले व्यापक फैलिएको छ । रुचि बढ्दै गएपछि संख्या पनि बढ्यो । कृषि विकास कार्यालय सल्यान र पालिकाले केही घार मौरी सहयोग गरेका छन् । सुरुसुरुमा जतिसक्दो त्यसलाई बढाउनमै समय दिएँ । अहिले मसँग १ सय ३५ घार मौरी घरका चारैतिर छरिएर रहेका छन् ।
घरका काम छोरा–बुहारीले गर्छन् । मेरो काम भनेको बिहानै उठेदेखि बेलुकीसम्म मौरीको स्याहार गर्ने नै छ । मौरी स्याहार गर्ने, मह काढ्ने, घार बढेमा भाग्ने भएकाले तिनीहरूलाई नयाँ घारमा राख्ने गर्छु । यही मेरो दिनचर्या हो ।
यसपालि झन्डै तीन क्विन्टल मह उत्पादन भयो । १ सय ५० घारै बिक्री गरेँ । प्रतिघार ७ हजार रुपैयाँका दरले ती बिक्री गरेको हुँ । त्यसबाट १० लाख ५० हजार कमाइ भयो । एक हजार रुपैयाँ प्रतिकिलोका दरले ३ क्विन्टल मह बिक्री गर्दा ३ लाख आम्दानी भयो । सबै गरी एक वर्षमै १३ लाख ५० हजार रुपैयाँ कमाएँ । त्यसबाट घार किनेको ५ लाख रकम उद्योगलाई तिरेँ । अन्य घरखर्च, मौरी व्यवस्थापन, बच्चाबच्चीको लालनपालन, पठनपाठन, औषधी उपचारमा खर्च भयो । सबै खर्च कटाएर ५ लाखजति बचाएको छु । प्रत्येक वर्ष मौरी पालन गरेर कमाएको रकमले एउटा घडेरी जोडेको छु । होटल खोलेको छु र पाँच जनाको परिवार सजिलै पालेको छु ।
२०४९ सालमा विवाह भैसकेपछि श्रीमानले मजदुरी गर्थे । त्यसबाट कमाएको रकमले जेनतेन गुजारा चलेको थियो । श्रीमानको अकालमा मृत्यु भएपछि कमाउने कोही नहुँदा चाडपर्वमा आफूले रोजेको कपडा, इच्छाअनुसारको खाना मैले खान पाइनँ । तीन छोराछोरीलाई बाख्रा बेचेर कमाएको पैसाले घरमा चाहिने सबै बस्तु किन्न पर्दा कहिलेकाहीँ आधै पेट खाएर बस्थेँ । राम्रा कपडा कहिल्यै लगाउन पाइनँ । सबै किसिमको रहरलाई मनमै दबाएर राख्न बाध्य हुन्थेँ ।
अवस्था कस्तोसम्म थियो भने घरमा कोही बिरामी भयो भने उपचारका लागि साहुसँग ऋण लिनुपर्ने हुन्थ्यो । मौरीपालनमा लागेपछि अहिले कसैको भर पर्नु परेको छैन । आफूलाई आवश्यकता परेको बस्तु सजिलै किनेर प्रयोग गर्न सक्छु । मैले पढेकी त छैन, बचपनदेखिको रुचि, आफन्त तथा माइतीमा छँदा बाबुआमाले गरेको देखेर र सम्बन्धित निकायले बेलाबेलामा दिने प्राविधिक सहयोगले मलाई मौरी पालनमा पोख्त बनाएको छ ।
मौरी पालनले नै मलाई, छोरा–बुहारीलाई घरमै रोजगारी दिएको छ । मौरीपालनले मेरो जीवनको कायापलट भएको महसुस गरेकी छु । त्यति मात्र नभएर विगतमा भोगेका पीडाजति सबै यही मौरी पालनले बिर्साएको छ ।जिल्लामै उद्यमीका रुपमा चिनिन पाउँदा खुसी लाग्छ । आफ्नो रुचिअनुसारको व्यवसायमा लागेकामा गर्व पनि छ । मह र मौरीका घार बिक्री गरेर जति पनि कमाएँ, त्यो सबै रकम अब मौरीपालन बिस्तारमै लगाउने सोचेकी छु ।
प्रस्तुति : विप्लव महर्जन
