मैले नपढेर धेरै दुःख भोगेँ तर छोराहरूले मेरो बाटो हिँड्न नपरोस् भन्ने चाहना छ
पर्वत — विदेशमा पैसा फल्छ कि जसरी २५ वर्षको उमेरमै दुबई हान्निएको थिएँ । पहिलोपटक विदेशी भूमिमा टेक्दा खुसीको सीमै थिएन । दुःखका दिन सबै सकिएजस्तो लागेको थियो । दुबई जाने बेला मसित खर्च थिएन । भीसा हात पर्ने बेलासम्म सुको पैसो नहुँदा तनाव भएको थियो । जसोतसो ऋणधन गरेर पहिलोपटक ठूलो जहाजमा उडें । त्यहाँ दुई वर्षजति काम गरें । तर, सोचेजस्तो भएन ।
काम सजिलै थियो । धेरथोर पैसा पनि बचत भइरहेको थियो । त्यत्तिकैमा मैले काम गर्ने कम्पनी घाटामा गएपछि मुलुक फर्किनुपर्यो । नेपाल फर्किने बेलासम्म धन्न साहुको ऋण तिरिसकेको थिएँ ।
अहिले ३४ वर्षको भएँ । विदेशबाट फर्केको पनि ८ वर्ष भइसक्यो । ५ वर्षजति पर्वतको फलेबास नगरपालिका–३ शंकरपोखरीमै बसेर खेती किसानी गरेँ । पहिले पनि खेतबारीमा काम गरेकै हो । बुवा–आमा हुनुहुन्छ । उहाँहरूको अनुहारमा बुढ्यौलीका बाक्ला रेखा कोरिएका छन् । धेरै दुःख गर्न सक्नुहुन्न । घरको जिम्मेवारी मेरै काँधमा छ । दाइ पनि भारतमा नोकरी गर्न जानुभएको छ । उहाँको परिवार गाउँ छाडेर बुटवलमै बस्नुहुन्छ ।
मेरा श्रीमती र दुई छोरा छन् । एउटा सदरमुकाम कुश्माकै निजी विद्यालयमा पढ्छ । सानो छोरा र श्रीमती गाउँमै आमाबुवासँग बस्छन् । कहिलेकाहीं 'म पनि कुश्मा नै आएर बस्नुपर्छ कि !' भनेर श्रीमतीले भन्छिन् । घरमा बूढा बुवा–आमालाई छाडेर कुश्मा नआऊ भन्छु । उसो त अहिले यातायातको सुबिस्ता छ । घरबाट ३० मिनेटमै कुश्मा पुगिन्छ । उनी आउने जाने त गरिरहन्छिन् ।
तीन वर्षदेखि म प्रदेश अस्पतालमा कार्यालय सहयोगी भएर काम गरिरहेको छु । अस्पताल व्यवस्थापन समिति अध्यक्ष शंकर गिरीले अवसर दिनुभएको हो । अर्का अध्यक्ष हुँदा पहिले पनि एक वर्ष काम गरेको थिएँ । खै के नमिलेर हो पछि मलाई हटाइयो ।
शंकर सर अध्यक्ष भएपछि अस्पतालकै सरहरूले मेरो कामका बारेमा भनिदिनु भएछ । अनि उहाँले फेरि बोलाएर काममा राख्नुभयो । उहाँले काम मात्र दिनुभएको छैन, अस्पताल परिसरमै सुत्ने कोठा पनि मिलाइदिनु भएको छ । अस्पतालमा ठूलो छोरा र म बस्छौं । बिहान खाना पकाएर छोरालाई खुवाइवरी सकेर विद्यालयका लागि तयार बनाउँछु । घडीमा साढे नौ बज्दै गर्दा ऊ आफ्नो विद्यालयमा लम्किन्छ । म मेरो जिम्मेवारीमा । अस्पताल पुग्नासाथ अस्पताल परिसरको सफाइमा खटिन्छु । ठ्याक्कै यही काम गर्ने भन्ने छैन ।
म जहाँ पनि ओके हुन्छु । कहिले ओपीडीमा पुगेर जाँच गर्न आएका बिरामीको सहयोगमा लागिपरेको हुन्छु त कहिले फूल गोड्ने, फोहोर टिप्ने, बेड मिलाउने लगायतको काम पनि गर्दै आएको हुन्छु । भर्खरै सुन्नु भयो नि, ‘त्यहाँ कोठाभित्रको अक्सिजन माथि तलाको वार्डमा लैजाऊ’ भनेको । यस्तै खालका कामले दिन बितिरहेको छ मेरो । अहिले महिनाको २०/२२ हजारजति कमाउँछु । बचत त खासै गरेको छैन । छोराको फिस तिर्न परो । साँझ/बिहान खान नि परो ।
श्रीमतीसँगै गाउँमा रहेको सानो छोरो, उमेर ढल्कँदै गरेका बा/आमाको पनि हेरचाह गर्ने जिम्मेवारी बोकेर हिँडेको छु । मेरो जागिर छ र त धेरथोर खुसी दिन सकेको छु भन्ने लाग्दो रैछ । यसैमा सन्तुष्ट छु । छोराछोरीको उमेर बढ्दै जाँदा खर्च पनि बढ्ने रैछ । अहिले एउटा छोराले मात्र पढेको छ । अर्को पनि बिस्तारै ठूलो हुन्छ । त्यसलाई पनि निजी विद्यालयमा पढाउन पर्ने होला । खर्च धान्न सक्ने कुरो हुँदैन । बालबच्चाको भविष्य नै शिक्षा हो ।
मैले नपढेर धेरै दुःख भोगेँ । छोराले मेरो बाटो हिँड्न नपरोस् भन्ने चाहना छ । उनीहरूकै लागि भए पनि एकपटक फेरि विदेश जाऊँ कि भन्ने लागेको छ । श्रीमतीको चाहना पनि छोराछोरीको भविष्य सुन्दर बनाउन बुढा विदेश गई दे हुन्थ्यो भन्ने छ ।
प्रस्तुति : सुमनजंग थापा
