बजारमा, पूजामा, मन्दिरमा छोइछिटोको व्यवहार गर्छन्, उनीहरूले गरेको फोहोर सफा गर्दा म अछुत नहुने तर अन्य कामका लागि म अछुत कसरी भएँ ?
धनुषा — बिहान सरसफाइ र दिउँसो बाँसका सामग्री बनाउने काम गर्छु । यसैबाट जीवन गुजारा भइरहेको छ । यो काम बाल्यकालदेखि नै गर्दै आएकी हुँ । ६/७ वर्षयता घरमा बाँसका सामग्री बनाउनुका साथै अफिसहरूमा गएर सरसफाइ गर्छु । म अहिले ३२ वर्षकी भएँ । मेरो घर धनुषाको सबैला नगरपालिका–७ मटही टोलमा छ ।
अहिले बाँसका सामग्री बनाउनुका अतिरिक्त धनुषाको सबैला बजारको सिटिजन्स बैंक, जानकी फाइनान्स र विद्युत् कार्यालयमा सरसफाइको काम गर्छु । जानकी फाइनान्सले तीन हजार, विद्युत् कार्यालयले चार हजार र सिटिजन्स बैंकले पाँच हजार रुपैयाँ मासिक रूपमा दिन्छन् ।
बिहानै उठेर अफिसहरू सरसफाइ गर्न जान्छु । घर आएर खाना बनाएर खान्छु । त्यसपछि केही समय आराम गर्छु । दिउँसो बाँसका सामग्री बनाउँछु । मैले भान्सा तयार गर्ने बेला मेरो श्रीमान्ले बाँसका चोया तयार पारेर राखिदिन्छन् । दिउँसो दुवै जना मिलेर काम गर्छौं । बजारको दिन आराम नगरी बनाउँछौं । अनि बजार (हटिया)मा लगेर बिक्री गर्छौं ।
एउटा बाँस अढाइ सयमा किनेर ल्याउँछौं । त्यसबाट हाते पंखा र ढकिया बनाएर बजारमा बिक्री गर्छौं । हाते पंखा एक सय र ढकिया तीन सयदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री हुन्छ । मुख्यतः यिनै दुई सामान बनाएर बेच्छौं । तर, सिजनअनुसार र अर्डर आए अरु पनि बनाउँछौं । पर्वहरूमा चाहिने सामग्रीहरू पनि बनाउँछौं । एउटा बाँसबाट तीन हजार रुपैयाँ बराबरको सामग्री बन्छ । महिनामा १०/१२ हजारको बाँसकै सामग्री बिक्री हुन्छ ।
हाम्रा चार बालबालिकासहित १० जनाको परिवार छ । वर्षमा १० हजारको औषधी खर्च हुन्छ । कसैलाई ठूलो कुनै दीर्घरोग छैन । कहिलेकाहीँ सामान्य रुघाखोकी र ज्वरो आउने हो । तर, चार महिनाअघि मेरो छोरा मोटरसाइकल दुर्घटनामा पर्यो । त्यतिबेला धेरै खर्च भयो । छोराको खुट्टाले काम नै गर्न छोडेको छ । उसको उपचारमा जनकपुरमा पाँच लाख, काठमाडौंमा एक लाख र दिल्लीमा ५० हजार खर्च भए पनि निको भएन । छोरा हिँडडुल गर्न सकेको छैन ।
कपडामा र खानपानमा हाम्रो धेरै खर्च हुन्छ । एक वर्षमा एक लाखको कपडा किन्नु पर्छ । चाडपर्व बाहेक महिनैपिच्छे ६/७ हजारको कपडा किन्नु पर्छ । सबै जना माछा–मासु खान मन पराउँछौं । त्यसमा पनि खर्च छ । ठूलो परिवार भएकाले थोरै ल्याएर पुग्दैन । बच्चाहरू मासु खान बढी नै जिद गर्छन् । बजार लाग्ने दिन माछा–मासु ल्याउनै पर्छ । वर्षमा एक लाख त खानपिनमा पनि खर्च हुन्छ होला । खानामा मलाई पनि सबैभन्दा बढी मासु–भात नै मिठो लाग्छ ।
म जीवनमा सबैभन्दा बढी खुसी विवाह भएको दिन भएकी थिएँ र दुःखी पनि त्यही दिन भएँ । जीवनमा कसैको सहारा मिल्यो, हेरक सुख–दुःखमा साथ दिने मान्छे पाएँ भनेर खुसी भएकी थिएँ । तर, दुःख किन लाग्यो भने जसले जीवन दियो, उसैको घर छोडेर निस्किनु पर्यो । अपरिचित व्यक्तिको घरमा जानु पर्यो । जीवन दाउमै लगाएर विवाह गरेँ । धन्न मैले सोचेको जस्तै श्रीमान् पाएँ ।
समाजका ठूला भनाउँदा व्यक्तिको व्यवहारबाट भने कहिलेकाहीँ असाध्यै दिक्क लाग्छ । धेरै जनालाई मेरो घरको सामान लिने बेला छुवाछुतको मतलब हुँदैन । उसको घर–अफिस सरसफाइ गर्दा छुवाछुत हुँदैन । तर, बजारमा, पूजामा, मन्दिरमा छोइछिटोको व्यवहार गर्छन् । उनीहरूले गरेको फोहर सफा गर्दा म अछुत नहुने तर अन्य कामका लागि म अछुत कसरी भएँ ? यस्तो छोइछिटोको व्यवहार गर्दा निकै नराम्रो लाग्छ । मन दुख्छ । उनीहरू आउँदा मेरो घरमा कुनै रोकटोक हुन्न । सबै कोठामा जान सक्छन् । तर, हामी उनीहरूको मुख्य गेटबाट एक कदम अगाडि बढ्नु हुन्न । यो व्यवहारले सधैं पोलिरहेको हुन्छ । तर, हामी केही गर्न सक्दैनौं । वर्षौंदेखि यस्तै छोइछिटो सहँदै आएका छौं । अब त बानी पनि परिसक्यो ।
प्रस्तुति : कमलेश ठाकुर
