‘सानै उमेरबाट मजदुरी गर्थें, अहिले चालक बनेको छु’

काम नै नपाएको भए कसरी चल्थेँ होला र ? त्यो कुरा सम्झेर ल्याउँदा पनि डर लाग्छ

जेष्ठ १२, २०८२

श्याम राना

”I used to work from a young age, now I have become a driver”

रूपन्देही — म सानै छँदा बुवा बित्नुभयो । दुई जना दाइ थिए रे ! एक जना बितेको र अर्का हराएको भन्थे । दुई दिदी र एक भाइ छन् । मसँग आमा, श्रीमती र दुई सन्तान छन् । पहिले पहिले हरुवा बस्ने चलन थियो । बुवा–आमा हरुवा बस्नुभएको थियो । हामी तिलोत्तमा–६ मा जन्मियौं । अहिले तिलोत्तमा–४ मा बस्छौं ।

अरूको घरमा काम गर्दा त्यहीँ बस्ने सुविधा थियो । त्यसपछि त भाडाको कोठामा बस्न थालियो । अहिलेसम्म घर बनाउन सकिएको छैन । दुईवटा कोठामा ८ हजार भाडा तिरेर बसेका छौं । म अहिले ३१ वर्षको भएँ । तिलोत्तमा नगरपालिकाको हरियाली प्रवर्द्धन, फोहोरमैला संकलनको ट्रयाक्टर चलाउँछु । नौ वर्षदेखि ट्रयाक्टर चलाइरहेको छु । 

सानै उमेरबाट मजदुरी गर्थें । अहिले चालक बनेको छु । पहिला गाउँतिर चलाउँथे, पालिकामा जागिर खाएको ६ वर्ष भयो । मासिक २६/२७ हजार रुपैयाँ तलब पाउँछु । ज्यालादारी काम हो, दिनको ८ सय ८५ रुपैयाँ पाउँछु । कहिलेकाहीँ थपथाप पनि पाइन्छ । कमाएको पैसा बैंक खातामा जम्मा हुन्छ, चाहिने जति निकाल्यो, अलिअलि जम्मा गर्न खोज्यो, पुग्दैन । चामलदेखि सबै खानेकुरा किन्ने हो । बजार जाँदा एकपटकमा हजार/बाह्र सय खर्च हुन्छ । न खेत छ, न बारी । सबैभन्दा बढी खर्च नै खानेकुरा किन्नुमा छ । बाबुनानी सामुदायिक स्कुलको अंग्रेजी माध्यममा पढ्छन् । 

सामुदायिक भन्नुमात्रै हो, मासिक फिस तिर्नुपर्छ । कापी, कलम, झोला, ड्रस सबैतिर खर्चै खर्च छ । यो जिम्मा श्रीमतीले लिएकी छन् । मैले दिनको ८० रुपैयाँ खाजामा खर्च गर्छु । अरु पैसा त्यति खर्च गर्दिनँ । बिहान ६ बजेदेखि सुरु भएको काम साँझ कहिले ४ त कहिले ५/६ बजेसम्म पनि चल्छ । फोन कुरेर वडामा हुन्छ कि हाइवे सडकमा हुन्छु, ट्रयाकर ट्रयाक्टरमा पानी ओसार्ने, फोहोर संकलन गरेर डम्पिङ साइटसम्म पुर्‍याउने गर्नुपर्छ । दुई वर्षअघि जम्मा भएको केही पैसाबाट साढे ४ लाखजतिमा १२ धुर जमिन किनेका छौं । पुर्जा भएको र ठाउँमा किन्न त टन्नै पैसा चाहिने रहेछ । त्यही जग्गामा अब एउटा चिटिक्कको घर बनाउन पाए हुन्थ्यो भन्ने लागेको छ ।

श्रीमतीले कुरा बुझेकी छन् । उनलाई चाहेजति सुख दिन नसकेको महसुस हुन्छ । स्थिति नै त्यस्तै छ । जे काम गरेको छु, त्यसले केही भए पनि राहत मिलेको छ भन्नुपर्छ । काम नै नपाएको भए कसरी चल्थेँ होला र ? त्यो कुरा सम्झेर ल्याउँदा पनि डर लाग्छ । बुवा, दाइहरू भएको भए मलाई सहज हुन्थ्यो होला । सबै मिलेर आफ्नो घर बनाइन्थ्यो होला भन्ने सोच्छु । बुवाको माया कस्तो हुन्छ, थाहा नै पाइनँ । सबैका बुवा बोल्दा आफ्नो बुवालाई सम्झन्छु । तर के गर्नु मैले जति सम्झे पनि बुवा अब फर्केर आउनु हुन्न । अब आमालाई दुःख नहोस्, आमालाई राम्रो गर्न सकुँ भनेर प्रयास गरिरहन्छु ।

सानो छँदा साथीभाइले लगाएका राम्रा लुगामा मन जान्थ्यो । आफ्नो किन्ने उपाय थिएन । अहिले उमेर पनि गयो, समय पनि । तिनै लुगा अहिले लगाउन मन पर्दैन, आफूलाई रहर नै पुग्यो । मैले कक्षा ९ सम्ममात्र पढेँ । अलिक पढ्न सकेको भए केही न केही गरिन्थ्यो होला भन्ने लाग्छ । जे छु, यसैमा खुसी हुन सिकेको छु ।

अब छोराछोरी हुर्किंदैछन् । तिनीहरूलाई घर बनाएर राखिदिन पाए हुन्थ्यो भन्ने छ । त्यतिमात्र होइन, विदेश जान पनि पैसै चाहिने अहिले त ! पैसा जम्मा गरेर विदेश जान पाए, त्यहीँ काम गरेर कमाएर घर बनाउन पाइन्थ्यो, जोगाउन पाइन्थ्यो भन्ने लागेको छ । म विदेश जान पाएसम्म जाने हो । काम गर्ने हो । मिहिनेत गरेर पैसा बचाउने हो । अनि आउने हो । अब समय गएपछि बूढो भइन्छ । त्यसपछि त केही न केही ! अहिले पनि ठूलो रोग नलागोस् कसैलाई भन्ने लागिरहन्छ । ऋण मागेर केही काम गर्न नपरोस् भन्ने छ । ऋणदेखि असाध्यै डर लाग्छ । 

प्रस्तुति : सन्जु पौडेल

श्याम राना

Link copied successfully