‘रोल्पाका ग्रामीण भेगमा केक पुर्‍याउन भ्याइनभ्याइ छ’

केही गर्नुछ भने आफ्नै देशमै गरौं । गर्न सकिन्छ । विदेश नै जान भनेर मरिहत्ते नगरौं ।

जेष्ठ २२, २०८२

हरि डाँगी

There is a van to deliver cakes to the rural areas of Rolpa.

राेल्पा — होमा गाउँबाट बिहान ४ बजे उठेर लिबाङमा रहेको पसलमा आउँछु । बिहानैदेखि मानिसहरू चिया र कफी खान आउँछन् । अघिल्लो दिन आएका अर्डर बाँकी छन् भने पुर्‍याउन जान्छु । माडीचौर, कोटगाउँ, दारबोट, बामरुक, सातदोबाटोसम्म केक डेलिभरी गर्छु । मेरो आफ्नै बाइक भएकाले सामान पुर्‍याउन सजिलै छ ।

सरदरको कुरा गर्दा दैनिक १०/१५ वटा केकको अर्डर आउँछ । बढीमा एकै दिन ३० वटासम्मको अर्डर आएको छ । एउटा केकको मूल्य कम्तीमा ३ सय तोकेको छु । पहिले ५ सयदेखि सुरु थियो, अहिले मूल्य घटाएर ३ सय बनाएको हुँ । यहाँ चिया, डोनट र कफी, दही, लस्सी पनि दैनिक रूपमा बिक्री भइहन्छ । बजारको बीच भागमा पसल भएकाले मानिसहरूको आउजाउ निकै छ । कार्यालयका कर्मचारी, विद्यार्थी, गाउँलेहरू नै मेरा खास ग्राहक हुन् । 

केक बनाउने र अन्य सामान नेपालगन्जबाट ल्याउँछु । गाडीबाट मगाउने गरेको छु । कहिलेकाहीँ भनेको बेलामा गाडी नपाएको अवस्थामा सामान ल्याउन सकिँदैन । चाहेका बेलामा सामान ल्याउन नसक्दा निकै सास्ती हुन्छ । दिनमा कम्तीमा पनि ४/५ हजार मूल्यको सामान बिक्री हुन्छ । महिनामा एक/डेढ लाखको कारोबार छ । ढुवानी गर्दा सामान महँगोमा आइपुग्छ । यहाँ पाइने चिनी र मैदा मात्रै हो । त्यसबाहेका सबै सामान बाहिरबाटै ल्याउनुपर्छ । 

मैले सानैमा सीप सिकेको हुँ । यहाँ लिबाङमा एउटा पसल छ, अर्गानिक रेष्टुरेन्ट, मैले त्यहाँबाट सबै सीप सिकेँ । पसल चलाउने दाइहरूले मलाई ज्यादै सहयोग गर्नुभएको छ । केक आइटम, नास्ताको आइटम पकाउन सिकेँ । करिब साढे ४ वर्षजति मैले त्यहाँ काम गरेँ ।

घरबाट ११/१२ कक्षा पढ्न आएको बेलादेखि नै मैले केक बनाउन सिकेको हुँ । अहिले २१ वर्षको भएँ । एसएलसीको परीक्षा दिन म पहिलोपटक लिबाङ आएको थिएँ । काम गर्ने क्रममा नै मैले कक्षा ११/१२ पढेँ । अब व्याचरलमा ज्वाइन हुन चाहेको छु ।

मैले आफ्नै पसल खोलेको २ वर्ष पुग्यो । २०८० सालको असारबाट पसल सुरु गरेको हुँ । पसल थाल्न ६ महिना लाग्ला भनेर प्रयास थालेको थिएँ, तर सबै तयारी गरेर सुरु गर्न एक वर्ष लाग्यो । सामान लिन नेपालगन्ज र काठमाडौंसम्म पुगेँ । मेरोमा ठूलो मेसिन छ । केक बनाउन केक मिक्चर, ओभन, केक ड्रपिङ मेसिन, केक फिलर मेसिन, केक आइसिङ मेसिन, फ्रिज लगायत  छन् । एउटा मेसिन ठूलो भएकाले कोठा बाहिर राखेको छु । पसल सुरु गर्न १२ लाख जति लगानी लागेको छ । ऋण खोजेर नै पसल थालेको हुँ । 

पढ्ने खर्च घरबाट माग्थेँ । सधैं आमाबालाई दुःख पनि त दिनु भएन भन्ने सोचेर काम सिकेँ । त्यसैले अब आफैं कमाएर पढ्ने र व्यवसाय पनि गर्ने योजना बनाएको हुँ । मलाई पैसा कमाउने भन्दा सीप सिक्ने चासो बढेको हो । एकातिर सीप सिक्ने, अर्कोतिर पढ्ने काम साथै गरेँ । यसै क्रममा मैले बाइक किनेर सिकेँ । अझ महत्त्वपूर्ण कुरा त मैले ग्राहक र मानिसहरूसँग कसरी बोल्ने भन्ने सीप पनि सिकेँ । गाउँमा त सबैसँग राम्रोसँग बोल्न सक्ने सीप हुँदैन । खासगरी मैले कर्मचारी, पढेलेखेका र राम्रा मानिससँग संगत गर्ने र बोल्ने सीप सिकेँ, त्यसले मलाई ज्यादै राम्रो सहयोग मिलेको छ । पसलको नाम कर्मा क्याफे राखेको छु । मेरा अग्रजहरूले यो नाम जुराइदिनुभएको हो । कतिपयले हरिभाइको क्याफे भनेर पनि चिन्नुहुन्छ । 

नगरपालिकाकै दारबोटमा एउटा शाखा निर्माण गरिएको छ । यहाँ पाइने सामान त्यहाँबाट वितरण गर्ने गरिएको छ । अरू ठाउँमा पनि शाखा बिस्तार गर्ने योजना छ । केक पाइने ठाउँ रोल्पामा ५/७ वटा ठाउँ होला । तीन वटा पसल लिबाङमा मात्रै छन् । हाल रोल्पाभर मबाट करिब ७५ प्रतिशत स्थानमा हाम्रोमा बनाइएका केक पुर्‍याइन्छ । गाउँतिर पनि हाल केक खाने र प्रयोग गर्नेहरूको संख्या बढेको छ । जन्मदिनमा मात्रै नभएर अन्य कार्यक्रममा परिवार साथै बसेर खान पनि केकको अर्डर गर्छन् ।

रोल्पाका ग्रामीण भेगमा अहिले केक पुर्‍याउन मलाई भ्याइनभ्याइ छ । मस्तले खान्छन् रोल्पालीले पनि केक । सबै खर्च कटाएर हाल दिनमा १ हजारदेखि १५ सयसम्म बचत छ । सबैलाई मेरो एउटै आग्रह छ– केही गर्नु छ भने आफ्नै देशमै गरौं । गर्न सकिन्छ । विदेश नै जान भनेर मरिहत्ते नगरौं । मिहिनेत गर्नु नै छ भने आफ्नै घर–टोल र सहर–बजारमा गरौं । त्यसबाट राम्रो प्रतिफल पनि पाइन्छ । 

प्रस्तुति: काशीराम डाँगी

हरि

Link copied successfully