'खान नपाएका दिन र भोकै सुत्नुपरेका रात त कति छन् कति !'

झोलामा जडीबुटी लिएर गाउँ–बस्ती डुल्दै बेच्छु

जेष्ठ ६, २०८२

गोपाल लावड

'How many days of not eating and nights of sleeping hungry!'

डडेल्धुरा — बैतडीको देहीमाण्डौंमा जन्मिएँ । उमेर बढ्दै गयो । बिहे भयो । जागिर खानका लागि लेखपढ गरिएन । गरिखानका लागि आफ्नै जमिन थिएन । ३६ वर्षको जिन्दगानीमा अनेक उतारचढाव भोग्नुपर्‍यो । बैतडीको गाउँमा दुई छाक खान नपुग्ने भएपछि तीन वर्ष भारतमा मजदुरी गरेर बिताएँ । नयाँ दिल्लीमा मजदुरी गर्दै सहरको धूलो खाएँ । भारतको राजधानीमा पनि काम दिगो नभएपछि आफ्नै गाउँ फर्किआएँ ।

ज्यालादारीबाहेक काम गर्न हातमा सीप छैन । त्यही भएर सुरुमा हिमाली जडीबुटीको व्यापार गरेँ । दार्चुलामा संकलन हुने जडीबुटी झोलामा बोकेर गाउँ–गाउँ डुले पनि व्यापार भएन । एक वर्ष बैतडीको पाटन बजारमा जटीबुटी बेचेँ । बजार सानो भएकाले आम्दानी नहुने । १० वर्षदेखि डडेल्धुरामा बसोबास छ । धेरैका लागि सदरमुकाम रहर हो तर मेरा लागि बाध्यता । यही ठाउँलाई रोजीरोटीको थलो मानेर दिन बिताइरहेको छु । झोलाभरि जडीबुटी बोकेर सदरमुकामको बजार डुल्छु । दिनभरि डुलेर अलिकति पैसा हात परेपछि घरखर्च चलाउने हो । 

आफैंले पसल खोलेको छैन । झोलामै जडीबुटी लिएर गाउँ–बस्ती डुल्छु । धेरैजसो बसपार्क नजिक बसेर सामान बेच्छु । गनानो, सतुवा, कालोनुन, मुलेठी, भूतकेश, सिलाजित... मैले बिक्री गर्ने मुख्य बुटी हुन् । दार्चुलाको खण्डेश्वरी पुगेर जडीबुटी ल्याउँछु । त्यहाँका सौका, भोटेहरू हिमालको कठ्यांग्रिने हिउँमा पाइला टेकेर ती अनमोल जडीबुटी संकलन गर्छन् । उनीहरूसँग एकपटकमा १०–१५ हजारसम्मका जडीबुटी किनेर झोलामा हाल्छु । डडेल्धुरा फर्किएर जडीबुटी बेचिसकेपछि फेरि खरिद गर्न जान्छु । १०/१५ हजारका सामान ल्याएर यहाँ बिक्री गर्न मलाई एक महिना लाग्छ ।

पहिला कमाइ राम्रो थियो । जडीबुटीको माग थियो र त बिक्री पनि सजिलै हुन्थ्यो । एक दिनमा हजार–बाह्र सय बचत हुन्थ्यो । अचेल बुढापाकाले जडीबुटी बढी रुचाउँछन् । गाउँभरि डुलाउँछु र साँझ कोठामै फर्किन्छु । कहिलेकाहीँ घर फर्किंदा खल्तीमा पैसा होइन, सुगन्धित जडीबुटी र पसिनाको गन्धमात्रै बाँकी रहन्छ । अहिले व्यापारी धेरै भइसके, ग्राहकको आँखा रेटको खोजीमा अल्मलिन्छ । कमाइ घट्दै गएको छ । 

जडीबुटी बेचेरै मेरो ९ जनाको परिवारको गुजारा चलेको छ । चार छोरा र तीन छोरीका साथ हामी बुढाबुढी छम् । बिहान आफ्नासन्तानहरूको मुख हेर्छु र कामना गर्छु– मैले जस्तो दुःख यिनीहरूले नपाऊन् ।

मासिक ३ हजार कोठा भाडा तिर्छु । बच्चाहरू स्कुल जान थालिसके । तर सदरमुकामको सरकारी स्कुल पनि महँगो पर्‍यो । कापी, पोसाक, विभिन्न शुल्क गर्दा थुप्रै खर्च लाग्ने भएकाले उनीहरूलाई नजिकको स्कुल छोडेर सेलागाउँको स्कुलमा पढाएको छु । त्यहाँ स्कुलले नै कापी–कलमदेखि झोला, पोसाकसम्म निःशुल्क दिन्छ । शुल्क पनि लिँदैन । दिनहरू सहज छैनन् । कुनै दिन व्यापार भएन भने घर फर्किएर घोप्टिएर बस्छु । श्रीमतीलाई हेरेर मौन हुन्छु । बच्चाहरूलाई हेरेपछि मनमा अनेक कल्पना चल्न थाल्छन् । 

लेख्न–पढ्न नआएपछि पैसाको नोट छुट्याउँछु । हजार, पाँच सय, सय, पचास छुट्याउन जान्दछु । त्यो मेरो गणित भने पनि अर्थशास्त्र भने पनि यही हो । अचेल दुई–तीन सय त कमाउँछु । त्यत्तिले दाल–चामल किन्न पुग्छ । धेरै कमाएका दिन मासु किनेर कोठामा फर्किन्छु । त्यसदिन बच्चाहरूका अनुहारमा खुसी देख्न पाइन्छ । त्यसपछि थकाइ बिर्सन्छु । खान नपाएका दिन र भोकै सुत्नुपरेका रात त कति छन् कति ! धेरै पटक नुनसित रोटी खाएको सम्झन्छु । 

अझै केही वर्ष दुःख सहनु नै छ । तर मान्छेका आ–आफ्ना दिन हुन्छन् रे ! सायद मेरा लागि पनि कुनै दिन पो छ कि ! सुख मिल्ने आशमा अहिले पनि झोला बोकेर दौडिरहेको छु, ‘गनानो, सतुवा, सिलाजित...’ भन्दै । 

कहिलेकाहीँ सिलौटामा नुन पिसेर त्यसैको स्वादमा खाना चपाएको सम्झिन्छु । त्यो स्वादले मलाई जिन्दगीको वास्तविकता सम्झाउँछ । आज मसँग केही छैन । तर छोराछोरीले धेरै पढ्न सकून् भन्ने सपना छ । उनीहरूले मेरो जस्तो बोझिलो झोला होइन, उज्यालो भविष्य बोकून् । बस् यत्ति कामना छ ।

प्रस्तुति : तर्कराज भट्ट

घरखर्च

गोपाल

Link copied successfully