मान्छेहरू मेरो नामबिनै भन्छन्, ‘त्यो स्याउलेको शौचालयमा काम गर्ने मान्छे ।’ तर म त्यसमै गर्व गर्छु । किनकि त्यो शौचालय, त्यो सडक मेरो कर्मथलो हो
डडेल्धुरा — अमरगढी नगरपालिका–१० बुडाली भन्ने ठाउँमा मेरो सानो घर छ । म अहिले यहीं बस्छु । तर, त्यसबाहेक यहाँ हाम्रो केही छैन । सानो घरको छानोमुनि जसोतसो जीवन अडिएको छ । जीवन धान्न जानेको एउटै काम श्रम गरिरहेको छु ।
बुबा म सानै छँदा बित्नुभयो । मलाई थाहा छैन उहाँको अनुहार कस्तो थियो, म उहाँको काँधमा बसेको सम्झना पनि गर्न सक्दिनँ । आमासँगै बाँचेको सम्झना भने ताजै छ । घरको पूरा जिम्मेवारी आमाको काँधमा थियो र आमाले त्यो जिम्मेवारी ममाथि छाड्नुभयो, म त तयार पनि थिइनँ । अझै पनि सम्झन्छु– जब साथीहरू झोला बोकेर स्कुल गइरहेका हुन्थे, म भने बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म नगरपालिकामा कुचो बोकेर सडक सफा गरिरहेको हुन्थेँ ।
२०५५ सालमा अमरगढी नगरपालिकाले जिल्लाको सदरमुकाम बागबजार क्षेत्रमा सरसफाइ गर्न भनेर केही मान्छे नियुक्त गर्यो । म तीमध्ये एक थिएँ । त्यही दिनदेखि मेरो जीवनको नयाँ अध्याय सुरु भयो– कुचोको संगतमा । तर मेरो उमेर त्यसबेला १५/१६ वर्षमात्र थियो । केही वर्षयताबाट स्याउले बजार क्षेत्र काम गर्छु, यहाँ पनि सडक सफा गर्छु, यहीँको सार्वजनिक शौचालयको जिम्मेवारी मेरो काँधमा छ । नगरपालिकाले भनेको छ, ‘शौचालयबाट उठेको पैसा तिमी राख ।’ तर त्यो पैसा पनि दिन–दिनमा भरपर्दो हुँदैन । कहिले ५० रुपैयाँ पनि हुँदैन । कहिलेकाहीँ त्यस्तै २/३ सय उठ्छ ।
शुरुमा त २ हजार रुपैयाँ मासिक तलब थियो । त्यो पनि कहिले समयमा आउँथ्यो, कहिले ढिलो । आमाले त सधैं एउटै कुरा भन्नुहुन्थ्यो– ‘जुनसुकै काम गर्, तर इमानले गर् ।’ आमाको त्यो बोली मेरा लागि मन्त्रजस्तै बन्यो । मैले कहिल्यै कामलाई हेपेर हेरेको छैन । कुचो लगाएर बाटो सफा गर्नु मेरा लागि कर्म थियो, जसमा मैले आफ्नै मान–सम्मान देख्छु ।
जीवन अगाडि बढिरह्यो । आमालाई मैले सकेको सेवा गरें । उहाँ बिस्तारै बुढी हुँदै जानुभयो । अनि, एकदिन सधैंका लागि अस्ताउनु भयो । त्यसपछि जिन्दगी झन् धेरै गाह्रो लाग्न थाल्यो । बीचमा बिहे पनि गरें । श्रीमती सरल स्वभावकी, सहनशील तर स्वास्थ्यले कमजोर छिन् । उनका दुवै आँखाले देख्दैनन् । नियमित उपचार गर्नुपर्छ, औषधि र चेकअप खर्च धान्नै गाह्रो छ ।
परिवार विस्तार हुँदै गयो । अहिले तीन जना छोरा छन् । दुई छोरी थिए, दुवैको बिहे भइसक्यो । अब पाँच जनाको परिवार छ । छोरा सबै पढ्दैछन् । उनीहरूलाई पढाउने, लालनपालन गर्ने जिम्मेवारी मेरो काँधमा छ ।
अहिले म ४१ वर्षको भएँ । यो पेसामा लागेको २५ वर्ष भयो । तलब अहिले बढेर १८ हजार पुगेको छ । तर जीवन उस्तै छ । त्यतिबेला २० रुपैयाँमै पेट भरिन्थ्यो, अहिले २ सय रुपैयाँ लाग्छ । महँगीले मान्छेलाई मारमा पारेको छ । एक महिनाको तलब अर्को महिना पुग्दैन । रासन र उपचारममा पनि उत्तिकै खर्च छ ।
धेरैजसो बिहान सस्तो चिया र एक प्लेट नास्तामै दिन काट्छु । शौचालय प्रयोगकर्ताले पैसा दिए भने दिउँसो सादा खाना खान्छु । नभए घर फर्कंदा बेलुकासम्म भोकै हुन्छु । गाडीमा आउजाउ गर्न दैनिक सय रुपैयाँ लाग्छ ।
घरमा खाने कुरा पनि साधारण हुन्छ । मोटो चामल, सामान्य दाल र कहिलेकाहीं सिजन अनुसारका तरकारी । मासु त कहिलेकाहीं मात्रै खान्छौं, त्यो पनि चाडपर्वमा । तर कहिलेकाहीँ शौचालयबाट बढी पैसा उठ्यो भने घरमा मासु लिएर जान्छु । मासु देख्दा छोराहरूको अनुहार उज्यालो हुन्छ, अनि लाग्छ जीवनमा केही त खुसी बाँकी छ ।
नगरपालिकाले हामीजस्ता कामदारको योगदानको कदर नै गर्दैन । कतिपटक त नामै थाहा नहुने अवस्थामा दिन बिताउँछु । मान्छेहरू भन्छन्, ‘त्यो स्याउलेको शौचालयमा काम गर्ने मान्छे ।’ तर म त्यसमा पनि गर्व गर्छु । किनकि त्यो शौचालय, त्यो सडक मेरो कर्मथलो हो ।
अहिले पनि बिहानको ७ बज्दा घरबाट हिंड्छु । शौचालय सफा गर्छु, सडक सफा गर्छु । दिनभरि शौचालयमा कोही आउलान् र पैसा उठाउँला भनेर दिन यतै बिताउँछु । फेरि साँझ घर फर्किन्छु, थकाइको भारी बोकेर ।
कहिलेकाहीँ लाग्छ– ‘जिन्दगीले मलाई केही दिएन ।’ तर फेरि सोच्छु– ‘मैले जति पाएँ, त्यो पनि धेरै हो ।’ मैले आफूलाई बेचेर होइन, श्रम गरेर बाँचेको छु । यसैमा सन्तुष्ट हुन सिक्नुपर्छ भन्ने भाव पनि बेलाबेला मनमा आउँछ । कामबाट फुर्सद मिलेका बेला यस्तै यस्तै कुरा सम्झेर मन बुझाउँछु ।
प्रस्तुतिः तर्कराज भट्ट
