‘घरायसी सामान मर्मत गरेर महिनामा ४० हजार कमाउँछु’

कुनै जमाना थियो- ५० पैसामा तीनवटा मुठा साग पाइन्थ्यो । टपरीमा घरमा फलेका तरकारी बेच्थे

जेष्ठ १५, २०८२

शालिकराम गन्धर्व

”I earn 40,000 a month by repairing household goods”

काठमाडौँ — पाल्पाको तानसेन नगरपालिका–६, बसपार्क नजिकै घर छ । अहिले बसपार्कको ठाडो उकालो घुम्तीमा सानो पसल खालेको छु । मेरो कामले पसलको रूप धारण गरिसकेको धेरै भएको छैन । पहिले चौपारीमा पाल टाँगेर काम गर्थें । त्यसो गर्दा दैनिक नगरपालिकालाई ५ रुपैयाँ बुझाउनु पर्थ्यो ।

पहिला बसपार्क माथिल्लो भागको घुम्तीमा रहेको घरको भर्‍याङमुनि पसलजस्तै थियो । ७/८ वर्ष मात्र भयो– भर्‍याङमुनि सामान सुरक्षाका लागि सटर राखेको । त्यही पनि तानसेन नगरपालिकाका कर्मचारीको आँखा छली छली बनाएको हो ।

यो सटर घरबेटीले बनाएको भने होइन । मैले आफैंले बनाएको हो । घरबेटीलाई भाडा दिनु पर्दैन । तर घरमा अह्राएको, लगाएको काम गर्छु । बिजुलीको बिल तिर्छु । मासिक १ हजार ५ सयदेखि २ हजारसम्म बिजुलीको बिल आउने गर्छ । मेरो पसलमा हेर्दा काम केही देखिँदैन । तर पनि काम धेरै आउने गर्छ । त्यसैले दैनिक २ हजारदेखि २ हजार ५ सयसम्मको काम आउने गर्छ । कम्तीमा १ हजार ५ सयजति बचाउने गर्छु । तपाईंले काम धेरै नदेखे पनि खित्रिकमित्रिक काम धेरै आउने गर्छ । सानो पसलमा घरायसी सामग्री मर्मत गर्ने हो ।

मैले १७/१८ वर्षको उमेरदेखि नै स–साना सामग्री बनाउने र मर्मत गर्ने काम गर्थें । सिलाइ मेसिन, सिलाइ कल, मोटर, पंखा, ग्यासचुलो, लाइट, लाइटर, ग्यास चुल्हो, कुकर, धार लगाउने, छाता मर्मत गर्ने लगायतका काम गर्दै आएको छु ।

९ वर्षजति म गुल्मीको तम्घासमा पुगेर पनि काम गरेँ । छाता, लाइट, ग्यास, स्टोभ लगायतका सामान बनाउने गर्थें । तम्घासमा यसरी काम गर्ने मान्छे कमै थिए । कमाइ ठिकै पनि थियो । तर डेराभाडा, पसल भाडा, खाने खर्च लगायतमा बढी खर्च हुन्थ्यो । हुन त श्रीमतीले पनि सघाउने गर्थिन् । बुबा बितेपछि तानसेन फर्कें । त्यसपछि आमाले बस्न भन्नुभयो । आमाले एक दिन ‘बुबा बितेर आइस्, अब गएर म बितेर आउने होलास्’ भन्नुभयो । मन कसो कसो भयो अनि पुनः तानसेनकै बसपार्कमाथि चौपारीमा घरायसी सामग्री मर्मत गरेर बस्न थालेँ । आमाको वचनले गुल्मी छोडेर पाल्पा फर्किएँ ।

गुल्मीको तम्घासबाट सबै सामान ल्याएर घरमै बसेँ । दुई छोरा र दुई छोरी छन् । जेठो छोरो एउटा पसलमा काम गर्छ । जेठो छोराले पढाइमा ध्यान नदिएकाले चिन्तित छु । कान्छो छोरा व्यवस्थापन विषयमा काठमाडौंमा बसेर पढिरहेको छ । दुवै छोरीको बिहे भइसक्यो । काम दुःख पनि छ । तर नजान्नेलाई यो सामान्य काम लाग्छ । श्रीमतीले टुँडिखेल नजिकै खाटमा गहना राखेर बस्छिन् । तर व्यापार छैन । पहिला हुन्थ्यो, अहिले व्यापार हुन छाड्यो । 

मेरो काम प्राविधिक भए पनि मैले सुरुमा तालिम लिएको होइन । काम गर्न थालेको ४० वर्षपछि मात्र स्किल नेपालको तालिममा सहभागी भएको थिएँ । कल, सिलाइ मेसिन मर्मतको तालिम मात्र लिएको हो । एक पटक मात्र तालिम लिएको थिएँ । २०/२५ जनाले तालिम लिएका हुन् तर कसैले पनि काम गरेनन् ।

म सामान्य परिवारको मान्छे हो । हाम्रो पुर्ख्यौली सम्पत्ति खासै थिएन । यस्तै काम गरेर जिन्दगी गुजारेको छु । यतिको उमेर पुगिसक्दा एउटा घर बनाएको छु । दुईतले घरमा ६ वटा कोठा छन् । केही रकम अझ ऋण तिर्न बाँकी छ । यही कमाइले नै किस्ता तिरेको छु । ठूलो छोरोले अलिअलि कमाउने गर्छ । कान्छो छोरो पढाउनु परेको छ । पढेको भए मैले सबैलाई पढाउँछु भन्ने नै थियो । 

अहिले त घरखर्च चलाउन पनि निकै समस्या छ । मैले चौपारीमा छाता, स्टोभ, प्रेसर कुकर बनाउने समयमा ५० पैसामा अहिलेको तीन वटा मुठा जत्रा साग पाइन्थ्यो । टपरीमा घरमा फलेका तरकारी ल्याउँथे । एक, दुई, पाँच रुपैयाँ हुँदै अहिले ५० रुपैयाँ मुठामा साग किन्नु पर्छ । मोहोर मुठा, पोकामा किनेका सामान अहिले ५० घटी पाइँदैन । पहिला पैसा महँगो थियो । अहिले पैसा सस्तो भयो । सामान महँगो भयो । 

गएको ४५ वर्षदेखि तानसेनको बजार क्षेत्रमा काम गरेको सम्झिँदा धेरै उकाली–ओराली हिँडियो जस्तो लाग्छ । अहिले त भान्सा नै महँगो भयो । पहिलो एक दुई हजारले ६ जनाको परिवार पाल्न पुग्थ्यो । अहिले घरमा तीन जना भए पनि १०–१५ हजारले पुग्दैन । धेरै महँगो भयो । सरकारले यस विषयमा सोच्नुपर्छ ।

प्रस्तुति : माधव अर्याल

शालिकराम गन्धर्व

Link copied successfully