‘हलो जोते खान पाइन्छ भन्ने सुनेपछि जीवनभरि छोडिनँ’

काम गर्न मात्रै कुनै गाह्रो छैन तर त्यसलाई पैसामा बदल्न कठिन रहेछ

जेष्ठ १४, २०८२

दीपक बुढा मगर

”After hearing that plowing can be eaten, I did not leave it for the rest of my life”

दाङ — मैले सानैदेखि सुन्दै आएको थिएँ, हलो जोते खान पाइन्छ । यही भनाइले मेरो मनमा जरा गाडेको थियो । त्यसकारण मैले बाल्यकालदेखि कृषिबाहेक अरु केही गरिनँ । हलो छोड्दै छोडिनँ । अहिले पनि त्यस्तै लाग्छ । हलोजुवा र खेती मेरो जीवनको आदर्श हो । म अहिले राप्ती गाउँपालिका–५ कालापानीमा बस्छु । ५२ वर्षको भइसको तर खेतबारीमा नियमित खट्छु ।

सुरुमा बंगलाचुली गाउँपालिकाको कोला भन्ने ठाउँमा बस्थेँ । त्यहाँबाट बसाइँसराइ गरेर २०४५ सालमा कालापानी झरेको हुँ । तराई झरेर पनि खेती नै गरेँ । मैले कहिल्यै पनि ज्याला–मजदुरीजस्ता कुनै पनि काम गरिनँ । हलोबाहेक अरुमा विश्वासै लागेन । 

आफ्नै खेतीपाती गरेर जीवन बिताइयो । त्यही कर्मको फल अहिलेसम्म खाइरहेको छु । मेरो घर–परिवार चलाउने मुख्य माध्यम नै खेतीपाती हो । त्यही कामको मूल्यांकन गर्दै यस वर्ष क्रियटिभ पोसिबिलिटिज नेपाल र राप्ती गाउँपालिकाले मलाई गाउँपालिकाकै उत्कृष्ट कृषकका रूपमा पुरस्कृत तथा सम्मानित गरे ।

यस्तो पुरस्कार पाइएला भनेर खेती गरेको पनि होइन । आफ्नै सुरमा काम गर्दा पनि मूल्यांकन हुने रहेछ भन्ने अहिले महसुस भएको छ । कर्म गरेपछि फल पाइन्छ भन्ने उखान पनि सही रहेछ । मैले स्कुलमा धेरै समय बिताउन पाइनँ । अक्षरसम्म चिन्ने पढेको छु । ४ कक्षामात्रै पढेको हुँ तर अनुभवले म जतिसुकै पढेलेखेका मान्छेसँग पनि बहस गर्न सक्छु । 

देशको राजनीति र कृषिबारे मलाई धेरै चासो छ । यसबारे कुरा गरिरहन्छु । म कृषि र नेपालको अर्थतन्त्रबारे केही टिप्पणी गर्न पनि सक्छु । देशको अर्थतन्त्र बलियो बनाउन कृषि नै गर्नुपर्छ । नेपालमा कृषिमै धेरै सम्भावना छ । मिहिनेती मान्छेले गर्ने काम नै कृषि हो । मिहिनेत गर्न नसक्ने मान्छे यो पेसामा प्रगति गर्न सक्दैन, टिक्न पनि सक्दैन । 

कृषि गर्न पनि जान्नु पर्छ । कृषि नजान्ने र अल्छीमान्छेले गर्ने पेसा होइन । यसमा ज्ञान र मिहिनेत चाहिन्छ । कुन बेला कस्तो खेती गर्ने भन्ने जानेर मात्र गर्नुपर्छ । बजारको माग हेरेर खेती गर्नुपर्छ । निरन्तर काममा पनि लागिरहनुपर्छ ।

काम गर्नभन्दा कामलाई पैसा पार्न कठिन हुने अनुभव मैले गरेको छु । काम गर्न मात्रै कुनै गाह्रो छैन तर त्यसलाई पैसामा बदल्न कठिन रहेछ । बाहिरी देशबाट आउने कृषि उत्पादनसँग प्रतिस्पर्धा गर्न हामीलाई गाह्रो भैरहेको छ । हाम्रो भन्दा भारतबाट सस्तोमा कृषि उत्पादन आइरहेको छ । त्यसकारण हामीलाई हाम्रो उत्पादनमा पैसा पार्न गाह्रो भैरहेको छ ।

मैले सुरुमा मूला खेती गरेको थिएँ । अहिले सिजन अनुसार टमाटर, भेडे खुर्सानी, करेला, भिन्डी, काँक्रा, लौका, सिमीलगायतका तरकारी खेती गर्छु । यसबाट वार्षिक ३ लाखबढी आम्दानी भइरहेको छ । कृषिमा दुःखमात्रै छैन, जान्ने हो भने राम्रो आम्दानी पनि छ । मैले कृषिबाटै कमाएर १ कट्ठा ६ धुर जग्गा थपेँ । १२ कट्ठा जग्गा भाडामा लिएर खेती गरिरहेको छु ।

मैले कमाएको पैसाबाट घरखर्च चलाएर केही बचत गर्छु । अनि त्यसबाट कृषिमै थप कामहरू गर्छु, लगानी बढाउँछु । अन्य बालीभन्दा तरकारीबाट बढी फाइदा हुने गर्छ । नगद कारोबार हुने र बजारमा माग पनि तरकारीकै बढी हुन्छ । कुन समयमा कुन तरकारीको माग छ भन्ने थाहा भने पाउनुपर्छ । माग अनुसार खेती गर्न जानियो भने राम्रो आम्दानी गर्न सकिन्छ ।

मैले तरकारीसँगै ३ भैंसी र ६ वटा बाख्रा पनि पालेको छु । दैनिक ३ लिटर दुध बेच्छु । भैंसी पाल्दा तरकारीमा मल पनि हुने, दुध खान र बेच्न पनि पाइने भएकाले मैले भैंसी र तरकारी खेती छोडेको छैन । भैंसी र माटोसँगै जीवन बिते पनि मलाई सन्तुष्टि छ । केही पछुतो छैन । सामान्य अवस्थामा थिएँ । अहिले पनि सामान्य अवस्थामै जीवन चलेको छ ।

मेरा तीन छोरीमध्ये जेठी मेनुका र माइली वसन्तीको १२ कक्षा पढेर विवाह भयो । कान्छी अनु डिग्री पढ्दै छिन् । एकमात्र छोरा भानु १२ कक्षा पढेर रोजगारीका लागि मलेसिया गए । श्रीमती लालमाया र म केही मजदुरको साथ लिएर खेती गर्छौं । तीन जना नियमित मजदुर छन् । जसले तरकारी खेतीमा काम गर्छन् ।

अब पुरस्कार पाएको २५ हजार रुपैयाँले प्लास्टिक टनेल बनाएर थप तरकारीको बीउ तयारी गर्ने मेरो योजना छ । मैले कृषिबाट कमाएको पैसा कृषिमै लगानी गर्छु । जीवन कृषिमै बितिगयो । अब तागतले सक्दासम्म यही काम गर्ने हो । लगानी पनि कृषिमै गर्ने हो । कृषिमा नमुना कामहरू गर्न मन छ । हलोसँगै जीवन बिताइदिन मन छ ।प्रस्तुति : दुर्गालाल केसी

घरखर्च

दीपक

Link copied successfully