‘विदेश गएर पैसा कमाउने मन त छ नि, सुकुम्बासी परेँ’

पानी मात्रै खाएर सुतेका दिन र रात त कति छन् कति !

जेष्ठ १६, २०८२

जीवन राई

”You want to go abroad and earn money, you are a squatter”

संखुवासभा — खाँदबारीको पोखरी बजारमा रहेको एउटा होटलको पेटीमा दिनभर घाममा थोत्रा जुत्ता सिलाएर बस्छु । हिजोआज जुत्ताका सोल, तुना र पालिस पनि बेच्न राखेको छु । २ सय रुपैयाँबाट सुरु भएको जुत्ता सिलाउने काममा मेरो दैनिकी बित्छ । जुत्ता पालिस गर्ने र मर्मत गरेको पैसाले बिहान–बेलुकीको छाक टार्छु ।

अहिले म ३५ वर्षको भएँ । बाआमा पनि पढेलेखेका नभएकाले मलाई पनि पढाएनन् । ज्याला–मजदुरीमा सानैदेखि लगाएर पैसा कमाउने र बिहान–बेलुकीको छाक टार्नुपर्छ भनेर सिकाए । मैले पनि त्यहीमात्रै सिकेँ । 

जुत्ता सिलाउन पनि अर्काले काम गरेको हेरेर सिकेको हुँ । ९ वर्ष बितेछ सडकमा जुत्ता सिलाएर बस्न थालेको पनि । दैनिक बिहान ७ बजे म पोखरी बजार आइपुग्छु र मेरो काम सुरु हुन्छ । थोत्रा जुत्ता सिलाएको १० देखि सय रुपैयाँसम्म लिने गरेको छु । बेलुकी आँखाले भ्याएसम्म अँध्यारोमा पनि काम गर्छु । जुत्ता सिलाउन फलामको सुइरो बनाएको छु, त्यसैमा धागो उनेर जुत्ता मर्मत गर्छु । बाजेका पालादेखि खाँदबारीमै छौं । घरबाट हिँडेर यहाँ आउन १० मिनेट लाग्छ । 

राम्रो मर्मत गरेर ग्राहकलाई सन्तुष्ट बनाउन सके बक्सिस पनि पाइन्छ । कुनै दिन एक रुपैयाँ पनि कमाइ हुँदैन, त्यसबेला भोकै पेट सुत्छु । पानी खाएर मात्रै सुतेका दिन र रात त कति छन् कति ! विदेशिने मन र पैसा कमाउने चाह नभएको कहाँ हो र ? तर, के गर्ने सुकुम्बासी परेँ । जुत्ता मर्मतबाट आएको पैसाले वृद्ध बाआमालाई पनि हेर्नु पर्छ । उहाँहरूको आडभरोसा मैमात्र हुँ ।

बाआमाका लागि खाना पकाउन बिहानै ५ बजे उठ्नु पर्छ । उहाँहरूका लागि सबैथोक तयार पारेर ७ बज्दा पोखरी बजार आइपुग्छु । जुत्ता सिलाउन श्रीमती सीतालाई पनि सिकाइसकेको छु । म बिरामी हुँदा उनले पनि काम गर्छिन् । मैले अन्तरजातीय विवाह गरेँ । उनी शेर्पाकी छोरी हुन् । मन मिलेपछि विवाह गरियो । 

यसरी पुराना जुत्ता सिलाउनुअघि दैनिक ज्यालादारीमा काम गर्थें । ९ वर्षअघि एक हप्ता काम गरे पनि ठेकेदारले समयमै पैसा नदिँदा खान–लाउनै समस्या भयो । ज्याला मजदुरी १५ वर्षको उमेरबाटै गर्न थालेको थिएँ । म घर बनाउने राम्रो मिस्त्री पनि हो । थोरै लगानीमा सडकमा बसेर जुत्ता मर्मत गर्ने काम गर्दा सन्तुष्ट नै छु । पैसा कमाउन त सकिएको छैन, तर खान–लाउनचाहिँ पुगेकै छ । सुकुम्बासी भएकाले हाम्रो परिवारसँग जग्गा जमिन थिएन ।

मेरो बुबाले एक जना साहुजीको जग्गामा खेती किसानी गर्नु हुन्थ्यो । उहाँले ३५ वर्षभन्दा बढी खेती किसानी गरेबापत ती जग्गाधनीले हामीलाई १० मिटर लम्बाइ र २० मिटर चौडाइ भएको जग्गा सित्तैँमा दिएका छन् । त्यो जग्गामा हामीले टिनले बारेर छाप्रो बनाएका छौं । त्यही घरमा अहिले हामी बसिरहेका छौं । हाम्रो परिवारको दुःख देखेर घर पनि छिमेकीको सहयोगमा उनीहरूले खर्च गरेर बनाइदिएका हुन् । कमाउन सकेँ भने बुढा भएका बाआमालाई राम्रो घर बनाएर राख्ने विचार छ । 

सागसब्जी रोप्ने ठाउँ छैन । सबैथोक किनेर खानु परिरहेको छ । एक मुठा सागले एक छाक पुग्न हम्मे पर्छ । त्यसको मूल्य ५० रुपैयाँ पर्छ । धेरै महँगो छ । जुत्ता मर्मत गर्दा दिनको एक हजारसम्म कमाउँछु । सधैं भने यस्तो कमाइ हुँदैन, कोही बेला ३–४ सयमात्रै कमाइ हुन्छ, त्यसैमा चित्त बुझाउनु पर्छ । सरदर महिनामा २० हजारजति कमाइ हुन्छ । छोराछोरी पाल्न सकिँदैन कि जस्तो लागेर विवाह गरेको लामो समय भए पनि बच्चा जन्माउने सुर कसेका छैनौं ।

यो उमेरमा मलाई पनि लाउँलाउँ र खाउँखाउँ त लाग्छ नि, के गर्ने पैसा नभएपछि मन मार्नु पर्ने रहेछ । सबै थोक किनेर खानु पर्दा समस्या छ । चाहेका बेला नयाँ लुगा किनेर लगाउन सकिँदैन । पुराना र थोत्रा लुगा लगाउँछु । कसैकसैले माया गरेर दिएका पुराना कपडालाई नयाँजस्तै ठानेर लगाउँछु । मेरो कमाइले त वर्षमा एकपटकमात्रै नयाँ लुगा किनेर लगाउन पनि मुस्किल छ । 

सदरमुकाममा सबैथोक प्रायः महँगो छ । नुन नै २५ रुपैयाँ किलो पर्छ । १ नम्बर वडाका अध्यक्षसँग अनुदानको नुन मागेर लैजान्छु, त्यसको मूल्य १० रुपैयाँ पर्छ । चामल एक बोराको २५ सयभन्दा कममा पाइँदैन । एक सय रुपैयाँ किलो त चामलकै पर्छ । एक बोरा चामलले १० दिन पुग्दैन । बिहान–बेलुकी मात्रै हैन दिउँसोको चिया र खाजामा पनि खर्च हुन्छ । श्रीमती र मैले दिउँसो खाजा खान दैनिक १ सय रुपैयाँ छुट्याउँछौं । एक सय रुपैयाँले आधा पेट पनि भरिँदैन । 

बिरामी परिएला भनेर दैनिक थोरैथोरै पैसा बचाउने गरेको छु । अहिले उमेरमा केही नभए पनि बुढेसकालमा उपचारका लागि पैसा चाहिन्छ भनेर केही रकम जोहो गरेको हुँ । बुढो भएका बाआमाको स्वास्थ्य पनि ख्याल गर्नै पर्‍यो । उहाँहरूको सामाजिक सुरक्षा भत्ताले पनि उपचारमा केही सहयोग पुग्ने गरेको छ । खै, जिन्दगी यसरी कहिलेसम्म चल्ने हो ! आखिर चलुन्जेल चलाउनै पर्‍यो ।

प्रस्तुति : दीपेन्द्र शाक्य

घरखर्च

जीवन

Link copied successfully