‘भविष्यका लागि भनेर एक रुपैयाँ पनि बचत छैन’

भीरपाखो गरी झन्डै ३५ रोपनी जमिन छ, त्यसमै अम्रिसो र अदुवा लगाएको छु

जेष्ठ ८, २०८२

दानबहादुर सोती

”Not a single rupee is saved for the future”

नवलपुर — बौदिकाली गाउँपालिका–६, नरममा बसोबास छ । अहिले ५१ वर्षको भएँ । बारीको डिलमा लगाएको अम्रिसोबाट घरखर्च चलिरहेको छ । दिनभर अम्रिसो र अदुवाको गोडमेल गर्दै पखेरामा व्यस्त हुन्छु । अम्रिसो तयार भएपछि काटेर सुकाउने र त्यसपछि कुचो बनाउँछु । श्रीमतीले पनि मेरो काममा सघाउँछिन् । यो बाहेक कमाउने कुनै उपाय छैन । अम्रिसोसँगै अदुवा खेतीबाट पनि भरथेग भइरहेको छ । 

काटेर सुकाएपछि अम्रिसोबाट तयार गरिएका कुचो बिक्री गर्न सदरमुकाम कावासोती र आसपासका बजारसम्म पुग्नुपर्छ । गाउँमै बिक्री भइदिए गाडी भाडा त लाग्थेन । फेरि दुःखले बोकेर बजारसम्म ल्यायो अनि ठूला व्यापारीलाई सस्तोमा बिक्री गर्नुपर्छ । अचेल घाटा खाएर व्यापारीलाई दिनुभन्दा आफैं घरघरमा पुगेर बेच्न थालको छु । घरबाट कावासोती बजारसम्म पुग्न ५० किलोमिटरको यात्रा गर्नुपर्छ । 

४०/४५ वर्षको उमेरसम्म भारी बोकेर पैदलै बजारसम्म पुगिन्थ्यो । अहिले बुढेसकाल लाग्दै गयो । भारी बोकेर हिँड्न सकिँदैन । बसमा राखेर बजारसम्म पुर्‍याउँछु । भीरपाखो गरी झन्डै ३५ रोपनी जमिन छ । तर, कत्ति पनि अन्न उब्जाउ हुँदैन । पहिला खोरिया फाँडिन्थ्यो । अन्न उत्पादन नहुने भएपछि अम्रिसो र अदुवा लगाएको हुँ । अहिले धेरै जमिन बाँझो छ । जमिन भए पनि खर्च चलाउन निकै धौ–धौ छ । तीन छोरा र एक छोरीलाई अम्रिसो बेचेरै हुर्काएको हुँ । अहिले छोरीको विवाह भइसक्यो । दुईवटा छोरा कावासोतीमा ज्यालादारी गर्न झरेका छन् । 

गरिबीका कारण छोराछोरीलाई पनि राम्रोसँग पढाउन सकिएन । छोराहरू हुर्किएको भए पनि घरायसी खर्च आफैंले जोहो गर्नुपर्छ । मिठो नमिठो जे खाए पनि गुजारा चलाएका छौं । तर, बुढेसकालले छोप्दै जाँदा, दुःख–बिरामी पर्दा कसरी उपचार गर्ने होला भन्ने पिरले सताउँछ । भविष्यका लागि भनेर एक रुपैयाँ पनि बचत गर्न सकिएको छैन । त्यसैले भगवानसँग ठूलो रोग नलागोस् भन्ने प्रार्थना गर्ने गरेका छौं । एउटा कुचो एक सय रुपैयाँमा बिक्री गर्छु । अघिल्लो वर्ष ७ सय कुचो बिक्री गरेको थिएँ । त्यो बाहेक बिग्रिएको कुचोको मर्मत पनि गर्ने गरेको छु । 

यो वर्ष ५ सयवटा मात्र कुचो बनाउन सकेँ । पहिला जस्तो काम गर्न सक्दिनँ । आम्दानी बर्सेनि घट्दो छ । कुचो बिक्री गर्न गाउँगाउँ जानुपर्ने र कावासोतीमा करिब एक सातासम्म बस्नुपर्ने हुन्छ । कावासोती झर्दा आफन्ती र छोराहरूको कोठामा बस्ने गरेको छु । होटलमा बस्ने र खानका लागि रकम अभाव हुने गर्छ । 

आम्दानी भएको पैसाले सदरमुकामबाट चामल, दाल, नुन, तेल र अत्यावश्यक सामान खरिद गरेर घर लैजाने गर्छु । अम्रिसो र अदुवा बिक्री गरेर एक वर्षमा १ लाखको हाराहारीमा आम्दानी हुन्छ । यसै पैसाले दुःख, कष्ट र अभावका बीचमा घरखर्च धान्ने गरेको छु । अब छोराहरूले राम्ररी काम गरेर पैसा कमाउन सके भने आफूले गरेको काम र आम्दानीको रकम बुढेसकालमा औषधि उपचारका लागि बचत गर्ने धोको छ ।

मैले दुःख र कष्ट सहेर जीवन निर्वाह गरे पनि छोराछोरीलाई सामान्य कुराको अभाव नहोस् भन्ने चाहना छ । तन्नेरी हुँदा जागिर गर्ने, पैसा कमाएर बाआमालाई बजार झार्ने मेरो पनि ठूलो धोको थियो । तर, यही पाखा पखेरामा नै मेरो जीन्दगी जान लाग्यो । तर, अहिले मेरो कुनै ठूलो इच्छा र चाहना छैन । सहर जाने, पक्की घर बनाउने चाहना नभए पनि छोराहरू गाउँमा भन्दा बजारमा बसून् भन्ने छ ।

हामीलाई भने पहाडमै रुचि छ । काम र आर्थिक हिसाबले दुःख भए पनि समाज निकै मिलनसार छ । एकअर्काको दुःखसुखमा सबैले साथ दिन्छन् । दुई–चार दिन कुचो बिक्री गर्न बजार जाँदा पनि मन आत्तिन्छ मेरो । बिक्री छिटो गरेर घर फर्किहालौं जस्तो हुन्छ । जीन्दगीभरि बसेको गाउँ निकै प्यारो लाग्छ । तर, बिरामी हुँदा अस्पताल जान र वर्षामा सडकका कारण महिना दिनसम्म पनि गाडी नचल्दा किनमेलका लागि बजार जान नपाउँदा भने अलिक नरमाइलो लाग्छ ।

प्रस्तुति : नवीन पौडेल

दानबहादुर

Link copied successfully